राजु विष्टसित बिच्किए निरज जिम्बा : गोरामुमो खेमामा हाहाकार

विज्ञापन

‘यो धाराको कारण त्रिस्तरीय पञ्चायत हुन नसकेको कुरा ठिक हो,’ जिम्बाले भनेका छन्, ‘तर पञ्चायत व्यवस्था त एउटा सहुलियत मात्रै त हो। धारा 243 (एम)ले त देशमा गोर्खाहरूको चिह्नारी सुनिश्चित गरेको छ। गोर्खा भूमिको सुरक्षा गरेको छ। यही धारा नै त गोर्खा किपटको खतियान हो, त्यो कसरी हटाउन मिल्छ? अहिले त्रिस्तरीय पञ्चायत  भन्दा ठूलो मुद्दा स्थायी राजनैतिक सामाधान हो। स्थायी राजनैतिक सामाधान भए यस्ता झिनामसिना समस्या आफै सामाधान हुन्छ। हामीले त्रिस्तरीय पञ्चायत चुनाउ मागेका होइनौं, स्थायी राजनैतिक सामाधान मागेका हौं। त्यो ऐन जिउँदो छ र नै मनरेगाको   कोष दागोपाप अन्तर्गत आइरहेको छ। यसैले यो धारा हटाउने कुरा मानिने छैन।’


कालेबुङ, 23 नोभेम्बर


निरज जिम्बा राजु विष्टसित बिच्किए। उनले  गोर्खाहरूको चिह्नारी र भूमिको सुरक्षा बिथोल्ने काम विष्टले गरिरहेको आशय व्यक्त गरेका छन्। राजु विष्टले भर्खरै केन्द्रिय ग्रामीण विकास मन्त्री नरेन्द्र तोमरलाई दागोपाप ऐनको अनुच्छेद 243 एम(3) हटाउन अनुरोध गरेका थिए। मन्त्रीले पनि अनुच्छेद हटाउन आधिकारिक बैठक बोलाउने आश्वासन दिएका छन्।

केही अघि गोरामुमो नेता मन घिसिङ राजु विष्टलाई भेट्न दिल्ली गएका थिए। फर्किएपछि मन घिसिङलगायत गोरामुमो नेताहरूले शीतकालीन सत्रले दार्जीलिङ पहाडका जनतालाई ‘सरप्राइज उपहार’ दिने वयानबाजी व्यापकरूपमा दिए। मन घिसिङ त्यही शुभखबरबारे आफ्ना समर्थकहरूलाई बताउन गाउँपस अभियानमा छन्।

यता राजु विष्टले भटाभट पहाडलाई शुभखबर दिन शुरु गरेका छन्। किन भने अब दागोपाप ऐनको अनुच्छेद 243 एम(3) हटाइने भएको छ। जुन ऐनलाई गोरामुमो समर्थकहरूले देशमा गोर्खाहरूको चिन्हारी सुनिश्चित गर्ने र भूभागलाई कानूनीरूपले सुरक्षा गर्ने ऐनकोरूपमा बुझ्छन्। अब त्यही ऐन संशोधन हुने भइसकेको छ।

विष्टले सुबास घिसिङ र गोरामुमोको उपलब्धीमाथि नै धावा बोलेपछि गोरामुमो खेमामा अहिले हाहाकार मच्चिएको छ। पहिले गोरामुमोका प्रवक्ता रहेका र अहिले भाजपाका विधायक रहेका निरज जिम्बा धरी विष्टको कदमप्रति खुशी देखिएनन्।

‘यो धाराको कारण त्रिस्तरीय पञ्चायत हुन नसकेको कुरा ठिक हो,’ जिम्बाले भनेका छन्, ‘तर पञ्चायत व्यवस्था त एउटा सहुलियत मात्रै त हो। धारा 243 (एम)ले त देशमा गोर्खाहरूको चिह्नारी सुनिश्चित गरेको छ। गोर्खा भूमिको सुरक्षा गरेको छ। यही धारा नै त गोर्खा किपटको खतियान हो, त्यो कसरी हटाउन मिल्छ?’

जिम्बाले धारा 243 (एम)लाई संविधानले गोर्खाहरूलाई दिएको एउटा स्पेसल स्टाटसकोरूपमा समेत व्याख्या गरेका छन। उनले उक्त धारालाई संसोधन गर्ने हो भने त्यो केवल अलग राज्य वा केन्द्र शासित प्रदेशले मात्र गर्न सकिने पनि जनाएका छन्।

उनले राजु विष्टलाई लक्ष्य गर्दै भनेका छन्, ‘अहिले त्रिस्तरीय पञ्चायत  भन्दा ठूलो मुद्दा स्थायी राजनैतिक सामाधान हो। स्थायी राजनैतिक सामाधान भए यस्ता झिनामसिना समस्या आफै सामाधान हुन्छ। हामीले त्रिस्तरीय पञ्चायत चुनाउ मागेका होइनौं, स्थायी राजनैतिक सामाधान मागेका हौं। त्यो ऐन जिउँदो छ र नै मनरेगाको   कोष दागोपाप अन्तर्गत आइरहेको छ। यसैले यो धारा हटाउने कुरा मानिने छैन।’

जिम्बाले त यतिसमेत भनेका छन्, यो धारा हटेमा अहिलेसम्मको आन्दोलनहरूको कुनै अर्थ नै रहने छैन। ‘जिल्ला परिषद हुनु भनेको त बङ्गालको अंश हुनु हो,’ जिम्बाले भनेका छन्, ‘हामीले बङ्गालबाट छुट्टिने कुरा गरेका हौं। यो ऐनले हाम्रो भूमिलाई संवैधानिक सुरक्षा दिएको छ। जिटिएमा यो सुरक्षा नभएकैले फ्यातुलो बनेको हो।’

राजु विष्टलाई जिम्बाले खरो शब्दमा खबरदारी पनि गरेका छन्। उनले आफूहरूको मागदाबी विकासको लागि नभएर स्थायी राजनैतिक सामाधानको लागि रहेको खुलस्त पारेका छन्।

‘विकास नै गर्नु हो भने बङ्गालपन्थी भएर गरिहालिन्थ्यो नि,’ जिम्बा कड्किएका छन्, ‘हामीले सांसद राजु विष्टलाई स्थायी राजनैतिक सामाधान गर्ने जिम्मेवारी सुम्पिएका हौं। यसलाई सांसदले गम्भीरतासित लिनुपऱ्यो। बुझेर कदम चालुन्।’

राजु विष्टले शीतकालीन सत्रबाट शुभ खबर दिन्छ भनेर पर्खिएका गोरामुमो समर्थकहरूको दाँतमा ढुङ्गा त्यतिबेला लाग्यो जब राजु विष्टले स्थायी राजनैतिक सामाधानको साटो पहाडको विकासको चिन्ता गर्दै त्रिस्तरीय पञ्यतको कुरा उठाए। विष्ट मूलमुद्दाबाट पहाडको ध्यान भङ्ग गर्न घरि दार्जीलिङ मोडको जामको मुद्दा उठाइरहेका छन्, घरि पञ्चायतको। जब कि उनले यसपल्ट उठाउनुपर्ने मुद्दा 11 जातलाई जनजातिको मर्यादा दिने र स्थायी राजनैतिक सामाधानको बील पारित गर्नु हो।

यति भइसक्दा पनि भाजपा समर्थित पार्टीहरूले भने मौनता साँधेका छन्। त्यो मौनतापछिल्तिर कस्ता वाध्यताहरू लुकेका छन्, कसैलाई थाहा छैन।  जिम्बाले विष्टको विरोध त गरे तर जिम्बा आफै पनि भाजपाका विधायक हुन्। आफ्नो पार्टीको सांसदले कुन कुन कुरा उठाउनुपर्ने हो, त्यसबारे पार्टीभित्रबाट नै विरोधाभाषपूर्ण मन्तव्यहरू आउनुले राजुको बाटो एकातिर जिम्बाको बाटो एकातिर रहेको खुलाएको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया