दार्जीलिङलाई पछौटे क्षेत्रमा हाल्न विष्टको ज्ञापन : आएको छैन अहिलेसम्म विष्टले उठाएका कुनै मुद्दा कार्यान्वयनमा

कालेबुङ, 14 नोभेम्बर


दार्जीलिङका सांसद राजु विष्टले वित्तमन्त्री निर्मला सितारमणलाई भेटेर दार्जीलिङ क्षेत्रलाई पछौटे क्षेत्र समूहमा सवामेश गर्न ज्ञापन दिएको फेसबुक स्टाटस लेख्दै फोटो सार्वजनिक गरेका छन्। आफ्नो फेसबुक स्टाटसमा लेखेअनुसार उनले पहाड, तराई र डुवर्सलाई पछौटे क्षेत्र घोषित गरिनुपर्ने मागसहित  ज्ञापन सुम्पेका छन्।

केन्द्रिय वित्तमन्त्री निर्मला सितारमणले धेरैपल्ट पहाडको भ्रमण गरेको र उनलाई यहाँको स्थितिबारे पनि जानकारी रहेको उल्लेख गर्दै विष्टले भनेका छन्, ‘यदि पहाड, तराई र डुवर्सलाई पछौटे क्षेत्र घोषित गरियो भने पछौटे क्षेत्रले केन्द्रबाट पाउने सहुलियत उपभोग गर्न पाउने छ। पहाड, तराई र डुवर्सको विकास हुने छ। केन्द्रले अतिरिक्त संसाधन प्रदान गर्नेछ। विकासको नयाँ मार्ग खोलिनेछ।’

विष्टले आफ्नो ज्ञापनबारे वित्तमन्त्री निक्कै सकरात्मक रहेकोसमेत उल्लेख गरेका छन्।  विष्टले केन्द्रिय मन्त्रीहरूसमक्ष पटकपटक पहाडका मुद्दाहरू उठाउँदै ज्ञापनहरू चढाउँदै आइरहेका छन्। तर उनले चढाएको ज्ञापनलाई केन्द्रले कार्यान्वयनमा ल्याएको भने देखिएको छैन। पहाडमा विष्टले अन्य सांसदहरूको तुलनामा  सबैभन्दा धेर पहाडको मुद्दाबारे मन्त्रीहरूसित भेटेर ज्ञापन चढाउने ख्याती कमाएका छन्।

यसभन्दा अघि जसवन्त सिंह अनि एसएस अहलुवालियाले पहाडका विविध मुद्दाबारे ज्ञापन चढाएको सुनिएको थिएन। यद्यपि, दुवै सांसदले संसदमा गोर्खाल्याण्डबारे मुद्दा भने उठाएकै हुन्। तर उनीहरूले उठाएको मुद्दाबारे केन्द्रले सुनवाई नै गरेन। यता विष्टले पहाडका विविध मुद्दाहरू त उठाइरहेकै छन्, तर केन्द्रले उठाइएका मुद्दालाई कार्यान्वयन गरेको भने देखिएको छैन। हुन लागेको शीतकालीन सत्रमा राजु विष्टले मेनिफेस्टोमा उल्लेख गरेको स्थायी राजनैतिक सामाधानबारे कुरा उठाउने हुन् कि भन्ने आशामा पहाडका पार्टीहरू बसेका देखिएको छ। 11 जातलाई जनजातिको मर्यादा दिलाउने मुद्दा यही शीतकालीन सत्रमा उठाउने हो होइन, पक्का छैन। यद्यपि, आशाको नजरले विष्टलाई पहाडका जनता र दलहरूले हेरेका छन्।

पहाडका दलहरू चाहान्छ, भाजपाले भनेको स्थायी राजनैतिक सामाधानको नाम खुलाउन्। तर सामाधानको नाम न विष्टले खुलाएका छन् न भाजपाले। गोर्खाल्याण्ड राष्ट्रीय कमिटी होस्, वा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा, गोजमुमो-1 होस् वा गोर्खालिग, गोरानिमो होस् वा क्रामाकपा सबैले भाजपाले भनेको स्थायी राजनैतिक सामाधानलाई ‘गोर्खाल्याण्ड राज्य’ बुझेका छन्। पहाडका दलहरूले बुझेको ‘गोर्खाल्याण्ड राज्य’ लाई भने न त राजु विष्टले सम्बोधन गरेको छ न त भाजपाले।

यद्यपि, पपहाडका दलहरू विष्ट र भाजपालाई ‘रामभरोसा’ गरेर बसेको छ। यता गोजमुमो-2 का अध्यक्ष विनय तामाङले भनेका छन्, ‘यही शीतकालीन सत्रमा राजु विष्ट र भाजपाको असली अनुहार अघि आउने छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया