अनेपालीभाषीहरूको उपस्थिति दिनदिनै बढ़्दै बसिबियाँलो-को 19 औँ प्रकरण सम्पन्न

विज्ञापन

मुम्बई, 18 नोभेम्बर।


भारतको व्यस्ततम सहर मुम्बईमा रैथाने भएर अनि अस्थायी रुपले बसोबासो गरिरहेका नेपालीभाषीहरूले गत डेढ़ सालअघिदेखि सुरू गरेको मासिक वैचारिक गोष्ठी बसिबियाँलो -को 19 -औँ प्रकरण हिजो सम्पन्न भयो। यहाँको चेम्बुर पूर्वस्थित हाम्रो छहारी -को नयाँ आश्रममा भारतीय नौसेना अधिकारी केशव सापकोटाको घरपटीत्वमा सम्पन्न उक्त प्रकरणमा मुम्बईका विभिन्न क्षेत्रहरू नेभी नगर, कोलाबा, एन्टप हिल, चेम्बुर, कुर्ला, बसन्त पार्क, अन्धेरी, गोरेगाउँ, मस्जिद बन्दर, मझगाउँ, साकिनाका आदिबाट आएका नेपालीलगायत हिन्दी, मराठी अनि मणिपुरीभाषी अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्बोधन गर्दै युवा कवि केशव सापकोटाले बसिबियाँलो-को आचार संहिता पाठ गरे अनि केही दिनअघि नेपालीभाषी राज्य सिक्किमकी एक किशोरीमाथि भएको अमानवीय घटनामाथि स्वरचित कविता सुनाए। कार्यक्रमलाई सञ्चालन गर्दै लेखक हीरा छेत्रीले नवागन्तुकहरूलाई बसिबियाँलो -को अवधारणा अनि हाम्रो छहारी -को परिचयबारे अवगत गराए। यस दिनको कार्यक्रममा मुम्बईको एक पुरानो संस्था संयुक्त नेपाली महासङ्घका महामन्त्री पूर्णबहादुर कुँवरले आफ्नो सङ्गठनले निष्पादन गरिरहेका सामाजिक दायित्वहरूबारे उपस्थित अतिथिहरूलाई जानकारी दिँदै हाम्रो छहारी -सित पनि मिलेर काम गर्ने उपाय खोज्नका लागि आगामी केही दिनभित्रै एउटा साझा बैठक डाक्ने मनसाय पोखे।

उनले नेपाली लोकगीत गाएर सबैलाई मन्त्रमुग्ध पारे भने कालेबुङका दन्त चिकित्सक डा. ए. भी. पिर्थवाणीले आफ्ना संस्मरणहरू सुनाए अनि हाम्रो छहारी -को अवधारणाको प्रशंसा गर्दै आर्थिक सहयोग प्रदान गरे। कार्यक्रममा सालबारी, सिलगड़ीनिवासी भूतपूर्व शिक्षक जगत लुइँटेलले पनि अतिथिका रुपमा आफ्नो मन्तव्य पोख्दै आफु यहाँ आफ्ना छोरासँग शीतकालीन समय बिताउन आएको भए तापनि हाम्रो छहारी र बसिबियाँलो -बारे सामाजिक सञ्जालमार्फत् जान्न पाएर स्वयम् सम्पर्क गरी कार्यक्रममा उपस्थित हुनपुगेको जानकारी दिए अनि हाम्रो छहारी -ले गरिरहेको सामाजिक दायित्वबाट आफु प्रेरित बनेको बताए।

उनले यस सामाजिक अभियानसित आफु पनि सम्बद्ध भएर काम गर्ने मनोच्छा व्यक्त गर्दै आफु मुम्बईमा रहेको समयलाई यो संस्थाको लागि समर्पण गर्ने प्रतिश्रुति दिए। मणिपुरबाट आफ्नी छोरीको उपचारार्थ टाटा अस्पताल आएर हाम्रो छहारी -मा आश्रय लिइरहेका इमफालनिवासी भूतपूर्व शिक्षक के. एच. महेन्द्रसिँहले आफुले दीर्घ दिनदेखि मुम्बईमा बस्ने ठाउँको लागि चक्कर काटिरहेको तर उपयुक्त स्थान नपाएको बेला टाटा अस्पतालमा पर्चा वितरण गर्दै पुगेका हाम्रो छहारी -का महिला स्वयमसेवीहरूसित भेट भएको संस्मरण सुनाउँदै हालमा आफ्नो आवासीय सुबिधाको समस्या समाधान भएबापत् यस संस्थाका कार्यकर्ताहरूलाई हार्दिक धन्यबाद प्रकट गरे। उनले मणिपुरी आममानिसहरूका लागि मुम्बईमा यसरी रहने ठाउँ नरहेको अवस्थामा नेपालीभाषी गोर्खाहरूले ठुलो गुण गरिरहेको बताए अनि यहाँ जात, जाति, धर्म, क्षेत्र आदिलाई आधार नगरेर केवल मानवीय नातामा सबैलाई सहयोग पुऱ्याउने काम भइरहेको बताए।

संस्थाकी मूल संयोजक सकुन सिँह राईले दीर्घदिनको अभ्यास अनि अनुभवपछि नेपालीभाषी घरेलु महिलाहरूले यसै वर्षको फरवरी महिनादेखि थालेको हाम्रो छहारी अभियानले केवल रोगीहरूका लागि बस्ने ठाउँ उपलब्ध गराउने मात्रै होइन उनीहरूलाई डाक्टरको एपोइन्टमेन्ट मिलाइदिनेदेखि लिएर मुम्बईका हवाईपट्टी, रेल स्टेसनमा लिन र छोड़्न जाने, बिमारीहरूले पाउने सरकारी छुटहरूमा सहयोग पुऱ्याउने, उनीहरूलाई खानपिन अनि स्वच्छतामाथि विशेष ध्यान दिएर हाम्रो छहारीमा पारिवारिक परिवेशमा राख्ने काम गरिरहेको जानकारी दिइन् भने संयोजक श्रीमती स्वस्तिका छेत्रीले हालैमा सिक्किमबाट आफ्नो नानीको उपचारका लागि आएका अभिभावकहरूलाई उनीहरूले पाउने आर्थिक सहयोगका लागि टाटा अस्पताल कर्तृपक्षसित विवाद गरेर सो सहुलियत प्रदान गरिएको बताइन्। उनले हाम्रो छहारी -प्रति खुला हृदयले सघाउ पुऱ्याइरहेका भारतलगायत नेपाल, डेनमार्क, क्यानाडा, युएई आदि स्थानका सदस्यहरूप्रति हार्दिक आभार प्रकट गरिन्। आगामी 20-औँ बसिबियाँलो-का घरपटी लेखनाथ रेग्मीले सबैलाई कार्यक्रममा उपस्थित भइदिने निमन्त्रणा गरे।

उल्लेखयोग्य, गत 15 अगस्तदेखि सुरू भएको नेपाली-गोर्खा सेवा समितिको हाम्रो छहारीको पहिलो आश्रम यहाँको कुर्लामा सञ्चालनमा आइरहेको छ जहाँ निम्न आयस्रोतका रोगीहरूलाई प्राथमिकता दिइन्छ भने गत 7 नोभेम्बरदेखि यहाँको चेम्बुर पूर्वमा परिचालनमा आएको दोस्रो आश्रममा रोगोपचारलगायत अन्य व्यक्तिगत कामविशेष स्कुल भर्ती, तालिम, यात्रा, भ्रमण, स्थानान्तरण आदि उद्देश्यका लागि आउने अतिथिहरूलाई राख्ने गरिन्छ।

यस दिनको कार्यक्रममा हाम्रो छहारीका सल्लाहकार विकास दूतराज, संस्थापक सदस्या तथा नेपाली अनि हिन्दी सिनेकलाकार तारा शर्मा, नेभी अधिकारी लेखनाथ रेग्मी, संयुक्त नेपाली महासङ्घका कार्यकर्ता मोहन ओझा, सामाजिक कार्यकर्ता नवीन मौर्य, रियल स्टेट म्यानेजर सन्दीप खातिकमारे आदिको विशेष उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया