थेत्ते

कथा

कोमल केरुङ्ग लिम्बू


‘थेत्ते…..!!’

‘होइन…के भ’ अलैंचीमा पानी हालिरहेको थेत्ते कराउँछन् ।

‘थेत्ते..!!’ म फेरि जिस्किँदै कराउँछु।

‘हन के सारो कराको यो केटी!!’ तलबाट फेरि उत्तर आउँछ।

‘थेत्ते…!थेत्ते…!’  म फेरि हाँस्दै कराउँछु।

यसचोटि तलबाट कुनै उत्तर आउँदैन। म थेत्ते भएतिर कुद्छु।

‘आबो भेटिस्,’ थेत्ते हातमा सानो सिर्कुना बोकेर ‘मलाई जिस्काउँछ पो है..’ भन्दै मतिर आइरहेको देख्छु।

‘लु पक्रिनु मलाई’, थेत्तेलाई अझ जिस्काउँदै म उक्कालै भाग्छु।

केही उकालो कुदेपछि थेत्तेको “आइयया” को आवाज सुन्छु। म झस्केर पछि हेर्छु।थेत्ते उत्तानो परेर भुँइमा लडिरहेको छ। मेरो खुट्टा कामेर आउँछ। म कुदेर थेत्त्तेकहाँ पुग्न खोज्छु।

“थेत्ते के भयो तपाईँलाई ?’ आत्तिँदै कहालिँदै म ओह्रालो कुद्न शुरू गर्छु।

0

‘थेत्ते? थेत्ते ?’

कस्तो सपना यो !

त्यो पनि बिहान बिहानको सपना!

हिजै जस्तो लाग्छ तर थेत्ते बितेको पाँच वर्ष भइसकेछ। हिजै जस्तो लाग्छ थेत्तेको पछि-पछि कुदेको। वान टु थ्री  किन्ने पैसाको निम्ति दङ्गाएको । मेरो थेत्ते सधैँ मेरै साथमा थिए। बाबाले मलाई कराउँदा उल्टा बाबालाई कराउँथे।

मैले लाली पाउडरदलिदिँदा पनि हाँसी-हाँसी ‘लगाइदे कस्तो देख्दा रहेछ’ भन्‍ने थेत्ते, मसँग चोली राम्रो पाल्पाले ढाकाको भन्‍ने गीतमा नाच्ने थेत्ते। मसँग भाँडाकुटी खेल्ने थेत्ते। मेरो साथी थेत्ते। तर आज उनी मसँग छैनन्। पाँचवर्षदेखि म थेत्तेविहीन भएकी छु।

‘तँ साथीहरूसँग नी झ्याम्मिने गर्। मसँग मात्र बसेर हुन्छ? म मरेपछि कोसँग खेल्छस् काली ?’ थेत्ते भन्‍ने गर्थे।

‘तपाईँ किन मर्छ थेत्ते? म पनि मर्छु ?’, म भन्‍ने गर्थें।

‘हो, सब मोर्छ काल आएपछि। ढिलो छिटो मात्र हो बुझिस्!’,थेत्ते भन्नेगर्थे।

‘काल कोस्तो हुन्छ थेत्ते?,’ म अझ जिज्ञासा सहित सोध्ने गर्थें।

एकक्षण सोचेर थेत्ते भन्ने गर्थे, ‘काल कालो न कालो, दारा सिङ भएको यत्रो ठूलो।’

‘तर मरेर जानेहरूलाई सम्झेर रूनु हुँदैन मर्नेको बाटोमा भलपैह्रो आउँछ। स्वर्गे जाने बाटो पाउँदैन’, थेत्तेले मेरो बुथुरे कपाल मुसार्दै भन्‍ने गर्थे।

त्यतिबेला नबुझे पनि अहिले बुझ्ने भएको छु, जीवन-मरण बीचको पार्थक्य। बुझ्न थालेकी छु जीवन-मरणको परिभाषा। थेत्तेको दार्शनिकता। त्यही नै अहिलेघरि मेरो साथी भएको छ।

आमा भन्छिन्, ‘मरेको मान्छेलाई पानी चढाउनु हुँदैन, आश गर्छ।’

तर मैले आज थेत्तेलाई सम्झेर पानी चढाएँ।

‘थेत्ते मज्जाले खानु पानी अनि तिर्खा लागे फेरि सपनामा आउनु,’-मैले

मनमनै भनेँ।

‘यो रूम वरिपरिकाहरू यति बिघ्न हल्ला गर्छन्, म त वाक्‍क भइसकें। म रूम चेन्ज गर्छु होला,’ फोनमार्फत आमालाई जनाउँछु।

आमा भन्छिन्,‘अरे अलि अलि त एडजस्ट गर्दा हुँदैन र नानी ? अलि साथीभाईसँग पनि हेमखेम गर् न ! त्यस्तो जङ्‍गली भएर काँ हुन्छ अन्त !’

0

आमालाई नभनी नयाँ रूम सरेको पनि आज दुई हप्ता दिन भयो। आफूले भनेको जस्तो रूम पाएर म धेरै खुसी छु। दुईतले घर छ, माथिल्लो तलामा मालिकहरू बस्छन्। रूम प्रायः खाली छ। छु त म अनि एउटा दिदी। त्यो पनि म उठ्दा उनी हुँदैन। म सुत्‍न लाग्दा उनको रूमको दैलो खोलिन्छ। मालिकको अनुहार एडभान्स दिँदा देखे यता देखेको छुइनँ मैले।

आज साँझमा छतबाट लूगा उठाउँन जाँदा मैले एकजना बूढो मान्छेलाई एक्लै बसेको देखें। मलाई बुझ्न गाह्रो भएन। उनी घर मालिकको बाबा । उनको छेउमा गएर मैले भने ‘आप यहाँ का मालिक हो ना?’

हो भन्ने बुझाउँदै उनले टाउको मात्र हल्लाए।

‘आप तो मेरे थेत्ते जैसे दिखते हो’, मैले खुशी हुँदै भनें।

‘थेत्ते मतलब दादाजी,’ मैले आफै भनें।

‘अच्छा अच्छा’, उनले हाँस्दै भने।

‘आपको दादाजी बोलु?’ मैले उनीतिर हेर्दै सोधें।

उनी मतिर हेर्दै मुसुमुसु हाँसे।

‘ओरबिन्द को घर पे पूजा  रखने के लिये कितना बोला, पर सुने तब ना। बस काम काम’, उनले मलाई नहेरी लौरो सफा गर्दै भने।

‘हमारे घर मे भी थेत्ते पूजा करता था ,मगर अब वो नही है,’ मैले मनै दुखाएर भनें, ’मेरे थेत्ते रक्सी खाते थे कभी कभी।’

‘रक्सी?’

‘ए,,,के भा’को मो। सराब होता हे ना वो’, म हाँस्दै भन्छु।

‘आप भि पिते हो?’ म सोघ्छु।

‘अरे ना ना..मुझे तो पायस (खीर) खाना पसन्द हे, मगर बोउ के पास टाइम नही’, उनले कता कता हेर्दै भने।

‘मे बनाके लाउङ्गी खाएङ्गे?,’ मैले भनें।

उनी मलाई नहेरी मुसुमुसु हाँसे।

‘बाई दादाजी कल मिलेंगे,’ भन्दै म तल झरें।

0

मलाई आज पनि थाहा छ, घरमा  खिबेकवायाकवा सेवा हुँदा फेदाङबाको अजङ रूप देखेर म थेत्तेको ढाँडपछि लुक्दै सोध्ने गर्थें, ‘थेत्ते के गरेको फेदाङबाले?’

‘योचाईं अन्नबालीको रछे गरिदेउ है, हावा पानीदेखि जोगाइदेउ है भनेर तागेरा निङवा भुमाङलाई बल विन्ती मागेको।अब बुझिस’, थेत्ते मलाई हेर्दै  भन्ने गर्थे।

‘तागेरा चैं को नि थेत्ते?,’ अक्क न बक्क परेर म सोध्ने गर्थें।

‘के सारो वाक्क लाको यो बुथुरीले? यो फूल पक्रेर सवारो गरेर बस त। आइले पूजा सकेर डल्लै आइफल दिन्चु।’,भन्दै थेत्ते फेदाङबासँगै पूजा गर्थे।

 

थेत्तेलाई काका सिक्किम लैजान आएका बेला म कत्ति रोएको थिएँ। म रोएको देखेर बाबाले एकदुइदिनपछि आफै पुऱ्याउँछु भन्दा बाबा अनि काकामाझ कति भनाभन भएको थियो।

‘जेठा छोराको मात्र छोरा, कान्छा त केइ होइन नि’, यसरी रिसाएका थिए काका।

‘जाओ हौ एकपल्ट भेटेरआओ तिमारू बाबालाई। थेत्ते नदेखेर यसको सातो गोको जस्तो छ,’ आमाले एकदिन यसो भनेकी थिइन्।

‘थेत्तेलाई ल आमा’  भन्दै   थेत्तेको मनपर्ने ‘राहक’ बेडी किनेकी थिएँ र लागेकी थिएँ बाबासँग सिक्किमतिर। हामीलाई देखेर आँसु चुहाउँदै थेत्तेले भनेका थिए, ‘जेठा मलाई नि उतै लैजा बरू मरे उतै मर्छु।’

बाबाले पनि केही सोधेनन्,जे भन्नु थियो थेत्तेको हड्डी मात्र भएको शरीरले भनिसकाको थियो।

गाडीको पछाडि सिटमा बसेर थेत्तेको तालमा ताल मिलाएर भजन गाउँदै घर फर्केकी थिएँ “नारायण नारायण भजोमन नारायण।’

0

‘कल खाना हमारे घर मे खाना हाँ ।’ कहिले नआउने घरमालिक्नी आएर भनी। राम्रै भयो पकाउन अल्छी पनि लागेको थियो,सोचेर अलिकति हाँसे।

मान्छेको अलि अलि भीड रहेछ। देखेर अप्ठ्यारो मान्दै त्यहाँबाट जान लाग्दा, घर मालिक्नीले देखेर रोकी।

‘किन लजाएको, यहाँ आउ’ भन्दै कुर्सीमा बस्ने इसारा गरी।

मकमक गनाउने पुलाउ, माछा, बैगन भाजा, के के मेरो अगाडि राखिदिँदै ‘खाँदै गर’ भनेर अरू मान्छेभएतिर गई। घरमालिक आज अलि अँध्यारो अनुहार लगाएर बसेको देखें। एकजना बुढो बाजेलाई उनले नमस्ते गरे अनि ती दुई मेरै छेउको टेबलमा आएर  बसे।

म पुलाउ माछा खानमा व्यस्त भएपनि  मालिक बोलेको सुन्दै थिएँ।

‘बाबाको आखिर वक्त मे नही देख पाया अङ्कल, यही बात का पछतावा है,’ घरमालिकले मलिन स्वरमा भने। त्यो बुढो बाजेले केही नभनी मालिकको ढाँडमा ढ्याप थपथपाइरह्यो।

‘पायस….?’

मालिक्नीले कटौरीभरिको खीर मतर्फ बढाउँदा म एकाकएक तर्सेर ‘दादाजी’ भनिपठाएँ।

उनले औलाले सङ्केत गर्दै उता भनेर देखाइदिए। म खीरको कटौरा बोकेर दादाजी भएतिर गएँ। रातो फूलको माला लगाएर दादीजी मज्जाले मुस्कुकाइरहेका थिए। उनको फेभरेट पायस उनको छेउमा राखिएको थियो अनि अखण्ड दियो नाचिरहेको थियो। मसित ट्यारिसमा हाँसेर मनको कुरा पोख्ने दादाजी यो घरमा बर्षदिनदेखि तस्वीरमा ?

मेरो पाइतलामुनिको जमीन हल्लिन लाग्यो। आँखाअघि अन्धकार छाएको जस्तो भयो। वरिपरि केही सुध नै रहेन। कत्तिबेला अनि कसरी आफ्नो रूममा आइपुगें पत्तो भएन।

अहिलेघरि म एक्लै कोठाभित्र छु। दादाजी हाँसिरहेको तस्वीर घरिघरि आँखाअघि नाँचिरहेको छ। दादाजीले केही दिनअघिमात्र मसित ट्यारिसमा भनेका कुराहरू पालैपालो सम्झिरहेको छु। छोरा-बुहारीको कुरा, घर-पूजाको कुरा, उनको फेवरेट पाइस सबै कुराहरू कानमा भुन्भुनाइरहेको छ।

मान्छेको अतृप्त चाहना अथवा अव्यक्त पीड़ाहरूले मरेपछि संसारमा भट्काउँछ भन्छन्। तब के दादाजीलाई पनि यस्तै भएका हुन् त ? मनमा अनेकन् कुराहरू खेलिरहेका छन्।

‘बाबाको आखिर वक्तमे नही देख पाया अङ्कल, यही बातका पछतावा है’, अघि घरमालिकले बूढ़ो मान्छेलाई भनेको शब्दहरूको अर्थ यत्तिखेर निक्कै गहिरिँदै गइरहेको छ।


 

*थेत्ते-लिम्बू भाषामा बाजे)

*खिबेकयाकवा सेवा-अन्नबाली लगाउँदा हावा पानीदेखि रक्षाको निम्ति बल माग्ने विशेष पूजा।

*तागेरानिवाभुमाङ-सम्झनु बितिक्कै मनमा उपस्थित हुने ईश्वर)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया