‘बाघजस्तो गर्जेर सांसद बन्ने विष्ट लोकसभामा भिजेको मुसा भए, किन गोर्खाल्याण्डको मुद्दा उनको मुखबाट निस्किएन?’

विज्ञापन

शीघ्र नै केन्द्र सरकार, पश्चिम बङ्गाल सरकार र स्थानीय प्रतिनिधिहरू बीचको त्रिपक्षीय वार्ता सुरु गरियोस्- विष्ट

सिलगढीमा सर्वसम्मतिले लिएको गोर्खाल्याण्डको प्रस्तावअनुसार नै विष्टले सदनमा मुद्दा उठाएका हुन् – मुनिष तामाङ


दार्जीलिङ, 19 नोभेम्बर


भाजपा सांसद राजु विष्टले शीतकालीन संसद सत्रमा आफ्नो पक्ष त राखे तर छुट्टै राज्य गोर्खाल्याण्डको कुरा भने उठाएनन्। उनले आफूहरूको मेनिफेस्टोमा उल्लेखित शब्द ‘स्थायी राजनैतिक समाधान’-को लागि केन्द्र सरकारले हस्पक्षेप गर्नुपर्ने माग राखेका हुन्।

दागोपाप र जिटिएजस्ता व्यवस्थाहरूले पहाड, तराई र डुवर्सका गोर्खाहरूको सपना पूरा नगर्नेभएकैले ‘स्थायी राजनैतिक समाधान’ गर्नुपर्ने माग उनले गरेका छन्।

दार्जीलिङ पहाड, तराई-डुवर्स चिकन नेक क्षेत्र रहेको भन्दै यहीँबाट घुसपैठ र देश असुरक्षामा पुग्नेगरीका गितिविधि उत्पन्न हुनसक्ने र विकासको क्षेत्रमा पछौटे क्षेत्ररहेकोजस्ता विशेष कारण राख्दै विष्टले सामाधानको सन्दर्भ झिकेका थिए।

समस्याको संवेदनशीलतालाई केन्द्रमा राख्दै विष्टले सदनमा भने, ‘यसबारे शीघ्र नै सरकारद्वारा हस्तक्षेप गरियोस्। शीघ्र नै केन्द्र सरकार, पश्चिम बङ्गाल सरकार र स्थानीय प्रतिनिधिहरू बीचको त्रिपक्षीय वार्ता सुरु गरियोस्।’

विष्टले सदनमा कुरा उठाए पनि उनले भनिरहेको ‘स्थायी राजनैतिक समाधान’ र पहाडका नेतृत्व र जनताले भनिरहेको ‘छुट्टै राज्य गोर्खाल्याण्ड’ एउटै हो त भन्ने कुरामा संशय देखापरेको छ।

सांसदले ‘स्थायी राजनैतिक समाधान’ भनेपनि त्यसलाई ‘छुट्टै राज्य गोर्खाल्याण्ड’ नै हो भनेर बुझिरहेको र भर्खरै सिलगढीमा गोर्खाल्याण्डको प्रस्ताव नै पारित गरेर सबैलाई चकित पार्ने राष्ट्रीय गोर्खाल्याण्ड समितिले खुशी व्यक्त गरेको छ।

समितिका मुनिष तामाङले सांसदले सदनमा कुरा उठाउनुलाई समितिले निक्कै गम्भीर अर्थमा लिएको बताएका छन्।

‘सिलगढीमा सर्वसम्मतिले लिएको गोर्खाल्याण्डको प्रस्तावअनुसार नै विष्टले सदनमा मुद्दा उठाएका हुन्,’ मुनिष तामाङको भनाइ छ, ‘अब सरकारले त्यसमाथि आफ्नो प्रतिक्रिया राखुन् र पहाडको मुद्दालाई संवैधानिकरूपले सामाधान गरुन्।’

यता गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङको प्रतिक्रिया अर्कै छ। विष्टको बोलीमा अझ अन्योतला दखापरेको र खुलेर बोल्नै नसकेको भन्दै तामाङले भनेका छन्, ‘बाघजस्तो गर्जेर पहाडबाट सांसद बनेको राजु विष्ट लोकसभामा भिजेको मुसा साबित भए। गोर्खाल्याण्डको मुद्दा उनको मुखबाट निस्किएन।’

तामाङअनुसार विष्ट कुनै राजनैतिक उद्देश्य अनि स्वार्थ लिएरै जानीबुझी गोर्खाल्याण्ड शब्द उच्चारण गर्नदेखि पन्सिएका हुन्, जसले समग्र भारतभरि छरिएर बसेका गोर्खाहरूको निम्ति ठूलो प्रश्नचिह्न खड़ा गरेको छ।

‘स्थायी समाधान भनेको नै पहाडको निम्ति अलग राज्य गोर्खाल्याण्ड हो। तर सांसदलाई सोझै गोर्खाल्याण्ड भन्नु गाह्रो परिरहेको छ? किन शब्द घुमाइरहेका छन्?,’तामाङको प्रश्न छ, ‘सांसदलाई पहाडवासीको आँखामा धूलो हाल्ने काम नगरेर अलग राज्य गोर्खाल्याण्डको बील टेबलमा ल्याउने माग गर्दछु।’

उनीअनुसार, गोर्खाहरू शताब्दीदेखि भारतको विभिन्न प्रान्तहरूमा बसेर देश निर्माणमा योगदान पुऱ्याइरहेका छन्। गोर्खाहरूले स्वतन्त्रताकालदेखि नै देशको सुरक्षामा आफ्नो योगदान अनि वलिदान दिँदै आइरहेको हो। गोर्खाहरूले बारम्बार “विदेशी” को लाञ्छना सहनुपरिरहेको छ। यो लाञ्छना अनि अपमानको क्षतिपूर्ति केवल अलग राज्य गोर्खाल्याण्ड गठनले हुनेछ।

‘आज दार्जीलिगंका सांसद राजु विष्टको प्रश्नको उत्तर दिने क्रममा जनजाति मामिला मन्त्रालय मन्त्रीको तर्फबाट जुन उत्तर दिइयो त्यसले पनि गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउने दिशामा पनि हालसम्म कुनै ठोस पहल शुरू नभएको स्पष्ट भएको छ। गोर्खाहरूलाई भाजपाले एकपल्ट फेरि झूटो वाचा गरेको बुझिँदैछ,’तामाङले भनेका छन्, ‘यसैले म सासंदलाई सबै औपचारिकताहरू पूरा गरेर गोर्खाल्याण्ड , जनजातिको मुद्दा अनि एनआरसी सम्बन्धी कानुनमा गोर्खा जातिलाई प्रोटेक्टेड लिस्टमा हाल्न आगामी सत्रमा छिनाफाना गर्ने माग गर्दछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया