13 जना होइन, 13 हजारसम्म पक्राउ गरोस्, तर डराउनु हुँदैन : बजगाईँ

‘वारन्ट थियो भने अहिलेसम्म किन पक्राउ गरेन, किन एकै रातमा पक्राउ गरेको?’, बजगाईँले भने, ‘पुलिसले 24 घन्टाभित्र सबैको वारन्टको लिस्ट जारी गर्नुपर्छ। कति जना विमल खेमाका समर्थकहरूको वारन्ट छ, सबैको सूची सार्वजनिक गरिनुपर्छ।’


दार्जीलिङ, 30 नोभेम्बर


विभिन्न मुद्दा लागेका विमल गुरुङ खेमा गोजमुमो समर्थकहरूलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रङ्गलीका दीपेन मोक्तान, आशिष स्याङ्बो, खरसाङका विवेक तामाङ, मुण्डाकोठीका अशेष र आशिष राई, सिङ्तामका जितेन  राई र राजेन लिम्बु, सुकेका कुमार गुरागाईँ, रिम्बिकका मनललितचन्द्र प्रधान र रञ्जन सोताङ, दिलारामका पुकार राई, पोख्रेबुङका नरेन्द्र क्षेत्री रहेको विमल खेमाले जनाएको छ।

पुलिस सूत्रअनुसार उनीहरूमाथि विभिन्न मुद्दा रहेकोले पक्राउ गरिएको हो। पुलबजारका सरण लामा र विधान राईलाई पनि पक्राउ गरिएको छ। उनीहरू दुवैका पत्नीहरूले पक्राउपरेका लोग्नेहरूको दोषबारे पुलिसले कुनै जानकारी नदिएको जनाएका छन्। उनीहरूले विरोध प्रदर्शन पनि गरेका थिए।

यता विमल खेमा मोर्चाका प्रवक्ता बीपी बजगाईँले विनय र अनित थापाको निर्देशनमा पुलिसले आफ्ना कार्यकर्ताहरूलाई पक्राउ गरिरहेको आरोप लगाएका छन्।  सासंद राजु विष्टले पक्राउबारे पुलिसलाई सोद्धा पुलिसले उनीहरू विरुद्ध वारन्ट रहेको जनाएको पनि बजगाईँले जनाएका छन्।

‘वारन्ट थियो भने अहिलेसम्म किन पक्राउ गरेन, किन एकै रातमा पक्राउ गरेको?’, बजगाईँले भने, ‘पुलिसले 24 घन्टाभित्र सबैको वारन्टको लिस्ट जारी गर्नुपर्छ। कति जना विमल खेमाका समर्थकहरूको वारन्ट छ, सबैको सूची सार्वजनिक गरिनुपर्छ।’

उनले आफ्नो पछि मान्छे लगाइएको, आफ्नो विरुद्धमा मुर्दावादको नारा लागेको पनि बजगाईँले जनाएका छन्। उनले यस्तो अत्याचार विरुद्ध सबैले आवाज उठाइदिनुपर्ने पनि आह्वान गरेका छन्।

‘13 जना होइन, 13 हजारसम्म पक्राउ गरोस्, तर  कोही डराउनु हुँदैन,’ बजगाईँले भने, ‘ अहिलेसम्म अन्यायले जितेको इतिहास छैन। हाम्रो आन्दोलन मर्दैन। हामीलाई जति पक्राउ गर्न सक्छौ गर। ’ उनले पक्राउ पर्नेहरूको धेरैको मुद्दा नै नभएको र मुद्दा बिना नै पक्राउ गरिरहेको आरोप पनि लगाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया