जाप अनशनकारीहरूको मनोबल बढाउन भारती तामाङ कालेबुङमा, भनिन्-ढिलोछिटो म न्याय पाउनेछु

खबरम्यागजिन प्रतिनिधि

कालेबुङ, 25 मई 2017


जाप अनशनकारीहरूलाई खदार्पण गर्दै भारती तामाङ-फोटोः खबरम्यागजिन

अखिल भारतीय गोर्खालिगका अध्यक्ष भारती तामाङ आफ्नो छोरा सञ्जोक तामाङसितै कालेबुङ आइपुगिन्। कालेबुङको त्रिकोण पार्कमा जन आन्दोलन पार्टीका युवा एकाईले गरेको आमरण अनशनलाई मनोबल पुऱ्याउन अनि जाप कार्यकर्ताहरूलाई आभार व्यक्त गर्न नै कालेबुङ आएको तामाङले बताएकी छन्।

‘21 मई स्व. मदन तामाङको पुण्यतिथि पालना गर्दै जाप कार्यकर्ताहरूले धर्ना प्रदर्शन गरेका थिए, यसैको निम्ति आभार प्रकट गर्न अनशन स्थल आएकी हुँ,’ उनले भनिन्, ‘जाप कार्यकर्ताहरूले गरिरहेको अनशन समय सान्दर्भिक छ, मेरो उपस्थितिले उनीहरूलाई अझ मनोबल पुगोस् भनेर नै म आएकी हुँ।’

जाप कार्यकर्ताहरूले 21 मईको दिन मदन तामाङलाई छुट्टै राज्यको निम्ति प्रतिबद्ध नेता अनि आफ्नो बचन पुरा गरेर देखाउने नेता रहेको र जाप युवा कार्यकर्ताहरूले उनैको सिद्धान्तलाई अनुशरण गर्दै धर्ना गरेको बताएका थिए।

21 मई 2010 को दिन दार्जीलिङको क्लब साइटमा लीग नेता मदन तामाङको खुलेआम हत्या भएको थियो। यद्धपि उनका हत्याराहरू अहिलेसम्म पक्रा परेका छैनन्। भारती तामाङले उच्च न्यायालयमा आरोपीहरूविरुद्ध मुद्दा दर्ता गरिसकेकी हुन् तरै पनि अहिलेसम्म कुनै सुनवाई भइरहेको छैन।

‘ढिलोछिटो म न्याय पाउनेछु, मलाई कानून व्यवस्थामाथि आस्था छ,’  आज पनि भारती तामाङले भनिन्, ‘चार्टसिट निस्किसकेको छ, एरेस्ट वारन्ट निस्किसकेको छ, आरोपीहरू कुनै न कुनैदिन पक्राउ पर्ने नै छन्, म विश्वस्त छु।’

तामाङले अनशनकारीहरूलाई लक्ष्य हासिल होस् भन्दै शुभकामना पनि व्यक्त गरिन्।

अर्कोतिर जाप युवा एकाई केन्द्रिय समितिका चेयरम्यान पङ्कज छेत्रीले आफूहरूले मोर्चालाई राज्य गठनको निम्ति दवाब दिन नै हिजोदेखि आमरण अनशन गरिरहेको बताए। ‘मोर्चासित केन्द्रमा गठबन्धित भाजपा पनि छ, सांसद, विधायक, सभासद्हरू छन्, फेरि पनि उनीहरू छुट्टै राज्यको दाबीमा संवेदनशील छैनन्। उनीहरूले शीघ्र नै जनतालाई दिएको बचन पूरा गर्नुपर्छ। जबसम्म पूरा गर्दैन तबसम्म हामी अनशन गर्नेछौँ,’ छेत्रीले भने, ‘जबसम्म मदन तामाङका हत्याराहरू पक्राउ पर्दैनन्, जबसम्म मदन तामाङको छुट्टै राज्यको सपना पूरा हुँदैन तबसम्म जाप युवा इकाईले सङ्घर्ष गरिरहनेछ।’

छेत्रीले गोर्खालीगको पक्षबाट पाइएको मनोबलको निम्ति तामाङप्रति आभार पनि टक्राएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया