कविताले देखाएको बाटो कृत्रिम नभएर इमान्दार हुनुपर्दछ- योगिता राई

संवाद

फुटकर कविहरू लेखेर पाठकको मन जित्ने योगिता राईको कविता सङ्ग्रह समयबोध भर्खर बजारमा आइसकेको छ। उनको कविताप्रतिको धारणा र कविता सङ्ग्रहको वरिपरि रहेर कुराकानी गरेका छौं। जसलाई यहाँ राखेका छौं-साहित्य सम्पादक


विशाल नाल्बो


खासमा तपाईंको निम्ति कविता के हो रहेछ?

कविता मेरा लागि अभिव्यक्तिको माध्यम नै हो। जसले मेरो संवेदनशीलतालाई चिमोट्छ। मलाई झकझकाउँछ। मलाई जस्तै अरूहरूलाई ती कुराहरूले चिमोट्छ, झकझकाउँछ भन्न खातिर म कविता लेख्छु। अर्थात् संवदेनशील मनहरूसँग संवाद गर्ने कोशिश गर्छु।  अर्को पाराले भन्ने हो भने खासमा म रमाउने ठाउँ नै कविता हो।

केही समय अघाडी मात्र समयबोध नामक कविता सङ्ग्रह सार्वजनिक गर्नु भएको छ, तपाईंलाई आफ्नो कविता सङ्ग्रहमा लागेको राम्रो पक्ष र नराम्रो पक्ष के के हुन्?

म आफै समयबोधका सर्जक भएर यसभित्रका सबल र दुर्बल पक्ष यी-यी हुन्  भन्नु अनुचित हुनेछ। मेरो कविता सङ्ग्रहभित्र रहेका सबल र दुर्बल ( म तर सधैँ दुर्बल पक्ष नै देखाइदिउन् भन्ने आशा राख्छु।)पक्ष देखाइदिने काम त पाठक र अध्येताहरूको हो। म सधैँ उनीहरूबाट यस्तै कुराको आशा राख्ने गर्छु। राम्रो पक्ष र नराम्रो पक्ष के के हुन्?

कतिपय सर्जकहरू विश्व साहित्यमा नेपाली साहित्यको उपस्थिति प्रायः शुन्य छ भन्छन् नि। के उनीहरूले भने जस्तै विश्व साहित्यमा नेपाली साहित्यको उपस्थिति साँच्ची कै शुन्य छ? तपाई एक कवि सर्जक भएको नाताले तपाई चाहिँ यस कुरालाई के भन्नु हुन्छ?

धेरै हदसम्म यो कुरा सही हो भन्ने मलाई लाग्छ। यद्यपि विश्व साहित्यमा उपस्थितिको आधार र मानक के हो त्यसबारे पनि हामी स्पष्ट हुनुपर्छ। वास्तवमा अन्य भाषाहरूमा हाम्रा कृतिहरू पर्याप्त सङ्ख्यामा अनुवाद हुनु नै नेपाली साहित्यको उपस्थिति हुनु हो। त्यो अहिलेसम्म हुननसकेको चर्चा उठ्ने गरेको उहिल्यैदेखिको हो, अहिले पनि अवस्था उस्तै रहेको सुनिन्छ।

यस अर्थले पनि हाम्रो साहित्यका मास्टरपिस र अन्य पनि (जसले हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो कथा, हाम्रो सङ्घर्ष, हाम्रो चिनारी र हाम्रो मौलिकता बोकेका उम्दा कृतिहरू) कृतिहरूको अनुवाद महत्त्वपूर्ण रहेछ भन्ने बुझाउँछ। यहीनेर मलाई के भन्न लागेको छ भने, अनुवादमा पोख्त हाम्रा विद्वानहरूले हाम्रा कृतिहरूलाई अन्य भाषाहरूमा अनुवाद गर्ने कि गुनासो मात्र गरिबस्ने, सुनाइरहने?

समयबोध कविता सङ्ग्रहका अधिकांश कविताहरुले बिग्रिँदै गइरहेको समाजलाई खबरदारी गरेको छ अथवा भनौं समाज सरोकारको कुरा गरेको छ। तपाईंलाई के लाग्छ कविता लेखेर अथवा कविताले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउन सक्छ?

कविताले समाजलाई सकारात्मक दिशातर्फ आफै डोहोऱ्याउँछ भन्ने होइन। कविता त स्वच्छ, सबल र सही समाजको दिशा र दशा निर्धारणका लागि एउटा माध्यम हो। हाम्रा समाजमा यी कुराहरू नराम्रो भइरहेका छन्, यी कुराहरू यस्तो हुनुपर्छ भनेर कविताले बाटो देखाउने हो। कविताले देखाएको बाटोमा हिँड़्नु पर्ने त तपाईं-हामीले नै हो। एउटा कुरा महत्त्वपूर्ण हो, कविताले देखाएको बाटो चाहिँ कृत्रिम नभएर इमान्दार हुनुपर्दछ।

अचेलका पाठकहरूले कवितै पढ्दैन भन्ने गुनासो गर्छन् नि कविहरू। तर तपाई भने चाहिँ कविता नै लेखिरहनु भएको छ। तपाईले कविता लेखेर अनुभव गरे अनुसार अचेलको पाठकहरूले कविता पढ्दा रहेछन् कि नपढ्दा रहेछन् त?

यो गुनासो धेरै हदसम्म साँचो पनि हो, धेरै हदसम्म झूटो पनि। कविता मात्र किन अरू कुराबाट पनि मानिसहरू टाढ़ा गइरहेका छन्। अहिले त दार्जीलिङको प्रसङ्गमा कविता धेरै भाग्यमानी लाग्छ मलाई। किनभने कविता पढ़्ने सङ्ख्यामा लगातार वृद्धि भइरहेको छ। मेरै कविता सङ्ग्रह पनि कति छिट्टै प्राय: बिक्री भइसक्यो।

तपाईं अग्रज कवि भएको हिसाबले नयाँ पुस्ताले तपाईलाई साहित्यिक अभिभावकको रूपमा पनि मान्छन्। तपाईंको दृष्टिकोणमा चाहिँ नयाँ पुस्तालको उपस्थिति कस्तो छ?

एउटा कुरा स्पष्ट पारिहाल्छु, म उमेरले अलिक बढ़ी हुँला तर लेखनले अग्रज भइहालेको छुइनँ भन्ने कुरा इमानदारीपूर्वक स्वीकार्छु। जहाँसम्म अभिभावक मान्ने कुरा छ, त्यो के हो भने लेख्न शुरु गर्दै गरेका र स्थापित भइसकेका मभन्दा उमेरमा साना भाइ-बहिनीहरूसँग खुब मिल्छु। उनीहरूको कविता ध्यान लगाएर सुन्छु। उनीहरूले गर्ने सबैप्रकारका कार्यक्रममा खटिन पुग्छु। त्यसैले उनीहरूले मलाई अभिभावक मानेका हुनसक्छन्।

जहाँसम्म नयाँ पुस्ताको उपस्थितिबारे प्रश्न छ, त्यो अत्यन्त उज्यालो, उत्साहप्रद सुखद लाग्छ मलाई। यद्यपि उनीहरूले आफ्नो लेखनलाई  निरन्तरता दिनुपर्ने साथै लेखनलाई स्तरीय बनाउन अध्ययन गर्नुपर्ने अनिवार्य कुरा हो। मलाई लाग्छ, नयाँ पुस्ताले देखाइरहेको यो उज्यालो सम्भावना उनीहरूको निरन्तरताले अझ अझ चहकिलो हुँदै जानेछ भन्ने लागेको छ।

एकजना कविलाई समाजले कस्तो दृष्टिकोणले हेर्दो रहेछ? तपाईको अनुभवमा?

यससम्बन्धमा साहित्य अलिक अभागी नै छ। यद्यपि समयसँगै कवि-लेखकहरूलाई हेर्ने दृष्टिकोण पनि फेरिँदै गइरहेको अनुभूत गर्नेगर्छु। आखिर कवि-लेखक पनि मानिस नै हुन्। समाज र कवि लेखकहरूको दुवैप्रति उत्तरदायित्व र जिम्मेवारी पनि छँदैछ।

साहित्यदेखि अलिक बाहिर गएर कुरा गरौं लाग्यो। भन्नुस् त, तपाईं जीवनमा कति पटक दुखी हुनु भएको छ र कति पटक खुसी हुनु भएको छ?

यो अलिक अप्ठ्यारो प्रश्न भयो कि लाग्यो मलाई। किनभने मानिसहरूले जीवनका दुःख र सुखलाई गनिबस्दैनन्। यद्यपि म इमानदारपूर्वक भन्नसक्छु म जीवनमा दुःखमा रोएको भन्दा सुखमा हाँसेका घटना नै धेरै छन्। भनौँ सय पटक दुःखी भएकीछु। हजार पटक खुशी भएकी छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया