
युवा संवाद
आरती ठकुरी नयाँ पुस्ताका कवि हुन्। भर्खरै उनको पहिलो कविता सह्ग्रह नि:शब्द उत्तर बजारमा आइसकेको छ। उनको कविता यात्रा, कविता विचार र कविता सङ्ग्रहकै वरिपरि रहेर उनीसित संवाद गरेका छौं। उनका विचार र कविता दुवै यहाँ प्रस्तुत गरेका छौं।
विशाल नाल्बो
तपाईँ त कवि बनिसक्नुभएको छ। एक हिसाबले भन्नुपर्दा तपाईं त अब समाजको मान्छे भइसक्नुभयो। कवि भइसकेपछि समाजप्रतिको जिम्मेवारी के के हुँदो रहेछ?
हामी सामाजिक प्राणी हौँ भन्ने उहिलेदेखि पढ़्दै अनि सुन्दै आइरहेका छौँ। समाजका सबै मानिसहरू नै स्पेशल हुन्छन्। यो नकार्न नसकिने सत्य पनि हो। कविमात्र होइन एक साधारण मानिसको पनि उत्तिकै दायित्व हुन्छ असल समाज निर्माणका निम्ति। त्यसैले कवि, कथाकार, उपन्यासकारहरूकै मात्र सबभन्दा ज्यादा जिम्मेवारी हुनुपर्छ भन्ने मलाई लाग्दैन। समाजका सबै मानिसहरूको बराबर जिम्मेवारी हुन्छ।
भर्खरमात्र तपाईंले ‘नि:शब्द उत्तर’ नामक कविता सङ्ग्रह बजारमा ल्याउनुभएको छ। तपाईंले किन कविता सङ्ग्रहको नाम नि:शब्द उत्तर नै राख्नुभएको? पाठक अन्योलमा पर्छजस्तो लाग्दैन तपाईंको कविता सङ्ग्रहको नामलाई लिएर?
पुस्तकको नाम ‘नि:शब्द उत्तर’ खासै सोचेर चाहिँ राखेकी होइन। कविता सङ्ग्रहभित्र एउटा कविताको शीर्षक ‘नि:शब्द उत्तर’ छ, त्यहीँबाट राखेकी हुँ।
रह्यो पाठक अन्योलमा पर्ने कुरा!
सचेत पाठक निश्चय पनि अन्योलमा पर्ने छैनन्।
अघिल्लो पुस्ताले लेखेको जम्मै साहित्य ठीक हुन्छ भन्ने हुँदैन। यसकारण उनीहरूलाई प्रश्न गर्नु जरूरी छ। तर नयाँ पुस्ताले प्रश्न गर्ने कल्चरको निर्माण गर्नु सकिरहेको छैन। यस मानेमा तपाईंको पुस्ता अलिक डराइराखेको हो अघिल्लो पुस्तालाई प्रश्न गर्न?
कुनै पनि विषयलाई हेर्ने दृष्टिकोण सबै मानिसहरूका एकै हुँदैनन्। त्यसैले अघिल्ला पुस्ता होस् या वर्तमान पुस्ता साहित्य ठीक छैन भन्न मिल्दैन, मेरो विचारमा। हामीलाई ठीक नलागेको कुरा अरूलाई ठीक लाग्नसक्छ। त्यसैले एक पक्षबाट मात्र नहेरेर थुप्रै पक्षबाट हेर्ने हो भने सकारात्मक सोचको बिरूवा फस्टाउन हामी सफल हुनेछौँ। अघिल्ला पुस्तालाई प्रश्न गर्नुभन्दा, हाम्रो पुस्ता कहाँसम्म पुग्दैछ अनि हामीले के आविष्कार गर्नसक्छौँ, यसतर्फ बढ़ी ध्यान दिए असल हुनेछ। अर्को कुरा अघिल्लो पुस्ताका लेखन ग्रहण गर्ने क्षमता हामीले हामीभित्र निर्माण गर्नसक्नुपर्छ।
तपाईंले कविता लेख्नैपर्छ भन्ने जरूरी किन ठान्नुभयो?
कविता लेख्नैपर्छ भन्ने जरूरी ठानेर लेखेकी चाहिँ होइन।
कुनै पनि कविता लेखिएका विषयहरूले साँच्चै नै समाज परिवर्तन गर्नसक्छ त? कवितामा भनिएका विषयहरू के हामीले व्यवहारमा उतार्न सकिरहेका छौँ र? यो पनि एउटा गम्भीर विषय भएर गएको जस्तो लाग्छ मलाई।
तपाईंले तपाईंको कविता सङ्ग्रहमा दुईचारवटा प्रेम कवितालाई पनि समावेश गर्नुभएको छ। तपाईं त एक कवि सर्जक हुनुहुन्छ। एक कवि सर्जकले प्रेमलाई कसरी अनुभूति गर्दोरहेछ?
प्रत्येक मानिसको मनमा प्रेमको फूल फुल्नु स्वाभाविक/प्राकृतिक हो। प्रेमको शायद परिधि हुँदैन नै। जात, धर्म, संस्कृति, रङ्ग, रूप, गण्य-नगण्य छुट्ट्याउने यसमा सामर्थ्य नै हुँदैन। प्रेम स्वतः हुने प्राकृतिक स्वभाव हो चाहे त्यो प्रेम परिवार, पशुप्राणी, झारपात या प्रेमीप्रेमिकालाई गर्ने किन नहोस्। तर प्रेम निश्छल हुनु आवश्यक छ। त्यसैले एक कविमा मात्र नभएर सम्पूर्ण प्राणीमा यसको दखल त छँदैछ।
आख्यानको हिसाबमा कविताको पाठक छैन भन्छ नि बजारले। तपाईंचाहिँ के भन्नुहुन्छ?
मचाहिँ आख्यान साथसाथै कविता समान रूपमा पढ़्ने गर्छु। अहिलेसम्म मैले भेटेका जति पनि साहित्यानुरागीहरू छन् उनीहरूबाट पनि दुवै विधामा समान अध्यययनको चर्चा सुनिरहेकोले यस विषयमा कुनमा बेसी कुनमा कम्ती भन्ने अहिलेसम्म चाहिँ मलाई त्यस्तो केही लागेको छैन।
कविता सङ्ग्रह निकालिसकेपछि पाठक प्रतिक्रिया के कस्तो पाइरहनुभएको छ?
कुनै पनि लेखकले आफ्नो रचना निकालिसकेपछि त्यसले उचित पाठक पाओस् साथै त्यस रचनाद्वारा समाजमा सकारात्मक परिवर्तन आओस् भन्ने नै चाहना राखेको हुन्छ। मेरो रचनाले समाजलाई कतिसम्म टेवा पुऱ्याउनसक्छ त्यो त म भन्न सक्दिनँ तरै पनि अहिलेसम्म राम्रै प्रतिक्रिया पाइरहेकी छु।
आरती ठकुरीका तीन कविता
उन्यू
उसको जीवनसँगको द्वन्द्व
अनि समकालीन
वरपरका सुगन्धहरूसँगको द्वन्द्वमा होमिएको
उसको मन
हावाको छातीसँग ठोक्किँदै
मातृत्व अङ्कुरित भएर
सन्तानको परिकल्पनामा रमाउँछ।
आफू बञ्जर हुनु
र आफू उभिएको मलिलो माटोसितको द्वन्द्वमा
न हार्न सक्छ ऊ
न जित्न नै।
उसको मनसँग
किन रमाउँदैनन् पुतलीहरू?
बास्नाका वासनामा
किन लालायित हुँदैनन् मौरीहरू?
किन चाहँदैनन् सम्भोग भमराहरू?
रहरको सिँढ़ीमा चढ़ेर
मसिना दाने फूलहरू
स्वयंवर मालाको अभिनय गरिरहन्छन्
मक्किएको धागोमा।
जसरी पक्षीहरूको स्पर्शमा
गुराँस रङ्गिछ
चाँप सजिन्छ
द्वारेफूल लजाउँछ
उसरी नै न्याय पाउन
खै कहाँ सक्यो र उसको उमेरले?
हाँगाको काँधमा बस्ने सुनाखरीले
मन पराउँदैन उसको अँगालो।
दूधिलो रूखजति न्यानो छैन
उसको कोख।
उसको बैँसको हत्या भएको छ।
हत्यारा अनि पीड़ित पक्षका
दुई जब्बरे वकीलबीच
अल्झेको छ न्यायाधीश
डी॰ एन॰ ए॰।
दशैँ
हिलैहिलो समय फेरेपछि
किनेको छ दशैँले
शरद्को घामसँग एउटा न्यानो लुगा।
झ्याउँकिरीको किरकिरले
मालश्री गाउन थालेको छ।
जमरामा ठाड़ाठाड़ा उभिएका जौँहरू
कानमा सिउरिएपछि
रातो चामलसँग निधार हाँस्छ।
निहुरिन्छ ढाकाटोपी सुहाउने शिर
आशीर्वादको पाउमा।
छुट्टिएका, टाढ़िएका
मनको साइनो बाँध्ने तारहरू
सेलरोटीझैँ बाँधिन्छन्।
सम्बन्धलाई सम्मान दिने
दौरासुरूवाल र फरियाचोलीले
फुर्तिला सिसारलाई
काँसाको थालमाथि
जतनसँग राख्छन्।
आमाको नाकको
झुम्के बुलाकी उफ्रेझैँ
गगनचुम्बी खुशी छुन
ससाना खुशीहरू उफ्रिरहेका छन्
लिङ्गेपिङको काखमा बस्नलाई।
हर्ष र आरामको स्वाद चाख्नलाई
जिब्रो र दाँतका धारहरू
तीखा भएका छन्।
मादलको धुनजस्तो
मनप्रिय हुँदैनन्
बारूदका आवाज
मारूनीको तालसँग मिल्दैन
सिमानाका खुट्टाको चाल।
असत्यलाई जितेर
सत्यको अछेता बोकेर आएको छ दशैँ।
दीयो, कलश र धूप
स्वागत गर्न अत्तालिरहेका छन्।
टपरी र दक्षिणाको
भुइँमा खुट्टा छैन।
दशैँ आएको छ।
समय र गति
म भन्छु
तिमी उड़्दै जानू
अनि च्याप्प समाउनू
त्यसको नाड़ी
तब पो थाहा हुन्छ
त्यो लाश हो या श्वास।
पिरती नि उस्तै हो कान्छा!
मन उड़्दै जानु गन्तव्यहीन गन्तव्य
अनि सुटुक्क पस्नु
उसको कोठे मनमा
तब पो थाहा हुन्छ
त्यो आश हो वा विनाश जिन्दगीको।
लिपस्टिक लाउने ओठलाई पो
थाहा हुन्छ त कान्छा!
झोलै-झोल भएको अनि
चम्चाबाट चिप्लिरहने
थुक्पाको नौटङ्की।
पानी नपर्दा छाता ओढ़्न पाउनु
र पानी पर्दा ओढ़्न नपाउनु
अनि लङ्गड़ो घोड़ाले
भारी बोक्नु वा बोकाउनु
उस्ताउस्तै हो कान्छा!
जस्तो कि
पिरतीमा लङ्गड़ो ऊ
न कसैको हातमा रम्छ
न कसैको साथमा।
कान्छा!
आजकल
पिरती नाकाबन्दीमा छ।
मन भोक हड़तालमा छ।
जिन्दगी सरकारको हातमा छ।
यतिखेर भने
ठूलो झरी परिरहेको छ।
देशको छाताको करङ भाँचिएको छ।
असिना बिलिरहेको छ।
कान्छा!
रात धेर गयो
सुत ल।