अँध्यारोको अनुहार

विज्ञापन

कथा

उज्यालोले देखाउन नसकेका पाटा अँध्यारो देखाउँछ। अँध्यारोको रङ थाहा छ तपाईलाई ?? जीवनमा जत्ति अँध्यारो पाटाहरू आउँदै जान्छन्। जीवनबाट मान्छेहरू घट्दै जान्छन्। उज्यालोले देखाउन नसकेको पाटा अँध्यारोले नै देखाउँछ। अँध्यारोले देखाएको अनुहार भयानक हुन्छ। जे होस्, बाबा जाति हुनु भो। यति सिकियो। अँध्यारोमा हात समाएर हिँड्न पर्ने रहेछ, जसरी म आमासँग हिँडे, जसरी भाई बाबासँग। कमजोरलाई अँध्यारोले नै बलियो गरी उभिनु  सिकाउँछ। जुन उज्यालोले सिकाउँदैन।


स्मिता सोताङ


आजसम्म पनि रातसँग बात बन्दैन मेरो। दिन सकिए पछि आउँने रात, नआएकै ठिक लाग्छ मलाई।

त्यो रात भैलेनीहरू भैलो गाइरहेका थिए। डाँडा गाउँपट्टि कुकुरहरू भुकिरहेको थियो।

हाम्रो घरमा, घरकै सबै भन्दा भरपर्दो बाबा ओछ्यान लाग्नु भएको धेरै भएको थियो। एक सप्ताह बितिसकेको थियो। बिमारलाई बाबाले सहेको हो या त हामीले बाबालाई सहेको होजस्तो स्थिति थियो। आईइ्या, आत्थासँगै बाबा त्यतिकै लडिरहनु भएको  थियो।

तिहारको रात कसको घर पो उज्यालो हुँदैन र हगि?

गाउँका सबै घरहरू, धरतीमा बिसाएका चन्द्रमा जत्तिकै उज्याला र चम्किला थिए। बस्, हाम्रो घरमा मात्र औँसी थियो, त्यसैले अँध्यारो थियो।

हाम्रो घर, घरजस्तो थिएन। हो साँच्चै, घरजस्तो पटक्कै थिएन। तर, हामीले घरनै भनि रह्यौ, त्यो घर होइनजस्तो घरलाई। वरिपरि खिर्कीहरूमा टिन, कतिमा बाकल र कत्तिमा टुक्रे प्लास्टिक ठोकेका। नयाँ मान्छे भित्र स्वाट्ट पस्दा अत्तालिन्थे, कुनै गुफा जस्तो अन्धकार रिमोलिन्थ्यो भित्र।

गरम महिनामा हाम्रो घर मरूभूमि बन्थ्यो। हावा छिर्ने एउटा दुलो पनि थिएन। सास फेर्न एकदमै गाह्रो। त्यसैले त मैले देशलाई मेरै घर भित्र देखेकी थिएँ।

गाह्रोसँग पनि बानी बसालिसके पछि सजिलै हुँदो हो। हामीलाई अफ्ट्यारो नै सजिलो लाग्न थालिसकेको थियो।

त्यही अँध्यारो कोठामा, अझ औँसीले थपिदिएको अन्धकारमा बाबा अँध्यारो अनुहार लिएर लडिरहनु भएको थियो।

त्यसताक म तेह्र वर्षकी थिएँ। भाई नौ वर्षको थियो। भनौ केटाकेटी नै थियौं। केटाकेटीलाई त दशैं, औँसीमा कत्ति मज्जा आउँछ नि है ? त्यो वर्ष हामीलाई मज्जा नै आएन।

हामीलाई मज्जाले हसाउँने,मज्जाले गीत गाएर सुनाउनुहुने बाबा नै बिरामी परेका थिए। बाबाको बेस्सरी टाउको दुख्थ्यो। नशा फुलिएको हुन्थ्यो। के भएको हो, डाक्टरलाई मात्र थाहा थियो। तर डाक्टरसम्म पुग्ने आँट हामीमा थिएन। पीडामा छट्पटाई रहेको बाबालाई हेर्ने साहस पनि थिएन हामीमा। त्यस रात झन साह्रो पारिरहेको थियो। म, आमा, भाई बाहिर उभेर सुनिरहन्थ्यौ, सुनिरहनु बाहेक हामीसँग केही विकल्प थिएन।

घरि-घरि आमा भन्नुहुन्थ्यो, ‘कहिले बिहान हुने हौ?’

तर थाहा थियो आमालाई, बिहानमा पनि हाम्रो लागि उज्यालो खस्दैन भन्ने कुरा। तर, आशाले सधैँ उज्यालो नै बोकेको हुन्छ।

निकै रात बितिसकेको थियो। भाई सानोमा एकदमै सानो, अहिले एत्रो हुन्छ भनेर कसैले पनि नसोचेको।

आमा सानो अनुहार बनाएर घरि मलाई, घरि भाईलाई हेरिरहन्थिन्। आमालाई लोग्ने गुमाउँछु भन्ने कत्रो डर लागेथ्यो होला त्यसबेला। आज यो आईमाईको ह्रदयले महसुस गरिरहेकी छु।

दिनमा सारा छिमेकी बाबालाई हेर्न आउँथे। सान्तवना, संवेदना दिएर जान्थे। आजसम्म पनि मलाई सान्तवना,र संवेदनाहरूसँग लछेप्रै घृणा छ। मान्छेलाई त आँट हौसला  चाँहिएको हुँदोरहेछ। सान्तवना दिन सक्नेहरूले सहारा चैं किन दिन नसकेको ?

अझै पनि प्रश्न छ मसँग। सानो सानो औंलाले बाबाको टाउको मुसारी  रहेको भाईलाई देखें। भाईलाई कत्रो विश्वास ? त्यसको हातले छोएपछि बाबालाई एकक्षण सञ्चो हुन्छ भन्ने कुरा। म मा आँट आयो। त्यसपछि मैले आमालाई भनें, ‘यत्रो आफन्तहरूमा कसै न कसैले त दिन्छ होला नि पैसा मागुम् न।’

आमाले नियास्रो अनुहार लाएर भनिन्, ‘चाढ हो नानी, उनेरलाई पनि कत्ति साह्रो छ। कसकोमा होला र पैसा?’

अझै पनि याद छ मलाई। सायद, आमाले भुलिन् होली, भाईले भुल्यो होला। अँध्यारो कुनाबाट भाई बोलेको।

‘म बाबा सँग बस्छु। तपाईंहरू जानु,’ त्यसले जिद्दी गऱ्यो।

बाबालाई दुख्दा त्यसलाई पनि पक्कै दुखेको थियो। मलाई दुखेको थियो। आमालाई दुखेको थियो।

सायद, आमालाई आँट आयो। बाकस माथिको शल ओडिन्। म आमाको पछिपछि लागें। अँध्यारोमा बाटो बिचबिच घरहरूमा मैनबत्ती र दीयो बलेको। संसार नै अँध्यारो भएपछि केही केही केही उज्यालो नलाग्दो रहेछ।

बाटो अहिले जस्तो सजिलो थिएन। तर अफ्ट्यारो पनि थिएन। मैले अघि भनि हाले नि? बानी बसालेपछि सबै सजिलै हुदो हो।

आमाले आँट गरेर,दैलो ढकढकाइन्। भित्र टिभी हेरिरहेकी बढी अलि दिक्क मान्दै बोलिन्, ‘को हौ??? यति बेला ??’

‘नाना, मलाई तीन हजार दिनु नि’,  मलाई देखाएर आमाले बिस्तारै भनिन्, ‘यसको बाबा बिमार भएर हेर्नु नि हौ। भोली सिल्गुडी शिवमन्दिर सम्म पुऱ्याउनु पर्ने।  एक हफ्तामा फर्काइहाल्छु, नाना।’

आमालाई बढो भरोषा थियो। भरोषा त आफ्नै मान्छेसँग त गरिन्छ होइन र ?

तर बढी, हामी भन्दा दु:खी भइन्।

‘हेर न छैन नि। थियो। चलाई हालें। बरू माथि दाज्युकोतिर छ होला  माग्नु नि ल,’ बढीले नबिसाई  भनिन्।

भाई र म जस्तो जिद्दि थिइनन् आमा। आमाले हाँसेरै ‘हुन्छ’ भनिन्। आमाको यै बानीसँग त म मख्ख पर्छु । त्यही हाँस्दा चैं आमालाई बेस्सरी दुखेको थिएछ। कोही कोही बेला, सबै थोकलाई लुकाउने हिसाबले हाँस्न खोज्दा मलाई थाहा हुन्छ। दु:ख लुकाउनु साह्रो कुरा हो। त्योभन्दा साह्रो त दु:ख लुकाउने हिसाबले हाँस्नु हो।

हामी आँगनमा निस्कियौं।

अब कता जाने त ??

अब भने हामी दुई अन्योलमा थियौं।कसको ढोका ढकढकाउने ??

हामी सडक छेउ निस्कन आँटेका मात्र के थियौं, भित्रबाट बढी कराइन्, ‘सुन त बहिनी, एकक्षण, यो दुई हजार रै’छ, सोकेस किन्नु पठाको थियो कि छोरीले। तर, सक्यो भने अलिक छिटै फर्काउनु नि ल…’

आमाले मज्जाले मुठी बनाइन्।

त्यस बेला, मलाई पैसा सब थोक लागेको हो। पैसाभन्दा माथि मान्छे हुन सक्दैन र?? यो प्रश्न पनि उठेको हो।

जब फर्केर पैसा हातमा लगाइदिइन् बढीले। दिउँसोका सान्तवनाहरू भन्दा पनि गह्रौं थियो त्यो क्षण। त्यसैले त म टुक्रिएँ। र रोँए। मान्छेलाई सान्तवनाले कत्ति खोक्रो बनाउँदो रहेछ।

फर्की आएर, पैसा नदिएर, बरू आँट दिएको भए हुन्थ्यो बढीले। त्यसबेला मेरो मनले बोलिरहेथ्यो।

फर्किँदा पनि म आमाको पछिपछि थिएँ। पर पर कुकुर भुकिनैरहेको थियो। त्यो रात हाम सँग तारा थिएनन्, जून थिएन। त्यो रात, म आमासँग थिएँ। बाबासँग भाई थियो।

उज्यालोले देखाउन नसकेका पाटा अँध्यारो देखाउँछ।

अँध्यारोको रङ थाहा छ तपाईलाई ??

जीवनमा जत्ति अँध्यारो पाटाहरू आउँदै जान्छन्। जीवनबाट मान्छेहरू घट्दै जान्छन्। उज्यालोले देखाउन नसकेको पाटा अँध्यारोले नै देखाउँछ। अँध्यारोले देखाएको अनुहार भयानक हुन्छ।

जे होस्, बाबा जाति हुनु भो। यति सिकियो। अँध्यारोमा हात समाएर हिँड्न पर्ने रहेछ, जसरी म आमासँग हिँडे, जसरी भाई बाबासँग।

कमजोरलाई अँध्यारोले नै बलियो गरी उभिनु  सिकाउँछ। जुन उज्यालोले सिकाउँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया