पुनः साझा प्रकाशनको बिक्री केन्द्र सिलगढीमा

खबरम्यागजिन प्रतिनिधि

काठमाडौं, 25 मई 2017


एक शताब्दीभन्दा पुरानो नेपालको प्रकाशन संस्था साझा प्रकाशनले सिलगढ़ीमा पुनः आफ्नो बिक्री केन्द्र खोल्ने भएको छ। भारतीय साहित्यकारहरूको सम्मानमा काठमाडौंको पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रिय कार्यालयमा राखिएको एक अन्तरक्रिया कार्यक्रममा साझा प्रकाशनका वर्तमान महाप्रबन्धक डोलेन्द्रप्रसाद शर्माले यसप्रकारको जानकारी गराए।

आगामी जून 15 भित्र सिलगढ़ीमा बिक्री केन्द्रको ठाउँलाई चूड़ान्त गर्न आफूसहित साझा प्रकाशनको एउटा टोली सिलगढ़ी जाने पनि उनले अवगत गराए। उल्लेखनीय छ, सिलगढ़ीको प्रधाननगरमा केही वर्षअघिसम्म साझा प्रकाशनको बिक्री केन्द्र राखिएको थियो, तर पुस्तक बिक्री नभएको अनि केन्द्र घाटामा चलेको भन्दै साझाको सिलगढ़ी शाखा बन्द गरिएको थियो। निकै घाटा र आर्थिक सङ्कट ब्योहोरिरहेको साझालाई आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताइएको छ।

“देवकोटा र समहरूले परिकल्पना गरेको साझा प्रकाशनसँग पाँच महिनाअघि म जोडिँदा यसको अवस्था डाबाडोल थियो। म यसलाई फास्ट ट्—याकमा ल्याउन हरेक प्रयास गरिरहेको छु। नेपाली भाषाको जगेर्ना भयो भने तपाईंहरूको पनि जगेर्ना हुन्छ। स्रष्टाहरूका सामूहिक चौतारी यो प्रकाशनलाई अन्तरराष्ट्रियकरण गर्ने र अमेरिका, युरोप अनि नेपालीहरू बसोबासो गर्ने ठाउँहरूमा यसको केन्द्र खोल्ने हाम्रो योजना छ। अब साझा प्रकाशनले भारतीय साहित्यकारहरूका कृति पनि प्रकाशन गर्नेछ। यसलाई बलियो बनाउन तपाईंहरूको पनि सहयोग हामीलाई चाहिएको छ”,महाप्रबन्धक शर्माले भने। सिलगढ़ीको दार्जीलिङ मोड़स्थित मंगलमाइती भवनमा साझा प्रकाशनको कार्यालयका लागि सिलगढ़ीका साहित्यकारहरूले प्रस्ताव राखेको विश्वस्त सूत्रले जानकारी गराएको छ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले पनि साझा प्रकाशनले भारतीय साहित्यकारहरूलाई जोड्ने पुलको काम गरोस् भन्ने कामना राखे। यस प्रकाशनले भारतीय साहित्यकारहरूका कृति पनि नेपाल ल्याउने व्यवस्थाका लागि पहल गर्नुपर्ने लेकालीको अनुरोध थियो। भारतीय साहित्यकारहरूका पक्षमा ज्ञानेन्द्र खतिवड़ा, डा. कविता लामा, रूपेश शर्मा, डा. कृष्णराज घतानी, विकास कार्की आदिले साझाको यो पहलको सराहना गर्दै ‘गरिमा’, ‘समकालीन साहित्य’लगायत साझाका उत्कृष्ट कृति, रचना र सिर्जनाहरूसँग आफूहरू दीर्घदिनदेखि जोड़िँदै आएको बताए। सबै वक्ताहरूले साझाको यो पहलप्रति आभार प्रकट गर्दै प्रस्तावित सिलगढ़ी बिक्री केन्द्रको प्रवर्धन, प्रचार र बिक्री अभियानहरूमा आ-आफ्ना तर्फबाट व्यक्तिगत एवं संस्थागत रूपमा सक्दो सहयोग गर्ने भारतीय साहित्यकारहरूले साझा प्रकाशनका वरिष्ठ प्रशासकहरूलाई आश्वासन दिए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन