
रामनुरा
ईश्वरको प्राथनामा बन्द राखिएका हातहरू
जब खुला छोडिन्छन् अल्लाहको इबादातमा
त्यहीबेला प्रेम कैद हुँदोरहेछ।
स्वतन्त्र लाग्ने प्रेम त फगत अक्षर र नामहरू मै कैद रहेछ!
जस्तो कि तिम्रो नाम सीता भइदिएको भए
वा मेरो नाम रसूल
हामी एकअर्काका हुन्थ्यौं होला!
जस्तो कि तिम्रा मौलावीहरुको अल्लाहको नाम
मेरा पण्डितहरुको लागि शङ्कर नभइदिएको भए पनि
हामी एकअर्काका हुन्थ्यौं होला।
किन मैले नमाज पढ्न पाउँदिन?
किन तिमीले पूजा गर्न पाउँदिनौ?
किन मन्दिर र मस्जिदको बिचको दुरीमा
लापता हुनुपर्छ “वसुधैव कुटुम्बकम”?
मज़हबको गुलामी तोड्न प्रेमील कर्कस आवाज हो रामनुरा
सिकाउनुछ, प्रेमको भक्तिभाव
हिटलरको कन्सनट्रेसन क्याम्पमा हामीलाई कैद गर्न खोज्ने धर्मात्माहरुलाई
बुझाउनुछ, १ र १ जोड्दा १ नै हुनेछ हाम्रो आत्माको मिलन हुँदा
बसाल्नुछ, काफिरहरुबाटै एक सहर रूह खुदा, प्रेम इबादत भएको।
रङ्गाउनुछ, मन्दिर/मस्जिदका भित्ताहरु, क्रमश: हरियो/रातो रङ।
र लेखिदिनुछ इतिहासका पानाहरुमा
नुरा कुनै साजिद, जुबेर वा मुहम्मद कि होइन, नितान्त राम कै हो
अनि राम, उसकै नुराको।
गुञ्जिरहनेछ, यो आवाज
सबै रामनुराहरुको सामुहिक विद्रोहको विगुल बनेर
र घन्किरहानेछ मृत्यु पछिको एकोहोरो शंखनाद जस्तै
धार्मिक पिञ्जडाको मृत्युको उपमा बनेर।
तिमी पवित्र हुन गएथ्यौ गङ्गास्नानमा
म पनि त भोकै बसेथे रमजानमा।
किन हामी मारिएनौं, कलिला पखेटा मात्रै काटिए,
न उड्नै दिइयो एकै आसमानमा, न दफन नै भयौ एकै मसानमा।
अरे कुन आयात वा श्लोकमा लेखिएको थियो
“तिमी मेरो पत्नी हुन पाउदिनौं, म तिम्रो पतिपरमेश्वर?”
हिन्दू-मुसलमान एक हुनु मन्जुर-ए-खुदा नै थिएन भने
किन बच्छ ज्यान एकअर्काको रक्तदानमा?
कास, कास, कास चिच्याइदिन्थे यो कुरा
गीताका श्लोकहरु, कुरानका आयातहरु पानाबाट बाहिर निस्केर
मन्दिरको घन्टी र मस्जिदको अजानसँगै
पण्डित र मौलवीहरुका कानमा।
नुरा
हामी आफैले अब लड्नु नै छ प्रेमको यो धर्मयुद्ध!
म पशुपति जानेछु र फर्कनेछु महादेवलाई नमाज बुझाएर।
तिमी जामे मस्जिदमा पढिदेउन अल्लाहको लागि गीताको कुनै श्लोक।
ओढाइदिउँ दर्गाहमा रातो सल र कृष्ण मुर्तिमा हरियो चद्दर
थाल्नसक्छ भेटिन अल्लाहको पनि मुर्तिपत्थर
र हिन्दूहरु पुज्दै आफ्नो पूर्खाको खण्डहर
मौलवी र पण्डितलाई हुनेछ एकअर्काको कदर
बाँडिनेछ मन्दिरमा तबर्रुक अनि मस्जिदमा प्रसाद।
र भेटिनेछन् रामहरू आफ्नो नुराको बुर्काभित्र माथामा कुमकुम भर्दै
चिच्याइरहेका तीन पटक ‘कूबुल है’!
यो सबै हुँदा पनि किन लड्नुपर्छ वेद र कुरान?
हामीलेसँगै पढेको वेद र कुरान, दुवैमा एउटै कुरो त छ
“भगवान सिर्फ एक छन।”
“एकमेवाक्षरम ब्रह्म
ला इलाहा इल्लल्लाह मुहम्मादुर रसूलल्लाह”
नुरा
मैले बुझेको एक खुदा
र तिमीले बुझेको एक भगवान
त्यो एउटै ऊर्जा त हो
जो उत्पन्न हुन्छ
हामी जस्तै एकअर्काको ताकुबमा रहेका रमनुराहरुको मिलनमा।
हिन्दु-मुसलमान भन्नु फरक भाषा मात्र हो-
फागत ईश्वर पुज्ने/खुदा पुज्ने।
आखिर मोहब्बतभन्दा ठुलो प्राथना नै के हुन्थ्यो र?
जाऊ हिँडन नुरा
सात हजार समुद्र पारी
अवस्थित छ अरे एक मैदान
जहाँ हिन्दु मुसल्मान भन्ने छैन अरे
छैन अरे मेनुकाले ईसालाई मन पराउन रोक।
त्यहा सीता मोहम्मद कि हुन पाउँछे
घनश्यामहरु रदिफाका लागि दिल दिँदैछन्।
सुलेमान कृष्णको बाँसुरी बजाउँदै छ
जुन धुनमा मुग्ध छे हिजाब लगाएकी मिरा।
त्यहाँ सँगै लेखौंला अयोध्या र मक्काको बात
मदिरको आरती र मस्जिदको आजान एकै साथ
उर्दुमा गीता अनि संस्कृतमा कुरान अनुवाद
नुरा तिमी राम कि हौ
नुरा तिमी राम कि हौ
नुरा तिमी राम कि हौ
पानी माग्छस् साले
जब जब मुहानमा कुकुरले विष्ट्याउँछ
अस्पताल जानुपर्छ रामु सार्कीले
जसले छुन पनि पाएको छैन धाराको पानी।
पानीको हाहाकारमा
आफूलाई पानी पुगोस् भनेर
सुरु गरेको छ काजीले फेरि अछुत प्रथा।
आगो निभाउने पानीले पोल्नथालेको छ सार्कीका औंलालाई!
पानीमा हेर्दा अचेल देखिन्छ आवारण आफ्नै भविष्यको
जुन दृश्य छ कालो र अँध्यारो
सायद अँध्यारा छालहरू लोडशेडिङ इशारा गरिरहेछन्।
सायद छालहरुले बोकेको ढल
सिङ्गो सभ्यताको केवल पाइतला मात्रैको मैल हो।
के होला त्यसदिन जब पानी पुग्नेछ सभ्यताको कट्टुसम्म
जसरी सभ्यताले बाँध बाँधेर मैलो गरिरहेछ पानीको स्रोत
निश्चित छ, पानीले बगाउनु, डुबाउनु र रुवाउनु।
अहिले त पानीमै बिलाइजान्छन् पानीका आँशुधारा।
सच्याइएको छ पाठ्यक्रम
किनकी अचेल पानीको आफ्नै रङ र बास्ना छ!
बालकहरू सोधिरहन्छन्
हामीले पढ्ने एफ फर फिश माने माछा कस्तो हुन्छ?
जमिनहरुमा चिरा परेको छ, मान्छेको मन जस्तै।
पिपलहरुले हारेका छन् पथ्थर फोर्ने सामर्थ्य।
धानका बालीमा चामल छैन
जस्तो कि राष्ट्र छ तर राष्ट्रियता नै छैन
जस्तो कि पानी छ र पनि प्यास मेटिएको छैन।
यो सब हेरेर आकाश खुब गिज्याउँछ, गिज्याइरहन्छ।
धर्तीलाई जिस्काउँदा जिस्काउँदै आकाशले रुन बिर्सिएको छ।
अचेल धर्ती र आकाशले भेट्न छोडेका छन्।
मन हुँदैन झरनाहरूलाई पनि
पहाडको बुँई चडेर हाम फाल्न।
सागरहरुले पर्खिँदैनन् नदीलाई।
कुनै दिन आकाश रिसाउँछ
प्रदूषणको बाहानामा गरिदिन्छ एसिड अट्याक!
विरोध गरिरहेछ पहाड धेरै पहिलेबाट
ठिङ्ग उभिएर निर्वस्त्र।
हिमालको अनुहार कालो भएको छ।
बाजेहरुले भनिरहन्छन् पानी जोगाउन,
“नाती हाम्रा पालामा नदीहरू सफा हुन्थे
पानी पर्थ्यो, प्रेम बर्सिन्थ्यो।
तेरो हजुरआमासित पिरती लाएको यही फेवातालको झरीमा हो।
माछापुच्छ्रेले पनि आँखा झिम्क्याएको थियो हामीलाई।
पानी पवित्र थ्यो नाती, पवित्र।
सुन्दर थ्यो नाती, सुन्दर।”
यति खेर, एउटा कविले
आफ्नै पिसाब जम्मा गरी गरी
फिल्टर गरेको छ एकबोतल शुद्ध पानी!
जुन हेर्दै लेख्नु छ पानीको शुद्धता र महिमा झल्किने कविता,
पिसाबको पनि माया लाग्न थालेको छ उसलाई।
त्यतिखेरै एक सार्की आएर उसँग पानी माग्छ!
कवि चिच्याउँछ,
“पानी माग्छस साले!”
सीताकी छोरी
२० वर्ष भइसकेछ छोरी
तिमीलाई पिठ्यूँमा बोकी हिँडिरहेको
नियतिले फिजाएको सिउँडीका काँडाहरुमा!
कतै रातो सुन्दा नम्सिम्झिनु गुलाफ मात्रै
सम्झिदिनु तिमीलाई बोकेर हिँडिआएका बाटाहरू पनि
सम्झिदिनु हाम्रो नारीत्व जसले सृष्टि चलाएको छ!
पीडाहरू पेडा जत्तिकै मिठो मानेकी हुँ
यही सम्झेर मात्रै
वर्तमानमा राता भइरहेका बाटाहरू
अतीत तिर फर्किँदा, जिन्दगी रङ्गीन पार्नेछन्।
मलाई पनि खुब मनपर्थ्यो गुलाफ।
तर जब तिमीलाई काँडा बिझाउने खतरा भयो
मैले नाता तोडेकी हुँ, गुलाफसँग।
बनाएकी हुँ, माटो जस्तो हृदय पत्थर!
जसमा उम्रिनुपर्छ तिमी एक पिपल जसरी।
जिन्दगीमा अँध्यारो मात्रै बाँकी हुँदा
म जूनकीरी बने!
भन्नेहरू भन्थे-
रातमा जुनकिरीलाई पनि लाग्दो हो बिहान उसैले ल्याउँछ!
रातलाई बिहान बनाउँछु, सोचेकी पनि होइन,
अँध्यारोमा बाटो नबिराउनु भनेर मात्रै म जूनकीरी बनेकी हुँ!
रात जति नै लामो होस्, बिहान हुने नै छ।
तिमीले लेख्नैपर्छ क्रमश: आशा, पसिना र हाँसो।
लेख्दै गर्दा जिन्दगीमा समृद्धि
भेटिनसक्छन् भमराहरु, तिमी बन्न सक्नु सुनगाभा!
म भन्दिन प्रेम गर्दै नगर्नु
बस् मात्रै चाहँदिन
कसैलाई गरेको असीमित प्रेम
तिमी उड्न आवश्यक हुँदा पिञ्जडा बनोस्
सबैभन्दा बढी प्रेम आफैलाई गर्नु छोरी!
छोरी,
तिम्रो लागि यो बुढो ढाँड
अझै पनि बोकिरहेकै हो जिम्मेवारी
तर आफ्नो लागि तिमी अब आफै उभिनुपर्छ। उभिनसक्नुपर्छ।
प्रेम उसैसित गर्नु जसले बुझोस् रातो नारित्वको महिमा!
जसले कहिल्यै नबनाओस्
माथाको कुमकुम, निधार फुटेको घाउ!
समृद्धि भेटिँदै गर्दा घर कतै पर छुट्छ भने पनि नरोकिनु तिमी
नभइदिउँ तिम्रा खुट्टाका हत्कडीहरु, म पनि।
बस नअल्झिनु कहिल्यै कुनै लक्ष्मण रेखामा
र नपर्खिनु कुनै राम लङ्कामा
जसले फेरि जलाओस्
आफू भगवान बन्न तिमीलाई नै शङ्कामा!
काठमाडौं, नेपाल