कान्छो

कथा

मोजेस ‘हृदय’ त्रिखत्री


मध्यम वर्गीय एक जवान। सानैदेखि पढ्न रुचाउने। बाबु लुगा सिलाउने काम गर्छन्। आमा हाउस वाईफ । दुई दाज्यु छन्, र उ चाहीँ घरमा सबैभन्दा कान्छो।

‘दर्जी’ काम गरेर पनि बाबुले जसो तसो पढाए, दुई छोराहरुलाई एचएससम्म। अब अहिले पढाइरहेछन्, कान्छोलाई। विचरा ‘बाबु’ पनि थाक्दा हुन्, ५जनाको परिवारको बोझ उठाउँदा। तरैपनि जसोतसो पढाइरहेछन्। कान्छो दिनदिनै बढ्दैछ, कक्षा पनि चढ्दैछ र त्यति नै बढिरहेछ उसको पढाईको खर्च।

पहिले त दुई छोरालाई जसोतसो पढाए उनले, तर अहिले त महङ्गो छ जमाना। बोल्न पनि पैसा लाग्ने। तरैपनि उसको बाबुले हार मानेका छैनन्। पढाइरहेछन् आफ्नो छोरोलाई जसरीतसरी। उसको बाबुको पेशा नै यस्तो छ कि परिश्रम नगरी हुँदै नहुने। अरुले फटाएको लुगाफाटा टाल्दै, उसले सिउँछ आफ्नो परिवारको सपना दुई-चार पैसाको पातलो सियोको आडमा। तर त्यो सियोले थाम्नु सकेन ५जना परिवारको गह्रौं सपना।

यसैले उनी सधैं मोटो र गत्तिलो सियोको खोजीमा हुन्छन्। तर अफसोस् कहाँ पाउने र उनले त्यस्तो सियो जसले सिउन सकुन् सपनाहरु, उसको परिवारको? आखिर उनी दर्जी नै त हुन्। सिजनमा कमाउँछन्, अनसिजनमा छ्यापछुप। अहिले यस्तै अवस्था छ उनको परिवारमा।

काम छैन, पैसा छैन। तर पनि खुवाउनु नै पर्छ उनले परिवारलाई। पढाउनु नै पर्छ उनले छोरोलाई। तर के गर्नु? विचरा उनीसित पैसा नै छैन, कामदाम पनि छैन। यता छोरो भने माध्यमिक परीक्षा दिएर एघारौं श्रेणीको एडमिसन टेस्टमा पनि उतीर्ण भयो। उसको सपना अझै बढ्दै बढ्दै जाँदैछ;

“…………११ र १२ कला विभाग लिएर पढ्छु, कलेजमा नेपाली समान लिएर पढ्छु त्यसपछि बि.एड गर्छु, आफै पढेको स्कुलमा पढाउँछु अनि नेपाली भाषा मै पि.एच.डि गरेर कलेजमा प्रफेसर हुन्छु………!”

उसका यस्ता सपनाहरु सिलाउनुलाई उसको बाबुको सियो उति बलियो छैन जतिको बलियो छ उसको इच्छा,आकांङ्क्षा,सपना,भविष्यको कल्पना। अनि अहिले भने उसको बाबुसँग एक रुपियाँ छैन। एघारौं श्रेणीको  भर्ना राशि १५०० रुपियाँ तोकिएको छ। त्यति मात्रै होइन, अरु उप्रान्त लुगा किन्ने, खाता किताब किन्ने खर्च अलग्गै। यता परिवारमा पैसा रुपियाँको अभाव, कान्छोले पनि बुझ्नु थालेको छ।

यसैले उ आफ्ना सपनाहरु थन्काउने विचारमा छ। गहभरि आँसु बोकी, मनभरि पीडा बोकी विस्तारै सपना थन्काएर सोच्दैछ उसले “………अब दवाई दोकानमा काम गर्नु थाल्नु पऱ्यो!”

उसले यो कुरा घर-परिवारमा साझा गऱ्यो। एउटा जवान छोराले यस्तो कुरा गरिरहेको सुन्दा उसको आमा र बाबु दुवैको मन विचलित भयो। आफू त सानो छँदा पढ्नु पाइएन, दुई छोराहरु एच.एस पास गरेर ज्यादा पढेनन्। जेठा काम गर्नु गएको छ, परदेश। माइला घरमै बसेको छ। घरमा कोही पनि सरकारी काम नभएका। आमा र बाबुको सपना पनि एउटै छ, तीन छोरा मध्ये दुइले त पढाईबाट हात धोईहाले, अब कान्छोमाथि नै छ सबैको आशा।विश्वास।भरोसा। कतै कान्छोले त राम्रो पढ्छ कि? सरकारी काम हात पार्छ कि? तर उही कान्छोले पनि ‘पढ्दिन आबो! दवाई दोकानमा काम गर्छु’ भन्दा त पुरै परिवारको सपना चकनाचुर भयो।

आमाको मन साह्रै व्याकुल भयो। सायद भित्र-भित्र रोयो पनि। तर केही नबोली जुरुक्क उठेर बाहिर गइन्। बाबु चाहिँ अकमक्क परे। ‘ल’ भनौं या ‘अझै पढ्’ भनौं, दोधारमा परे उनी।

पैसाको अभावमा, केही बोल्नु सकेनन् उनी। बस् चुपचाप बाहिर गए। यता कान्छोको हाल यस्तो छ- पढ्नु त मन छ तर आर्थिक अवस्था साह्रै कमजोर छ। करैमा उसले सम्झौता गर्नु परिरहेको छ। धिक्कार्दै छ उसले निम्नवर्गीय जीवनलाई। तर अफसोस्, उसले धिकार्दैमा, उसको तकदिर बद्लिने होइन, उसले बुझ्यो। अनि दुई नयनबाट झरिरहेको अभावको आँसु सुक्खा गरि पुछ्दै, आफ्नै मनलाई फिक्का आश्वासन दिँदै, उ उसको दैनिक घरेलु कामतिर लाग्यो।

यता आमा र बाबुको मनमा अभावको हुरी बढो बेगसाथ चल्न थालेको छ। के गरौं र कसो गरौंमा रात पर्न थालेको छ। भोलि छोरोको भर्ना राशि तिर्नु पर्छ, नभए सिट पाउँदैन कान्छोले स्कुलमा। यही पिरमा विचरी आमा र विचरा बाबा राभरि फतफताउँछन्।

छट्पटीमा नै रात पनि बित्यो, र बिहानी भयो। पैसा छैन, छोरोलाई भर्ना गर्नु पर्ने एघारौं श्रेणीमा। बिचरा कान्छो पनि रातभर सुतेन। मन विचलित छ उसको, भाग्य अभागी छ,निम्नवर्गीय परिवारमा जन्मिनु उसलाई अभिशाप लाग्दैछ। भए भरको आँट लिई उसले आफ्नो सपनालाई, उज्ज्वल भविष्यको कल्पनालाई,योजनालाई थन्काइसकेको छ। उसलाई मनमा लाग्दैछ, “जत्रो च्यादर छ, खुट्टा नि उति नै पसार्नु पर्छ।”

सायद उसको सपना निकै ठूलो भएछ।

र अब उसले बुझिसक्यो- “जस्तो मादल बज्छ, उस्तै नाच्नु पर्छ”। तर अचानक बाहिरबाट कसैले बोलायो “बढी…बढी…बढी”! आमाले ‘भित्रै आऊ न’ भनिन्। गाउँका एक दादा रहेछन्। एउटा कागजमा लुटुपुटाएर केही दियो “आमाले पठाएको” भन्दै। त्यो दादा गएपछि कान्छोले सोध्यो- “के हो?”

आमाले भनिन्- “तेरो सपनाहरु सिउनुलाई उधारो सियो मागेको थिएँ, पठाइदिएछ।”

विचरी आमाले रातारात पैसाको बन्दोबस्त गरिछिन्। कान्छोको आँखा पूरै रसियो।

आमाले भनिन्- “कान्छा, दवाई दोकानमा काम गर्नु पर्दैन”।

चकमन्न परिवेश भयो। अहिले कान्छा र उसको बाबु स्कुल जान्छ, फाटेको सपना फेरि सिउनलाई थप सपनाहरुले टालेर।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया