मोदीको उदय : त्रासदीको सन्देश

नयाँपत्रिकाबाट साभार

देशको पूर्वोत्तर राज्य आसाममा २० लाख मानिस, जो भारतको अंग बन्न चाहन्छन्, उनीहरू आफ्नो नाम राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)मा समावेश नभएको देखेर गैरनागरिक भइने हो कि भन्ने खतराको सामना गरिरहेका छन् । सरकारले एनआरसीलाई समग्र देशमा लागू गर्ने आफ्नो मनसाय प्रस्ट पारिसकेको छ । यसले अभूतपूर्व रूपमा मानिसलाई गैरनागरिक बनाउनेछ ।


अरुन्धति रोय


आज जतिवेला, चिली, कैटेलोनिया, ब्रिटेन, फ्रान्स, इराक, लेबनान र हङकङका सडकमा प्रदर्शनको आवाज गुन्जिँदै छ र नयाँ पुस्ता पृथ्वीमाथि गरिएको ज्यादतीका कारण आवेशमा छ, यसैबीच तपाईंहरूलाई एउटा यस्तो ठाउँको कथा भन्छु, त्यसअघि म माफी चाहन्छु । जहाँका सडकहरूमा अरू नै केही घटित हुँदै छ । आज जतिवेला पृथ्वीको पश्चिमी कुनो प्रदर्शनकारीको कदमतालले थर्थराउँदै छ, हाम्रोतिर सामाजिक एवं पर्यावरणीय न्यायका लागि, पुँजीवाद र साम्राज्यवादविरोधी महान् आन्दोलनका लागि, ठूला–ठूला बाँध, निजीकरण र खोलानाला अथवा वन–जंगलको लुटका खिलाफ, ठूलो स्तरको विस्थापनका खिलाफ, आदिवासीलाई उनैको जल, जंगल, जमिनबाट बेदखल गरिँदाको खिलाफ प्रदर्शन मानौँ शून्यप्रायः छन् । यसै वर्ष १७ डिसेम्बरमा जब प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६७औँ जन्मदिनका अवसरमा आफूलाई नै, पानीले भरिएको सरदार सरोवर बाँध उपहारमा दिए, यही बाँधको विरुद्ध ३० वर्षदेखि लडिरहेका हजारौँ हजार ग्रामीण किसान भने सोही समय आफ्ना घरहरूले जलसमाधि लिएको हेर्दै थिए । यो निकै ठूलो प्रतीकात्मक क्षण थियो ।

भारतमा आज एउटा प्रेतको छाया दिउँसै हामीमाथि गहिरिँदो छ । खतरा यति बढिरहेको छ कि स्वयं हाम्रा लागि यसको आकार, बदलिँदो स्वरूप, गम्भीरता र त्यसको भिन्दाभिन्दै स्वरूपलाई बुझ्न र भन्न झन्–झन् गाह्रो हुँदै छ । यसको वास्तविक स्वरूप भन्न झनै खतरापूर्ण छ कि कसैले यसलाई अतिशयोक्तिपूर्ण भनिदेला । त्यसैले आफ्नो विश्वसनीयता र शिष्टाचारको ख्याल राख्दै हामी त्यो पिशाचलाई पालिरहेका छौँ, जबकि त्यसले आफ्नो दाह्रा हामीमाझ भित्रसम्म गाडिसकेको छ । भारत दुनियाको सबैभन्दा नराम्रो र खतरनाक ठाउँ होइन, कम्तीमा अहिलेसम्म त होइन । तर, यो के हुन सक्थ्यो र के भयो, यसबीच जे हुँदै छ त्यो नै सबैभन्दा दुःखद् हो ।

हाल कस्मिर उपत्यकाको ७० लाख जनसंख्या, जसमध्ये अधिकांश मानिस भारतको नागरिक हुन चाहँदैनन् र जसले दशकौँसम्म आत्मसम्मानका लागि संघर्ष गरे, उनीहरू यतिवेला इन्टरनेटबाट काटिएका छन् । र, दुनियाँको सबैभन्दा सघन सैन्य उपस्थितिमा नजरबन्दको अवस्थामा बाँचिरहेका छन् । साथै, देशको पूर्वोत्तर राज्य आसाममा २० लाख मानिस, जो भारतको अंग बन्न चाहन्छन्, उनीहरू आफ्नो नाम राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)मा समावेश नभएको देखेर गैरनागरिक भइने हो कि भन्ने खतराको सामना गरिरहेका छन् । सरकारले एनआरसीलाई समग्र देशमा लागू गर्ने आफ्नो मनसाय प्रस्ट पारिसकेको छ । यसले अभूतपूर्व रूपमा मानिसलाई गैरनागरिक बनाउनेछ ।

पश्चिमी मुलुकका कुलीनहरू सम्भावित जलवायु विपत्लाई मध्यनजर गरेर आफ्ना लागि स्रोतको जोहो गर्न लागेका छन् । उनीहरू बंकर बनाएर सफा पानी र खानेकुरा सुरक्षित गर्दै छन् । गरिब मुलुकमा भने अर्कै किसिमको जोहो गरिँदै छ । ५ अगस्ट २०१९मा भारत सरकारले कस्मिरमाथि कब्जा ग¥यो । कब्जा गरिने यो कारबाही भारतमा गहिरिँदै गरेको जल संकटसँग जोडिएको छ । र, अन्य विषयका साथ भारत कस्मिरबाट निस्कने नदीहरूलाई तत्कालै आफ्नो कब्जामा लिन चाहन्छ । एनआरसीले नागरिकमाझ सोपानको व्यवस्था गर्नेछ, जसमा केही नागरिकसँग अन्य नागरिकको तुलनामा धेरै अधिकार हुनेछ । यो पनि एक प्रकारले संसाधनको अपर्याप्तताको समयका लागि गरिने पूर्वतयारी नै हो । पर्यावरण संकटको पहिलो सिकार ‘स्वतन्त्रता, भाइचारा र समानता’को विचार बन्दै छ । वास्तविकता के हो भने यी सबैमाथि हमला गरिसकिएको छ । म यसलाई विस्तारले भन्ने प्रयास गर्नेछु । साथै, भारतले यस आधुनिक संकटसँग जुध्नका लागि कस्तो आधुनिक तयारी गरिरहेको छ त्यो पनि भन्नेछु । यी सबै तयारीका जरा हाम्रो इतिहासको खतरनाक र घिनलाग्दो तन्तुसँग जोडिन पुग्छन् ।

भारतको संविधानले देशलाई धर्मनिरपेक्ष, समाजवादी गणतन्त्र भन्छ । हामी भने ‘धर्मनिरपेक्षता’लाई संसारको भन्दा भिन्न ढंगले परिभाषित गर्छौँ । हाम्रा लागि यसको अर्थ कानुनका अघिल्तिर सबै धर्म समान हुन्, तर व्यवहारमा भारत न कहिल्यै धर्मनिरपेक्ष थियो न त कहिल्यै समाजवादी । यसले सधैँ उच्च जातको हिन्दू राज्यले झैँ काम गर्‍यो । यही ढोङ हाम्रो सबैभन्दा राम्रो कुरा हो । यदि यो ढोङ पनि रहेन भने भारत नामेट हुन्छ ।

मे २०१९को आमनिर्वाचनमा दोस्रोपटक निर्वाचित भएपछि भाषण गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले घमण्डसाथ भने– कुनै पनि नेता वा राजनीतिक दलले आफ्नो चुनाव प्रचारमा ‘धर्मनिरपेक्ष’ शब्दलाई प्रयोग गर्ने हिम्मत गरेनन् । मोदीले भने– ‘धर्मनिरपेक्षको गाग्री रित्तिइसकेको छ ।’ भनेपछि यो आधिकारिक कुरा हो कि भारत रित्तिएको ग्रागीबाट सञ्चालित छ र हामीहरू निकैपछि पाखण्डलाई संकलन गर्न सिक्दै छौँ । वास्तवमा भारत एउटा देश होइन, यो एउटा महाद्वीप हो । युरोपको तुलनामा यहाँ कैयौँ भाषा, कैयौँ राष्ट्रियता र उप–राष्ट्रियताहरू, कयौँ आदिवासी समुदाय र धर्म छन् । सोच्नुस् त त्यतिवेला के होला, जब यो विविधताको महान् सागर र त्यसका नाजुक सामाजिक तन्तुहरू अचानक एउटा हिन्दू श्रेष्ठतावादी संगठनबाट सञ्चालित हुन थाल्छ, जो एक राष्ट्र, एक भाषा, एक धर्म र एक संविधानमा विश्वास गर्छ ।

म राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को कुरा गर्दै छु, जसको स्थापना सन् १९२६मा भएको थियो । ऊ नै भारतीय जनता पार्टीको मातृसंगठन हो । आरएसएसका संस्थापक र प्रारम्भिक विचारक जर्मन र इटालियन फासीवादसँग प्रभावित मान्छे थिए । ती मान्छे भारतका मुसलमानलाई ‘जर्मनीका यहुदी’जस्तै ठान्थे र उनीहरूको स्पष्ट विचार थियो– भारतमा मुसलमानलाई कुनै स्थान छैन । आज आरएसएस छेपारोले जसरी रङ फेर्दै के दाबी गर्छ भने ऊ त्यो विचारलाई मान्दैन । तर, उसको नजरमा मुसलमान खाँटी धोकेबाज ‘बाहिरिया’ मान्छे हुन् । यो विचार बिजेपीका नेताहरूको सार्वजनिक भाषणमा पटक–पटक सुनिन्छ र हिंसा तथा दंगा गर्ने भिडमा पनि यही नारा बारम्बार गुन्जिने गर्छ । उदाहरणका लागि उनीहरूको एउटा नारा छ– ‘मुसलमानहरूको एउटै स्थान, कब्रिस्तान कि पाकिस्तान ।’ यो विचारले भारतसँग सम्बन्धित कैयौँ सुन्दर पक्षमा एकैपटक तेजाब खन्याइदिन्छ ।

नाजी जर्मनी आफ्नो सोचलाई एउटा महाद्वीपमा लागू गर्न चाहन्थ्यो, तर आरएसएसशासित भारत ऊभन्दा उल्टो दिशामा हिँडिरहेको छ । यहाँ एउटा महाद्वीप साँघुरिएर एउटा देश बन्न चाहन्छ । होइन, यो त एउटा देशबाट एउटा प्रान्तजत्तिको बन्न चाहन्छ । ‘स्लो–मोसन’को राजनीतिक विखण्डनबाट निस्कने रेडियोधर्मिताले आफ्नो चारैतिरको सबै चिजलाई प्रभावित पार्न सुरु गरिसकेको छ ।

कुनै अन्य श्रेष्ठतावादी र दुनियाँभरमा बढी रहेका नवनाजी समूहसँग आरएसएसजत्तिको संगठित ढाँचा छैन । देशभरिमा आरएसएसका ५७ हजार शाखा छन् र ६ लाख समर्पित हतियारबन्द स्वयंसेवक । यसले सञ्चालन गर्ने विद्यालयमा लाखौँ केटाकेटी पढ्छन्, यसको आफ्नो चिकित्सकीय मिसन छ, मजदुर संगठन छ, किसान संगठन छ, मिडिया छ र महिलाको संगठन छ । हालै संघले घोषणा गरेको छ– अब उसले भारतीय सेनामा भर्ती हुन चाहनेका लागि टे«निङ विद्यालय खोल्नेछ । यसको भगवा ध्वजाको छायामा यस्ता अनेकौँ नयाँ–नयाँ उग्र–दक्षिणपन्थी संगठनको मेला लागिसकेको छ, जसलाई समेटेर संघ परिवार भनिन्छ । यी संगठन अल्पसंख्यकप्रति अत्यन्तै हिंस्रक हमलाका जिम्मेदार छन्, जसका कारण पछिल्ला वर्षमा मात्रै हजारौँ मानिसको हत्या भएको छ, जसको तथ्यांकसमेत छैन । यसको मुख्य रणनीति हिंसा, साम्प्रदायिक दंगा र छद्म–देशभक्तिको झन्डा ओढेर हमला गर्नु हो । भगवा अभियानको यही केन्द्रीय काम हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी आजीवन आरएसएसका सदस्य रहे । मोदी आरएसएसका आविष्कार हुन् । उनले अन्यको तुलनामा यस संगठनलाई भारतमा सबैभन्दा धेरै शक्तिशाली बनाए । र, अब उनी यस संगठनको सबैभन्दा शानदार अध्याय लेखनको नजिक छन् । मोदी सत्तामा आउनुपछाडिको कथा वाक्क हुने गरी पटक–पटक दोहोर्‍याइसकिएको छ, तर जसरी यस कथालाई आधिकारिक रूपमा भुलाइदिने प्रयास गरिएको छ, त्यसका लागि यसलाई दोहो¥याउनु एउटा जिम्मेवारी हो ।

मोदीको राजनीतिक करिअर अमेरिकामा ९÷११ को हमलाको केही समयपछि अक्टोबर २००१ मा सुुरु भयो । बिजेपीले गुजरातका निर्वाचित मुख्यमन्त्रीलाई हटाएर मोदीलाई त्यस ठाउँमा नियुक्त ग¥यो । उनको पहिलो कार्यकालको पहिलो तीन महिनाभित्रै एउटा बर्बर, तर रहस्यमयी आगजनी भयो, जसमा एउटा रेलको कोचमा सवार ५९ हिन्दू तीर्थयात्रीलाई जलाइयो । जसको ‘बदला लिनका लागि’ हिन्दूहरूको बेलगाम भिडले सुनियोजित ताण्डव ग¥यो । झन्डै २५ सय मानिसलाई, जसमा अधिकांश मुसलमान थिए, खुलेआम मारियो । यसलगत्तै मोदीले विधानसभा निर्वाचनको आह्वान गरे र निर्वाचन जिते । हत्या भएर होइन कि हत्याको कारणले मोदीले निर्वाचन जिते । उनी हिन्दू सम्राट बने र त्यसपछि लगातार तीनपटक मुख्यमन्त्री बने । सन् २०१४मा बिजेपीको उम्मेदवारका रूपमा, यो निर्वाचन पनि मुस्लिम नरसंहारको वरपर नै लडियो, तर यसपटकको केन्द्र उत्तर प्रदेशको मुजफ्फरनगर थियो । पत्रकारले जब मोदीलाई सन् २००२ को हत्याकाण्डका लागि उनलाई ग्लानी छ कि ? भनेर सोधे तब मोदीले बडो इमानदारीसाथ जवाफ दिए– ‘यदि दुर्घटनावश कुनै कुकुर उनको गाडीको तल आएर म¥यो भने त्यसको पनि उनलाई ग्लानी हुनुपर्ने ।’ यो विशुद्ध, प्रशिक्षित आरएसएसको भनाइ थियो ।

जब मोदीले भारतको १४औँ प्रधानमन्त्रीका रूपमा शपथ लिए, हिन्दू राष्ट्रवादीले मात्रै त्यसको उत्सव मनाएनन् बरु भारतका चिरपरिचित उद्योगपतिले पनि उनको सत्तारोहणलाई स्वागत गरे । भारतका कैयौँ उदारवादी र अन्तर्राष्ट्रिय मिडियाले पनि आशा र समृद्धिको मिसालका रूपमा यसको उत्सव मनाए । मोदीलाई हिन्दू राष्ट्रवाद र बेलगाम खुला बजार पुँजीवादको प्रतीकका रूपमा हेरियो । यी वर्षमा मोदीले हिन्दू राष्ट्रवादको मोर्चामा राम्रो प्रदर्शन गरेका छन्, तर खुला व्यापारको मोर्चामा नराम्रो गरी पछारिएका छन् । कमजोरीमाथि कमजोरीको अर्को महल ठड्याउँदै मोदीले भारतको अर्थतन्त्रलाई घुँडा टेक्ने बनाइदिएका छन् । सन् २०१६को आफ्नो पहिलो कार्यकालमा एक दिन उनी राति अचानक टिभीमा प्रकट भए र ५०० तथा १००० का नोट नचल्ने घोषणा गरे । यसअघि यो स्तरमा पहिले केही पनि भएको थिएन । मोदीले ‘नोटबन्दी’लाई भ्रष्टाचार र आतंकवादविरुद्धको ‘सर्जिकल स्ट्राइक’ भएको बताए । यो विशुद्ध छद्म अर्थशास्त्र थियो र एक अर्ब जनतामाथि झाँक्रीको झारफुक थोपरिएको थियो । यो निर्णय भयानक त्रासदीपूर्ण साबित भयो । तर, कुनै विरोध भएन । मानिसहरू चुपचाप बैंकमा लाइन लागेर पुराना नोट जम्मा गराउन आफ्नो पालो कुरिरहे, चिली, कैटोलोनिया, लेबनान वा हङकङका जनताले जस्तो विरोधको स्वर उछालेनन् । रातारात मानिसको जागिर खोसियो, निर्माण उद्योग बन्द भए र साना व्यापारीको उठिवास लाग्यो, तर विरोधको एउटा स्वर पनि सुनिएन ।

हामीजस्ता कैयौँ मानिसले बडो निर्दोष ढंगले ठान्यौँ कि यो मोदीको अन्त्यको सुरुवात हो । तर, हामी गलत साबित भयौँ । मानिसले हर्षोल्लास गरे । उनीहरूलाई दुख्न त दुख्यो, तर उनीहरूले दुखाइको आनन्द लिए । यस्तो लाग्दै थियो, मानौँ दुखाइलाई आनन्दमा रूपान्तरण गरिएको छ । के कुरालाई स्वीकार गरियो भने, यो प्रशवपीडापछि एउटा महान् र समृद्ध हिन्दू भारतको जन्म हुनेछ । जबकि सन् १०१९को ‘ग्लोबल हंगर इन्डेक्स’मा ११७ देशमध्ये भारत १०२औँ स्थानमा थियो । यस इन्डेक्समा नेपाल ७३, बंगलादेश ८८ र पाकिस्तान ९४औँ स्थानमा थियो । नोटबन्दी आर्थिक मामिला मात्रै थिएन । यो त हाम्रो परीक्षा थियो, जुन हाम्रो महान् नेताले हामीसँग माग्दै थियो । ऊ हामीलाई सोधिरहेको थियो– के हामी उसको पछि हिँड्न तयार छौँ, के हामी ऊसँग प्रेम गरिरहन्छौँ, भलै उसले जेसुकै गरोस् ? हामी त्यो परीक्षामा अब्बल अंकका साथ पास भयौँ । जतिवेला हामीले नोटबन्दीलाई स्वीकार्‍यौँ, त्यति नै वेला हामीले घटिया तानाशाहीका अघिल्तिर आफूलाई लम्पसार पार्‍यौँ ।

तर, जुन देशका लागि नराम्रो थियो, त्यही बिजेपीका लागि राम्रो साबित भयो । सन् २०१६–१७का बीच जब अर्थतन्त्र तासको महलसरी ढलिरहेको थियो, बिजेपी दुनियाँको सबैभन्दा धनी राजनीतिक पार्टी बन्यो । उसको पार्टी कोषमा ८१ प्रतिशतले वृद्धि देखियो । ऊ आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसभन्दा पाँच गुणा धनी पार्टी बन्यो, जबकि त्यसअघि उसको आयमा १४ प्रतिशतले गिरावट आइरहेको थियो । साना पार्टीको उठिवास नै लाग्यो । त्यही कारण थियो कि सन् २०१९ को निर्वाचन उसका लागि फरारी कार र पुरानो साइकलको प्रतिस्पर्धा साबित भयो । किनभने, निर्वाचन पैसाको बलमा लडिन्छ तथा सत्ता र पुँजी सञ्चय एउटै सिक्काका दुई पाटा हुन् । त्यसैले निकट भविष्यमा स्वतन्त्र र निष्पक्ष निर्वाचन होला भन्ने लाग्दैन ।

मोदीको दोस्रो कार्यकालमा आरएसएसले आफ्नो खेल पहिलेभन्दा धेरै ठूलो बनाइसकेको छ । अब यो संगठन छाया सरकार वा समानान्तर सरकार रहेन, बरु वास्तविक राज्यमा परिणत भइसकेको छ । दैनन्दिन न्यायपालिका, मिडिया, प्रहरी र गुप्तचर संस्था उसको नियन्त्रणमा आइरहेको उदाहरण हाम्राअघि आइरहेका छन् । कुरा कुन स्तरमा छन्, भने अब प्रत्यक्ष नियन्त्रण आवश्यक रहेन ।

९ नोभेम्बरमा भारतको सर्वोच्च अदालतले ‘दुनियाँको सबैभन्दा महत्वपूर्ण’ भनिएको मामिलामा फैसला सुनायो । ६ डिसेम्बर १९९२ मा अयोध्यामा हिन्दू उपद्रवीहरूको भिडले ४ सय ५० वर्ष पुरानो मस्जिदलाई ढालेका थिए । उनीहरूको दाबी थियो कि मस्जिद एउटा मन्दिरको भग्नावशेषमाथि ठड्याइएको थियो, जुन भगवान् रामको जन्मस्थान होे । मस्जिद ढालिएपछिको हिंसामा दुई हजारभन्दा धेरैले ज्यान गुमाए, जसमा अधिकांश मुसलमान थिए । ९ नोभेम्बरको फैसलामा न्यायालयले त्यो स्थान हिन्दूहरूलाई दिने निर्णय गर्‍यो । मन्दिर निर्माणका लागि एउटा ट्रस्ट बनाइनेछ, जसको गठन बिजेपी सरकारले गर्नेछ । फैसलाको विरोध गर्नेलाई व्यापक स्तरमा पक्राउ गरिएको छ । अकुत पैसाले जति प्रभाव विस्तार गर्छ, त्यसैको बलमा बिजेपीले आफ्ना प्रतिद्वन्द्वीलाई कि आफूमा गाभ्यो, किन्यो अथवा नामेट गरिदियो । यसको सबैभन्दा नकारात्मक प्रभाव उत्तर प्रदेश र बिहारका दलित र अन्य सीमान्तकृत जातिको राजनीति गर्नेमाथि परेको छ । दलित र सीमान्तकृत जातिपछि बिजेपीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा निजीकरणको नीतिलाई अघि बढाएको छ । र, ऊ तीव्र रूपमा आरक्षणलाई अन्त्य गर्न चाहन्छ । ऊ सीमान्तकृत समुदायका मान्छेलाई रोजगार र शिक्षा संस्थानबाट बाहिर खेद्दै छ । यसै वर्ष जब गेट्स फाउन्डेसनले मोदीलाई भारतमा खुला दिसामुक्त देश बनाउनका लागि सम्मानित गर्दै थियो, त्यसैवेला खुला स्थानमा दिसा गरेका कारण दुईजना दलित युवालाई पिटेर मारियो । यो एउटा भद्दा मजाक हो ।

राजनीतिमा पकड बलियो बनाइराख्न आरएसएस र बिजेपीको एउटा खास रणनीति लामो समयसम्म ठूलो आतंक मचाइराख्ने हो । ५ अगस्ट २०१९मा भारतीय संसद्ले ती मूलभूत सर्तलाई एकतर्फी रूपमा तोडिदियो, जसको आधारमा सन् १९४७मा जम्मु र कस्मिर भारतमा समावेश हुन तयार भएका थिए । संसद्ले त्यो खास हैसियत पनि खोस्यो, जसअन्तर्गत आफ्नो संविधान र झन्डा राख्न पाउने अधिकार उनीहरूले पाएका थिए । यस तयारीका लागि सरकारले त्यहाँ रहेका हजारौँ सैनिकका साथै थप ५० हजार सैनिक तैनाथ गरिदियो । ४ अगस्टको राति नै त्यहाँबाट पर्यटक र तीर्थयात्रीलाई खेदियो । विद्यालय र बजारसँगै सबैका सबै बन्द गरिए । चार हजारभन्दा धेरैलाई गिरफ्तार गरियो । गिरफतार गरिनेमा राजनीतिक दलका नेता, व्यापारी, वकिल, सामाजिक कार्यकर्ता, छात्र र तीन पूर्वमुख्यमन्त्री थिए । आधा रातमा इन्टरनेट काटियो र टेलिफोनलाई मौन बनाइयो । कस्मिरको विशेष हैसियत अन्त्य गर्ने, भारतभरि एनआरसी लागू गर्ने, अयोध्यामा बाबरी मस्जिदको भग्नावशेषमा राम मन्दिरको निर्माण– यी सबै आरएसएस र बिजेपीको आफूलाई बलियो बनाइराख्ने रणनीति हुन् ।

पछिल्लो दुई निर्वाचनले बिजेपीलाई बलियो गरी के शिक्षा दियो भने, उसले मुस्लिम भोट नलिई पनि संसद्मा बहुमत हासिल गर्न सक्छ । परिणामस्वरूप भारतीय मुसलमानलाई प्रभावकारी ढंगले भोटबाट वञ्चित बनाइएको छ । भिन्न–भिन्न ढंगका अघोषित सामाजिक बहिष्करणले गर्दा आर्थिक रूपले यो समुदाय तलभन्दा तल धकेलिँदै छ । भारतीय मुसलमानका लागि मुख्य धारको मिडियामा कुनै स्थान छैन । कस्मिरीलाई उनीहरूको इतिहास र त्यसभन्दा पनि धेरै उनको भूगोलका लागि सजाय दिइँदै छ । तर, उनीहरूसँग जिउँदो रहनका लागि स्वतन्त्रताको सपना छ । तर, भारतीय मुसलमान त यही डुब्दै गरेको जहाजमा बाँच्नु छ ।

देशद्रोही खलनायहरूको अर्को एउटा श्रेणी छ, जसमा मानवअधिकारवादी कार्यकर्ता, अधिवक्ता, विद्यार्थी र ‘सहरी नक्सलवादी’ पर्छन् । यिनीहरूलाई बदनाम गरियो, जेलमा हालियो र कानुनी रूपमा फसाइयो, इजरायलको जासुसी सफ्टवेयरबाट यिनको जासुसी गरिँदै छ र कैयौँको हत्या गरिएको छ । तर, यो तासको अर्कै गड्डी हो ।

तबरेज अन्सारीको लिन्चिङ यो बुझ्नका लागि पर्याप्त छ कि यो ‘धर्मनिरपेक्ष गणतान्त्रिक’ जहाज कतिसम्म मक्किएको छ । कुनै पनि पुरुष या महिलालाई त्यसकारण मारिन्छ, किनभने त्यो समुदायले बुझोस् कि उसको जीवन भिडको अनुकम्पामा बाँचिरहेको छ । प्रहरी, कानुन, सरकार र यहाँसम्म कि त्यस्ता मान्छे, जसले एउटा माखासमेत मार्न सक्दैनन्, हत्या गर्ने भिडको सहयोगी हुन्छन् । तबरेजको हत्या यसै वर्ष जुनमा भएको थियो । ऊ अनाथ थियो र झारखण्डमा आफ्नो काकाको घरमा हुर्किएको थियो । २२ वर्षको उमेरमा बिहे गर्न घर आएको उसलाई, बिहेको अघिल्लो दिन भिडले घेर्‍यो र बिजुलीको पोलमा बाँधेर घन्टौँ पिट्यो । युद्धको नयाँ उद्घोष गर्दै, ‘जय श्रीराम’ भन्न लगाइयो । प्रहरीले अर्को दिन उसलाई चोरीको आरोपमा हिरासतमा लिँदै मजिस्ट्रेटका अघि पुर्‍यायो । मजिस्ट्रेटले उसलाई अस्पताल होइन, न्यायिक हिरासतमा पठाइदियो, चार दिनपछि उसको त्यहीँ मृत्यु भयो ।

राष्ट्रिय अपराध रेकर्ड ब्युरोको हालैको प्रतिवेदनमा बडो सावधानीसाथ लिन्चिङको तथ्यांक लुकाइएको छ । २०१५ यता अहिलेसम्मको हिंसामा एक सय १३ जनाको मृत्यु भइसकेको छ । लिन्चिङ र सामूहिक नरसंहारजस्ता घृणित अपराधमा सहभागी मान्छेले सरकारबाट पुरस्कार पाएका छन् र मोदीको मन्त्रिमण्डलले उनीहरूलाई सम्मानित गरेको छ । यस्तो सोच्नु नै अतार्किक हो कि कुनै कुकुर कसैको गाडीमुन्तिर आयो भने त्यसका लागि प्रधानमन्त्रीले टिप्पणी गर्ने ।

२२ सेप्टेम्बरका दिन अमेरिकामा, हजारौँ भारतीय अमेरिकी ह्युस्टनको एउटा शानदार कार्यक्रम ‘हाउडी मोदी !’ मा सामेल हुन आए । अब यो कार्यक्रम सहरी दन्त्यकथाको सामग्री भइसकेको छ । खुसीले चिच्याउँदै र प्रशंसाले अभीभूत भएको भिडले ‘मोदी, मोदी’ को नारा लगायो । स्टेडियम मानौँ, उन्मादी चिच्याहटले फुट्नै आँटेको थियो । भारतमा त्यस चिच्याहटलाई टिभी च्यानलले ‘कार्पेट कभरेज’का माध्यमबाट हजार गुणा बढाई–चढाई गरेर पेस गरे । हेर्दाहेर्दै ‘हाउडी’ हिन्दू शब्द बन्यो । यसबीच स्टेडियमको बाहिर विरोध गरिरहेका हजारौँ मानिसलाई यी समाचार संस्थानले नदेखेझैँ गरिदिए । भारतमा हामीमध्ये कैयौँ मानिस डराउँदै–काँप्दै ‘हाउडी मोदी !’ हेथ्र्यौं र नाजी ¥यालीमाथि बनेको लाउरा पोइट्रासको सन् १९३९को डकुमेन्ट्री, जसमा फिल्ड मैडिसन स्क्वायर गार्डन भरिभराउ थियो, सम्झिन्थ्यौँ । त्यसै दिन कस्मिरमा कफ्र्यु र सञ्चारमाथि लगाइएको प्रतिबन्धको ४८ दिन पूरा हुँदै थियो ।

मोदीले एकपटक फेरि आफ्नो विशिष्ट बर्बरता प्रदर्शन गरे, जुन आधुनिक युगले न देख्यो न सुन्यो । र, एकपटक फेरि यो प्रदर्शनले भक्तहरूमाझ उनलाई अझै धेरै प्रेमको पात्र बनाइदियो । ६ अगस्टका दिन जब जम्मु–कस्मिर पुनर्गठन विधेयक संसद्मा पारित भयो– एउटा औपनिवेशिक कब्जाको विजय, हिन्दू राष्ट्रको विजयघोष उल्साससाथ मनाइयो ।

सर्वसाधारण मान्छेको जीवनको वास्तविक रिपोर्टिङ त्यस्ता सीमित पत्रकार र फोटो पत्रकारले गरे, जो निकै जोखिम मोलेर विभिन्न क्षेत्रको भ्रमण गर्थे र न्यूनतम संसाधनका बीच मरिमेटेर समाचार लेख्थे । उनीहरूले ल्याएको समाचार कस्तो हुन्थ्यो भने– युवाहरूलाई लाइनमा उभ्याएर घन्टौँसम्म पिट्ने गरिएको छ, उनीहरूको चिच्याहट माइक्रोफोनबाट परिवारका सदस्यलाई सुनाइन्छ, सैनिकहरूले स्थानीयले सञ्चित गरेको खाद्यान्नमा मट्टीतेल खन्याइदिने गरेका छन्, आदि । यसमा ती केटाकेटीको समाचार पनि हुन्थ्यो, जसको शरीर पैलेट गनले छियाछिया भइसकेको छ र उनीहरूले आफ्नो उपचार घरमै गरिरहेका छन् । किनभने अस्पताल जानु सैनिकको कब्जामा पर्नु हो । डर, आक्रोश, निराशा, भ्रम, फौलादी प्रतिबद्धता र अनेकौँ प्रतिरोधका समाचार पनि त्यहाँ हुन्थे ।

तर, गृहमन्त्री अमित शाहले दाबी गरे– ‘कस्मिरको घेराबन्दी भन्नु मानिसहरूको मगजको उपज मात्रै हो ।’ सेना प्रमुख बिपिन रावतले भने– ‘जम्मु–कस्मिरमा सर्वसाधारणको जनजीवन प्रभावित भएको छैन । जसले जनजीवनमा प्रभाव परेको छ भनिरहेका छन्, उनीहरूको जीवन आतंकवादमा आश्रित छ ।’ यी वाक्यांशबाट के बुझ्न सजिलो हुन्छ भने, भारत सरकार कसलाई आतंकवादी ठान्छ ।

तपाईं एकैछिनलाई कल्पना गर्नुस् त– सम्पूर्ण न्युयोर्क सहरमा समाचारमाथि प्रतिबन्ध लगाइयो र त्यस्तो कफ्र्यु, जहाँ लाखौँ सैनिक परेड खेलिरहेका छन् । कल्पना गर्नुस् कि तिखा तारहरू ओछ्याएर तपाईंको सहरको नक्सा नै फेरिएको छ र यातनागृह खोलिएको छ । कल्पना गर्नुस्, कि तपाईंजस्तै हजारौँलाई गिरफ्तार गरियो र तपाईंका परिवारजनलाई त्यसबारे केही थाहा नहोस् कि तपाईं कहाँ हुनुहुन्छ । कल्पना गर्नुस् कि तपाईं कसैको पनि सम्पर्कमा हुनुहुन्न, आफ्नो छिमेकीसँग पनि होइन, सहरभन्दा बाहिर बस्ने आफन्तसँग पनि होइन र बाहिर दुनियाँमा कसैसँग पनि सम्पर्क गर्न सक्नुहुन्न अनि हप्तौँ, महिनौँ यस्तै चलिरहोस् । कल्पना गर्नुस् कि बैंक र विद्यालय पनि बन्द छन्, केटाकेटी घरमा कैद छन् । कल्पना गर्नुस् कि तपाईंको आमा–बुबा, भाइ–बहिनी, जीवनसाथी अथवा केटाकेटी मरिरहेका छन् र तपाईंलाई त्यसको हप्तौँसम्म कुनै सूचना दिइँदैन । एकैछिन कल्पना गर्नुस्, मेडिकल आपत्कालको, मानसिक स्वास्थ्यको, खानेकुराको, ग्यास अभावको । कल्पना गर्नुस् कि तपाईं एउटा दैनिक ज्यालादारी मजदुर हो, तर तपाईं हप्तौँसम्म काममा जान पाउनुहुन्न । र, कल्पना गर्नुस्– तपाईंलाई भनिँदै छ कि यो सबै तपाईंको भलाइका लागि हो । यसबाट तपाईं के बुझ्नुहुन्छ ?

सरकारलाई हरेकप्रकारका विरोध अस्वीकार्य छ– चाहे त्यो हिंस्रक होस् अथवा अहिंस्रक । बोलेर गरिएको विरोध होस् अथवा लेखेर अथवा गीत गाएर गरिएको विरोध नै किन नहोस् । तर, पनि कस्मिरीलाई थाहा छ, बाँच्नु छ भने प्रतिरोध त गर्नैपर्छ । यी मानिस भारतको अंग बन्न किन चाहलान् ? संसारमा यसको कुनै कारण छ भने भन्नुस् । यदि उनीहरू स्वतन्त्रता चाहन्छन् भने उनीहरूलाई स्वतन्त्रता दिइनुपर्छ ।

मात्र हामीले के आशा गर्न सक्छौँ भने छिट्टै भारतका सडक यस्ता मानिसले भरिनेछन्, जसलाई कम्तीमा के महसुस हुन्छ भने यदि उनीहरूले पनि केही गरेनन् भने उनको अन्त्य नजिक छ । यदि यस्तो हुँदैन भने यी शब्दलाई एउटा त्यस्तो मान्छेको तर्फबाट अन्त्यतर्फको ढुकढुकी बुझियोस्, जो वर्तमान समयको साक्षी छ ।


(हिन्दीडटक्याराभानम्यागजिनडटइनबाट)/अनुवाद : नरेश ज्ञवाली

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया