साधारण र शक्तिशाली कविता सङ्ग्रह- नि:शब्द उत्तर

पुस्तक

सबैलाई स्वतन्त्रता मनपर्छ। स्वतन्त्रताको परिभाषा तर कैदमा पर्नेहरुलाई अझ मजाले थाहा हुन्छ। कैद भनौं वा बन्धन। हामी हरेक पनि कुनै न कुनै रुपले बन्धनमा छौं। हामी जकड़िएका छौं। पिल्सिएका छौं ।जहाँ स्वतन्त्रताको द्वारहरु खोलिएको धेरै भयो यहाँ हिँड़्ने बाटोहरु काड़ामय छन्। त्यो काड़ाहरु हामी स्वयं पनि हौं। यसैले स्वतन्त्र देखिने हामी अझ पनि स्वतन्त्र बनिसकेका छैनौ र नै त कविले ‘समय र गति’,प्रतिकूलता,स्वतन्त्रता दिवस,नि:शब्द उत्तर जस्ता कविताहरु लेखेका छन्


इस्माइल सुब्बा


म कविता पढ्छु। कविता पढ़्दाको आनन्दानुभूति लेख्न छैन मलाई आज। भन्दा पनि भारतीय नेपाली साहित्यमा अहिले युवाहरुको उपस्थिति लोभ लाग्दो छ। कवितामा अझै बढी। सायद यो मलाई लागेको मात्र हुनसक्छ। प्रत्येक मान्छे कवितासँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका हुन्छन्। नजोडिएका सायदै होलान्। मलाई लाग्छ-यो सारा सृष्टि कविता हो। देखिएको हरेक दृश्य कविता हो। सूर्योदयदेखि सूर्यास्तसम्म। किनभने समय र घटनाको समागमा उत्पन्न हुन्छ बिषय। संसारको हरेक कुराले दिने थोक भनेकै विचार र मनन गर्ने बिषय हो। कतिले यसलाई गम्भिर रुपमा लिँदैनन्,त्यो केवल उपहास बनिन्छ,कतिले यसलाई मनमा गुनेर,विमर्श गरेर प्रकटा गर्छन् भाव र विचारहरु आफ्नै शैलीमा,आफ्नै प्रकारले,तब सृजना बन्दछ, कविता बन्दछ।

हरेक सबैमा विचार हुन्छ,भावना हुन्छ, आक्रोश हुन्छ। यस्ता थुप्रै प्रसंगहरु हुन्छन् तर हर कोहिले ‘कविता’ को रुप दिन असमर्थ बन्छन्। थोरै कम हुन्छन्, जसले यही असमर्थतालाई अध्य्यन र गम्भीर साधनाद्धारा समर्थतामा परिवर्तन गर्न सक्छन्। यस्तै एउटा नाम हो- आरती ठकुरी।

दुइ पटक भेट भएको तर त्यति परिचय साट्नु र बोल्न नपाएको एउटा नाम छ। उनी यही युवा कविहरुको लश्करमा उभिन्छन्। साक्षत रुपमा गफ नभएको उनै कवि हामी सबैसँग काव्य संवाद गर्न आएकी छिन्। हामीले सोचेको विचारहरुको, बिषयहरुको, प्रश्नहरुको लामो लश्करलाई टपक्क टिपेकी छिन् र उतारेकी छिन् कवितामा।

प्रकृतिसँग जोडिनु भनेको जहिले नविन कुरा सिक्नु हो। यस्ता थुप्रै प्राकृतिक सौन्दर्यले भरिएको दार्जीलिङभित्र अनेकौं जगाहरु छन्। त्यसमध्ये हो ‘चौरस्ता’ पनि। प्रकृतिसँग जीवनको उर्जा व्यप्त हुन्छ। निराश र हतास भएको मनलाई सम्हाल्ने र साहस दिने सामर्थ्य हुन्छ। गलेको अवस्थामा दिने प्रेरणा हुन्छ।

