प्रेम एक भावुक प्रतिबद्धता हो लुङा- पुकार पारदर्शी

कविलाई सात प्रश्न

पुकार पारदर्शी नयाँ हाँचका सक्रिय कवि हुन्। हल्लुँड नामक कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन्। विचारमा देब्रे ढल्कुवाजस्ता लाग्ने उनका कविताले ग्रामीण विम्बमार्फत समाजका अन्तरविरोधहरू केलाउने गरेको छ। उनै कविलाई सातवटा प्रश्न राखेको थिएँ, जो यहाँ छ- विशाल नाल्बो।

विशाल नाल्बो


लुङालाई कवि हुनुमा के कुराले बढी प्रेरित गऱ्यो?

इमान्दारसित भन्नुपर्दा म कविताबारे सारै जान्ने मान्छे त होइन। तर पनि लुङाले सोधिहाल्नु भो। आफ्नो अनुभूति र विचारले भ्याएसम्म उत्तर दिने प्रयास भने गरौँला।

मेरा बाबा किसान हुन्। उनी स्वभावले नै मेहनती। दिनभरि बारी कोपर्थे। खेतालापात गर्थे। तर पनि घरमा खानुको जहिल्यै अभाव। सधैँभरि भात खान नपाइने। पुष्टकारी, अरेट, इस्कुस, ओगी (सकरखण्ड) भुटेको मकै आदि खाएर छाक कटाउनुपर्ने। मेरा बाबा जस्तो समाजमा अरू कति बाबाहरू हुँदा हुन्। यी सब अभाव र विसङ्गतिहरूले मेरो कलिलो दिमागमा एक किसिमको बिम्ब बनिँदै गयो र पछि कविता भयो।

कविता लेख्ने पहिलो प्रेरणा भनेको मेरो आफ्नै बाबा हुन्। जसले मलाई जीवन बाँच्ने अनेकौँ पाठ मेहेनतले सिकाए। जीवन बाँच्ने सुत्रहरू दिए। अहो! मेरो बाबा जस्तो ठुलो कविताको विषय वस्तु अरू के हुन सक्थ्यो यो संसारमा।

दोस्रो प्रेरणा भनेको मैले बाँचेको, बाँचिरहेको समाज। जुन समाजले मलाई भाषा, संस्कृति, विचार, अनुशासन जस्ता तमाम चिज दियो। मैले लेख्ने कविताको विचारको स्रोत पनि आफ्नै समाज हो। यसकारण मैले देखेको समाजभित्र नदेखिएको समाज उत्खनन् गर्न त्यही विचारले प्रेरित गऱ्यो, कविता मार्फत्।

कवि हुनुको फाइदा के रहेछ ?

कवि हुनुको सबभन्दा ठुलो फाइदा त आफू बाँचेको समाज बुझ्नु हो लुङा। भूईँ मान्छेको जीवन बुझ्नु हो। तर कवि हुनुको लागि समाजले मात्र पुग्दैन र’छ। विविध विधाको पुस्तकहरू अध्ययन गर्नुपर्ने र’छ। त्यसबाट प्राप्त ज्ञान अनुशासनका कुराहरूले सामाजिक मनोविज्ञानप्रति आफ्नो धारणा निर्माण हुँदै जान्छ। इतिहास, भूगोल, संस्कृतिहरूको आधारमा सामाजिक मौलिकता चिन्हित गर्न सकियो भने जैविक समाज निर्माण गर्न सकिन्छ भन्ने बुझेको हो। मेरो कविताको खोज भनेको यही हो वास्तवमा। यसो पो भनौँ, मलाई कविताले जीवन बाँच्ने सिद्धान्त दियो। कवि भइसकेपछि यति बुझियो। अन्त: ठुलो कुरा भएन र?

लुङ्गा, कवि हुनु त फाइदै फाइदा पो रछ त। तपाईँ पनि बन्ने कि कवि?…..ए साँच्ची तपाईँ त जन्डा कवि नै होनि।

कविताले कस्तो खाल्को राजनीति गर्छ?

कविता आफैमा राजनीति होनि तेसो त। कवि हुनुको विशेषता त्यही हो कि उसले झन्डा उठाउँदैन। पहिला रिमाल, भूपि, गिरी, मोहन कोइराहरूले कविता मार्फत् राजनीति गरेकै हुन्। पाश्चात्यमा बर्तोल्त ब्रेख्त, माया एन्जुलो, नेरूदाहरूले पनि राजनीति गरेकै हुन्। अहिलेका समसामयिक कविहरूले पनि उसै गरी राजनीति गरिरहेकै छन्। जस्तो- नेपालका कविहरू श्रवण मुकारूङ, स्वप्निल स्मृति, सङ्गीत श्रोता, भूपिन, हेमन यात्री, विनोदविक्रम आदि।

लुङ्गा, मलाई त कविताले कस्तो खाल्को राजनीति गर्छ? भन्दा पनि कविताले के का लागि राजनीति गर्ने? भन्ने सवाल महत्वको लाग्यो। हगि?

‘कवितामा राजनीति हुनुहुँदैन’ भन्ने समूह पनि छन् हगि हाम्रो समाजमा? तर राजनैतिक, साँस्कृतिक जस्ता हस्तक्षेप भोगिरहेको हाम्रो समाजमा कविताले राजनीति नगरी बसेर हुन्छ होला र?

उसो त हामी आन्तरिक उपनिवेशवादले पिल्सिरहेछौँ। एकापटि जातीय पहिचानको सवाल छ। अर्कोपटि बाहिरी संस्कृतिको आडमा पहिचान लुटाउने र आफ्नो पसिना, रगत र सपनाको मूल्यको मुनाफा बाँड्ने व्यवस्था बचाउने अवसरवादीहरू छन्। त्यस्ताको विरूद्धमा कविताले राजनीति गर्ने हो नि।

त्यति हो, यसको लागि अग्रगामी चेतना आवश्यक पर्छ। सत्ताले एउटा जातिमाथि आफ्नो प्रभुत्व फैलाउँदै गएपछि जातिको भाषा, साहित्य, संस्कृति, मूल्य मान्यता, सार्वभौमिकता जस्ता तमाम अधिकारहरू खोस्ने प्रयत्न गर्छ। यो हुन नदिनकै लागि कविताले मुट्ठी उठाउँछ। हेजिमोनीहरूलाई (नेतागिरी) गाली हान्छ। आक्रोश पोख्छ। तर कविताले पोख्ने आक्रोश कलात्मक हुन्छ। ध्वङ्सात्मक नभएर सिर्जनात्मक हुन्छ। भनाईमा वक्रोक्ति) हुन्छ। जसको बिछट्टै सौन्दर्य हुन्छ।

यसो भनौँ, प्रभुत्ववादीहरूको छातीमा सिर्जनाको तलवारले घोपेर कविताले राजनीति गर्छ।

विश्व साहित्यमा भारतीय नेपाली कविताको स्थान कहाँ निर छ?

विश्व साहित्यमा भारतीय नेपाली कविताको स्थान नाजुक छ। नेपाली कविताहरू अन्य भाषामा अनुवाद हुन नसक्नु टड्कारो विषय हो। अनुवाद भए पनि नेपाली स्वाद (मौलिकता) उनीहरू समक्ष पुग्दैन। त्यस्तो अवस्थामा कन्टेन्ट मात्र उनीहरूले ग्रहण गर्ने हो। मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी जस्ता सीमित कविहरूका कविताहरू अन्य भाषामा अनुवाद भए। त्यसबाहेक त हाम्रो कुरा अन्य भाषीहरू समक्ष पुगेकै छैन। यसकारण नेपाली कविताले सार्वभौमिक रूप लिन नसकेको हो।

लुङा तपाईँको पुस्ताका कविहरूको कवितामा समयचेत कतिको छ जस्तो लाग्छ?

एउटा कवि शरीरले होइन, विचारले अपाङ्ग भइदिन्छन्। जतिबेला उसको विचार लुलो हुन्छ। र यो त्यतिबेला हुन्छ, जतिबेला उसले सामाजिक मनोविज्ञानको बोध गर्दैन।

कवितामा समय चेतना त हुनै पऱ्यो। र छ पनि। आफूले बाँचेको समाजलाई सम्बोधन नगरी कसको कुरा लेख्ने? होइन र लुङा?

आफ्नो समाजको सदस्य नभई विश्वको सदस्य हुन सकिँदैन। एउटा सचेत कविले  सामाजिक मानवीय रक्षाको सवाल कवितामा उतारेकै हुनुपर्छ भन्ने मेरो धारणा हो। आजका कविहरू राकेश क्रान्तिकारी, विशाल नाल्बो, आशिष लिम्बु, एन. बी घिमिरे, विपल घले, अभिषेक विश्वकर्म, नेपाललाई हेऱ्यौ भने नविन प्यासी, विनय सरगम, उज्वला महर्जन, सुरज राणाहरूले लेख्दै गरेका कविताहरूले आफ्नै समयको समाज लेखिरहेका छन्।

समाजको सम्पूर्ण शक्ति केन्द्रित हुने भनेको राजनीतिमा हो। जसले केही हदसम्म कविताको वैचारिक मूल्यलाई निर्धारण गर्छ। तर अहिलेका युवा कविहरू यसको सतहभन्दा माथिबाट आफ्नो समाजलाई हेर्ने दृष्टिकोण हुर्काइरहेछन्।

राजनीतिले उत्पादन गरेको आर्थिक, नैतिक, सांस्कृतिक खाल्डो, जटिलता, विभिन्न अन्तरविरोध जस्ता असङ्गतिहरू आजका कविताहरू लेखिँदैछन्। हुन त कविहरू स्वभावले नै अराजक हुन्छन्। तर सामाजिक ज्ञान अनुशासनको दायराभित्र रहेर कविता लेखिदिन पनि उनीहरू मज्जाले जान्दछन्। अरू के चाहियो?

केही महिना अघाडी मात्र तपाईँले हल्लुँड नामक कविता सङ्ग्रह बजारमा ल्याउनु भयो। त्यस सङग्रहभित्र रहेका आधिकांश कविताले ग्रामीण कुरालाई उठाएको छ। यस मानेमा तपाईंको कविताले देखाएको दृश्य जस्तै छ गाउँको अवस्था?

हो नि लुङा, मैले ग्रामीण जीवन जस्तो भोगे र देखें, कवितामा त्यही लेखें। मेरो कविताको कथानक टिपेर कुनै चलचित्र बनाइयो भने पनि आउने त त्यही दृश्य हो, जुन दृश्य कवितामा देखाइयो।

र मेरो कविता सङ्ग्रह ‘हल्लुँड’ ले बोकेको सपना भनेको भोलिको जैविक समाज निर्माण हो।

तपाईंले त प्रेम कविता पनि लेख्नु भएको छ, यस अर्थमा तपाईं प्रेममा त पक्कै हुनु हुन्छ। प्रेम कविता र प्रेमलाई हेर्ने तपाईंको आफ्नो निजी धारणा चाहिँ कस्तो छ?

प्रेमको विविध आयाम हुन्छन्। भेद हुन्छन्। अब, लुङाले सोध्नु भएको प्रेम, कुन खाले प्रेम हो, खुट्याउनै गाह्रो।

प्रेमिकाकै सन्दर्भमा सोध्नु भएको हो भने भन्दिहालूँ, हो म प्रेममा छु। प्रेममा यसकारण छु कि, म मानव हुँ। र प्रेम हुनु भनेको मानवीय गुणको विशेषता। मानवीय संवेदनाकै कारण म प्रेममा छु। एउटा स्वर्णिम प्रेम। अहो! उत्तर अलि फेन्टासी भयो क्याहो। हाहाहा

प्रेम कविताको कुरा गर्नु भयो। छन् एक दुईवटा। प्रेमिल जीवनले जे अनुभूति गऱ्यो, प्रेम कवितामा त्यही चिज आउने हो। प्रेम कविताहरू पनि लेखिनुपर्छ भन्छु। किनभने प्रेम मात्र यस्तो चिज हो जसको स्वरूप सार्वभौम हुन्छ। संसारका जम्मै तप्काका मान्छेले समान किसिमको प्रेम अनुभूत गर्न सक्छन्।

प्रेम एक भावुक प्रतिबद्धता हो। यो कुनै व्यक्ति, समाज, देश या प्रकिृतिसँग हुन सक्छ । प्रेमबारे यो भन्दा बढी बोलियो भने सायद प्रेमको अपमान गरूँला। यसोस्ले, प्रेमलाई प्रेमकै ठाउँमा रहन दिनु उचित ठान्छु।

प्रेमलाई परिभाषित गर्नुभन्दा पनि अनुभव गरिने विषय हो।  लुङा, तपाईं पनि प्रेममा परिहेर्नोस् त, क्या मज्जा पो आउँछ त। हाहाहाहा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया