
कोलकाता, 14 नोभेम्बर
बर्नपुर: बर्नपुरमा आसनसोल दक्षिण ब्लक तृणमूल काङ्ग्रेस र टीएमवाईसीले एनआरसीको विरोधमा जुलुस निकालेको छ। त्रिवेणी मोड़मा एनआरसीको विरोधमा सभा पनि भएको छ। ऱ्याली बर्नपुर बस स्ट्याण्ड, हिरापुर थाना, बारी मैदान, स्टेशन रोड हुँदै त्रिवेणी मोड़मा पुगेर पथसभामा परिणत भयो।
ब्लक अध्यक्ष सह मेयर परिषद सदस्य लखन ठाकुरले भाजपा बङ्गालमा एनआरसी लागू गरेर यहाँका जनतालाई खेदाउन खोजिरहेको बताए। ‘तर तृणमुल काङ्ग्रेस भाजपाको सपना पूरा हुन दिने छैन। राज्यमा एनआरसी लागू गर्न दिने छैन,’ उनले भने,’कश्मीरमा बङ्गालका पाँच श्रमिकको हत्या गरियो। यसको प्रतिवाद पनि गर्दैछौं। जेईई परीक्षामा बङ्गला भाषामा परीक्षा दिने सुविधा नराख्नु दुर्भाग्यपूर्ण कुरा हो।’
तृणमूल काङ्ग्रेसले यसविरुद्ध लगातार प्रतिवाद जनाउने पनि उनले जनाएका छन्। टीएमवाईसीका ब्लक अध्यक्ष अमित सेन, पार्षद भरत दास, सबरी माझी, सन्ध्या दास, तृणमूल नेता नेता मलय बिट, विश्वनाथ व्यानर्जी काजल भट्टाचार्य, महेश पासवान, प्रियव्रत माझी, अनूप लायक जुलुसमा सहभागी थिए।