मैले कतै पढेको थिए- Read the poems,not the poets. कतिले कवि मात्रै पढ्छन्। म पुरा प्रयास गर्छु कविताहरु पढ्ने,केवल कविहरुमात्रै नपढ्ने। यहाँ पनि मैले कविताहरु पढेर केही लेख्न चाहे,स्विकार्य होस्।

जिन्दगीका थकान मेटाउने बूढ़ा बेन्चीहरुलाई / कसैको आगमनमा आँखा बिछ्याई / प्रतीक्षारत ओठहरुलाई / टुटेका-फुटेका मनहरुलाई प्रत्येक बिहान र साँझ सम्झाउन सक्ने / अहो! / कस्तो शक्तिशाली चौरस्ता! -दार्जीलिङ

आरतीजी लाई सा-साना कुराहरु पक्रिनु मनपरेको कुरा थाहा लाग्छ, जब उनका कविताभित्र पस्छौं। सम्बन्धहरुको एक-एकवटा पाटाहरुलाई केलाउने कवि हुन् भन्ने थाहा पाउँछौं। सम्झनाको डोरीले सम्बन्धको डोरीहरु अझ गहिरो हुने संकेतहरु छन्। ह्याप्पी बर्थडे प्रिय!,सम्झना,जीवन घाम पानी,कविताहरु साक्षी हुन्। सम्बन्धलाई सुकोमल, सुलभ र सुन्दर बनाउनु पर्छ,जीवन रहुञ्जेल यसलाई समात्नु पर्छ भन्ने संदेश छ उनको, तस्विर कवितामा।

परदेशी भएर जिउनुको अर्थ परदेशीलाई नै थाहा हुन्छ। कवि परदेशीएका छन् वा छैनन्,म अञ्जान छु,तर उनले जस्ताको तस्तै कवितामा पर्देशी मनलाई उतारेका छन्।

मैले सम्झिए घरबाट टाढ़ा बसेको ती दिनहरु / कोशौं टाढ़ा छोड़िराखेका मायाका पोकाहरु/ रुन्छ एउटा परदेशी मन। –परदेशी मन

मैले भनिहालें, प्रकृतिसँग उर्जा हुन्छ। जब एकान्तमा हामी प्रकृतिसँग समय बिताउँछौ तब नौलो उर्जा थपिन्छ। हामीलाई प्रकृतिले जीवन जिउने प्रेरणा दिइरहेको हुन्छ। यस्तैमा चौरस्ता भिड़ले घेरिएको भएता पनि त्यो सौन्दर्यको सामर्थ्य बोकेर हिड़ेको आभाष दिलाउँछ कविताले। कतिले त्यही चौरस्तामा निराश र हतास भएको बेला खुशी पाएको हुन सक्छ निश्चय नै र त लेखिएको छ- दार्जीलिङ्गको बारेमा । जब पनि लेखिन्छ सुन्दर कुराहरुसँगै यहाँको कतिपय धुमिल बनाउने अवस्था र व्यवस्थाहरु स्वत झल्कनु स्वाभविक हो-र त उनि लेख्छन्, यसरी- दिनहुँ मरिरहेछ सिमानामा दार्जीलिङ -दार्जीलिङ

सबैलाई स्वतन्त्रता मनपर्छ। स्वतन्त्रताको परिभाषा तर कैदमा पर्नेहरुलाई अझ मजाले थाहा हुन्छ। कैद भनौं वा बन्धन। हामी हरेक पनि कुनै न कुनै रुपले बन्धनमा छौं। हामी जकड़िएका छौं। पिल्सिएका छौं ।जहाँ स्वतन्त्रताको द्वारहरु खोलिएको धेरै भयो यहाँ हिँड़्ने बाटोहरु काड़ामय छन्। त्यो काड़ाहरु हामी स्वयं पनि हौं। यसैले स्वतन्त्र देखिने हामी अझ पनि स्वतन्त्र बनिसकेका छैनौ र नै त कविले ‘समय र गति’,प्रतिकूलता,स्वतन्त्रता दिवस,नि:शब्द उत्तर जस्ता कविताहरु लेखेका छन्,हेरौ केही हरफहरु-

कान्छा!आजकल पिरती नाकबन्दीमा छ।/ मन भोक हड़तालमा छ।/  जिन्दगी सरकारको हातमा छ/- समय र गति

लङ्की थापाथाप गरेर आफैमा लड़िरहन्छन्/  देशको समय फुत्त फुत्त उफ्रिँदैछन् उसको हातबाट/ अब स्वतन्त्रता स्वतन्त्र हुने पर्खाइमा छ/-स्वतन्त्रता दिवस

झरीभन्दा अघि पर्दैन देशको आँखा/ गाउँमा जब तुहिन्छन् गाउँका देवलहरु /तब ओढ़ाउँछ देशले एउटा कालो कात्रो गाउँलाई।/   के ढाक्ला र त्यस कात्रोले एउटा सिङ्गो गाउँ!/के जगाउन सक्छ मरेको गाउँलाई देशले।/-पहिरो

स्वतन्त्रता र सुरक्षाको परिभाषा उसलाई रित्ता थाल र बटुकोले बुझाएको हो।

उपर्युक्त पंक्तिहरु सशक्त छन् जसले हाम्रै वर परको कुराहरु बोकेको छ।

भिक्टिमाइज कविता यथार्थ हो। हाम्रो जीवनको चलखेल एक्स रे गर्ने कविता हो। मान्छेले मान्छेलाई अचेल गरिरहेको प्रयोग र व्यवहारको ऐना हो। यो कविताले केही लुकाएको छैन। मान्छेमा हुनुपर्ने कुराहरु नभएको यथार्त चित्रण हेर्ने चश्मा हो यो कविता। यस्तै भएको छ मान्छे,कतै म पनि यस्तै छु की प्रश्न उठ्छ आफै।

बाबुको कर्तव्य र भूमिका देखाउने कविता हो कोठेबारी। सुन्दर प्रकारले उनले कुरा भन्छिन्। यसरी-

सप्पैभन्दा ठूलो कुरो त झुल्काइदिनु छ/ प्रत्येक बिहान एउटा ठूलो घाम /छोरो,छोरी र श्रीमतीको आङमाकोठेबारी।

चियाबारीको कथा र मर्म बोकेको छ -प्यारालाइज्ड चियाबारी’ले। यो सङ्घर्षको गाथा कहिले सम्म चलने हो कोनी? घरी घरी चियाबारी पढ्दा उठ्ने प्रश्न हो यो।

आरतीजीले शहिदलाई भूलेका छैनन्,जसरी भूलेकी छैनन् उनीहरुको आमाले। उनले बिर्सेका छैनन् शहिदको योगदान र उनीहरुको आमाले भोगेको पीड़ाहरु,सबै ठिम्याएर हेरेकी छिन्। देशले शहिदको परिवारको लागि थुप्रै वाचा गरेता पनि आमाले धेरै कुरा भोगिरहेको कुरा र देशको व्यवस्था  उदाङ्गो पार्न लेखेकी छिन्- तर ग्रामीण डाकघरदेखि देशको डाकघरसम्म त्यो चिट्ठी पुग्न सक्यो वा सकेन/ आमालाई थाह हुँदैन।-27 जुलाई

समग्रमा आरती जीले कविता बुन्छिन् हामीसँगै जोड़िएको बिषयहरु लिएर। ती जटिल छैनन्,साधारण छन् तर शक्तिशाली। उनको कविताले बोकेको संदेशले बताउँछ उनको विचारको अग्लोपन,जो कविता हुन्। प्राय प्राय भत्किएको र उताड़ चढावका कुराहरु टिपेकी छिन्,जो यथार्थ हुन्। मिहिन केलाई छ कविताहरुमा। निश्चय यी कविताहरुले हामीलाई निरुत्साहित गर्दैन तर ती बिषयमा सचेत गराउँछन्,सोच्ने र मनन गर्ने बनाउँछ भन्दा अन्यथा नहोला। कविमा बधाई औ शुभकामना। रहल कुरा वरिष्ठ र अग्रजहरुले गर्नुहुन्छ, म विश्वस्त छु।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया