भाजपालाई विस्तार हुनदेखि रोक्नु हो भने राजनैतिक पुलिस कार्यवाही बन्द गर्नु पर्छ

विचार

यदि राज्यको तृणमूल सरकार भाजपालाई विस्तार हुनदेखि रोक्न चाहन्छ भने राजनैतिक पुलिस कार्यवाही बन्द गर्नु पर्छ।  नत्र हामी जस्ता भाजपा विरोधी विचारधारा भएकाहरु  पनि भाजपाको विचारधारालाई अनुसरण गर्न बाध्य पर्नेछन्।


प्रवीण गुरुङ


२८ नोभेम्बरमा भएको गोजामुमो  बिमल पन्थीको सभापछि दार्जीलिङका जनताले दार्जीलिङ पहाडमा गणतन्त्र स्थापना भएको आभास भएको मात्र थियो, पुलिस कार्यवाही शुरु भइहाल्यो।

बङ्गालको सत्ताधारी पार्टी  तृणमूल कङ्ग्रेसले पहाडमा भाजपाको विस्तार होस् भन्ने नै चाहेको स्पष्ट हुन्छ। बिमल पन्थी गोजामुमो  समर्थकहरुमाथि बङ्गाल पुलिसको कार्यवाही देख्दा।

२०१९ को लोकसभा चुनावको परिणामले स्पष्ट के हुन्छ  भने मुद्दा भन्दा ठूलो जनतामा राज्यको  सत्ताधारी पार्टी तृणमूल कङ्ग्रेसमाथि प्रतिशोधको धारणा थियो। त्यसैको परिणाम भाजपाले १८ वटा आसन प्राप्त गर्न सक्षम भयो।

किन भने बङ्गाल जस्तो धर्मनिरपेक्ष  राज्यमा कट्टर हिन्दु धर्ममा आधारित भाजपा पार्टीले १८ वटा लोकसभा आसन पाउन सफल हुनु भनेको आश्चर्यजनक नै हो, जुन राज्यमा कामियूनिष्टहरुले ३४ साल धर्मनिरपेक्षताको आधारमा सरकार चलाए।

जहाँसम्म दार्जीलिङको सन्दर्भ छ, दार्जीलिङ्ग लोकसभा आसनमा भाजपाले  ७ लाख मत प्राप्त गर्नुको मुख्य कारण नै बङ्गाल सरकारको गलत नीति अनि बङ्गाल पुलिसको २०१७ को  कार्वाही हो।

नत्र १६ वटा जातीय बोर्डलाई करोडौं रुपियाँ दिएर साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा पनि  करोडौं फन्ड अनि स्कूलहरुमा नै नभएको व्यक्तिहरुलाई शिक्षक नियुक्ति दिएर पनि ३ लाख मत प्राप्त गर्नु पर्ने परिस्थिति हुँदैन थियो।

दार्जीलिङ पहाडमा २०१४ को चुनावमा भाजपाले जे जति गोर्खाहरूलाई  बाचा दिएको थियो, कुनै पनि पुरा गर्न सक्षम भएन। यहाँसम्म कि २०१७ को आन्दोलनमा क्षेत्रीय सांसदले  बङ्गाल पुलिसको गोलीद्वारा सहिद भएका परिवारसम्मलाई भेट्न त  छोडौं सहनुभूतिसम्म प्रकट गरेन।

भाजपाले  गोर्खाहरुले  गरेको आन्दोलनलाई समर्थन गर्नु छोडौं, उल्टो विरोध गऱ्यो। र पनि भाजपाले ७ लाख मत प्राप्त गऱ्यो किन ?

त्यसको कारण स्पष्ट छ, आज पनि बिमल गुरुङलाई उनका समर्थकहरूले नेता मान्छन्। आज पनि बिमल गुरुङको आदेशलाई उनीहरू पालन गर्छन्। गोर्खा जातिलाई थाहा छ बिमल गुरुङको यो अवस्था हुनुको कारण भाजपा नै हो भनेर। यदि भाजपा बिमल गुरुङ अनि गोर्खाहरुप्रति इमान्दार हुनु हो भने आज बिमल गुरुङ अनि समर्थकहरुको यो अवस्था हुने थिएन।

१८ जुलाई २०११ मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चुक्ति भएर जब कानुन बनियो त्यति बेला नै संसदमा गोर्खा पर्वार्तीय परिषदलाई अनुच्छेद २४३ (M) अन्तरगत जुन पञ्चायती राजको अधिकार प्रदान गरेको थियो, सो अनुच्छेद २४३ (M)   संसोधन गरेर अनुच्छेद २४३ (M) अन्तरगत जुन पञ्चायती राजको अधिकार थियो, त्यो GTA लाई दिन  पर्ने थियो।

तर त्यति बेला यूपीए सरकारमा वर्तमान राज्य सरकारमा भएको पार्टी पनि यूपीए सरकारमा भएकोले दागोपापलाई दिएको अधिकार संशोधन गरि जिटिएलाई दिएन। अथवा संशोधन गरिएन।

तर जब २०१४ मा भाजपा सरकारमा आयो,  अनुच्छेद २४३ (M)  संशोधन गर्दा 11 जातिलाई जनजातिको दर्जा प्रधान गरी संविधान को धारा २४४ अन्तर्गत अलग राज्य नभएसम्म गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई अधिक शक्तिशाली बनाएर बिमल गुरुङलाई सुरक्षा प्रधान गर्न सकिन्थ्यो।

तर भाजपाले त्यसो गरेन। बिमल गुरुङलाई विस्थापित गरेर नै छोड्यो। आज बिमल गुरुङ अनि पाँच हजार भन्दा बेसी समर्थकहरु आफ्नो कर्मभूमिदेखि बाहिरिनु परिरहेको छ।

दार्जीलिङ ,तराई अनि डुवर्सका समर्थकहरु उकुस मुकुस हुँदै चुनाव जितेको एक महिनामाभित्रमा ‘तपाईंहरुको नेता बिमल गुरुङलाई फर्काएर ल्याउने छु’ भने भाजपा सांसद अनि विधायकले। विमल समर्थकहरू अझ पनि आशा राखेर पर्खेर बसिरहेका छन्।

यो सत्य हो, गोर्खाहरुको दीर्घकालिन माग  समाधान गर्नको निम्ति सांसदभन्दा इमान्दार भारतीय जनता पार्टी हुनुपर्छ। सांसदले आफूले गर्नपर्ने, उठाउन पर्ने, विषयहरु उठाइरहेका छन्।

तर जबसम्म भाजपाले इमानदारीपूर्ण ठोस निर्णय, कदम उठाउदैन तबसम्म सांसदले जतिनै गोर्खाहरुको दीर्घकालिन  माग संसदमा उठाए पनि केही हुन सक्दैन !

तयार नही काजी तो क्या करें पाजी?

देशमा आर्थिक अवस्था, बढ्दो रोजगारको समस्या , घट्दो विकाश दर, सरकारी संस्थाको निजीकरण अनि देशमा बढ्दो हिन्दु कट्टरवाद, प्राप्त अन्तरराष्टिय बाणिज्य  मान्यता, विश्व व्याङ्कद्वारा प्रदान गरिको विकाशील देशको मान्यता गुमाएको कारण देश जुन अवस्थामा छ, उहबाट हाम्रो उन्मुक्तिको लडाईं  सम्भव हुँदैन।

जे जति पनि गर्नुपर्छ, त्यो गोर्खा जाति आफैले नै गर्नु पर्छ। तर यस्तो परिस्थितिमा पनि तृणमूल सरकारले भाजपादेखि गोर्खाहरुको मोहभङ्ग हुन दिँदैन।

तृणमूल सरकारले बाध्य बनाउछ, भाजपासँग जोडिएर,  मिलेर बस्नु। यहाँसम्म कि भाजपामा नै सदस्याता ग्रहण गराउनु पनि बाध्य गराउँदैछ।

यसरी नै तृणमूल सरकारले बिमल पन्थी गोजाममो समर्थकहरुलाई पुलिस कार्यवाही गरिरह्यो भने आज होइन भोलि बिमल पन्थी गोजाममो समर्थकहरु भाजपामा जान वा भाजपीय बन्न बाध्य पर्नेछन्।

किन भने बिनय अनि अनित खेमा मोर्चामा त उनीहरू जाँदैनन् नै।  भाजपाको विस्तार, धर्मनिरपेक्ष देश र समाजको निम्ति दुर्भाग्यपूर्ण त हो ! तर यस्तै पुलिस कार्यवाही भइ रह्यो भने भाजपा बिमल पन्थी गोजमुमोको निम्ति उचित विकल्प पनि हो।

यदि राज्यको तृणमूल सरकार भाजपालाई विस्तार हुनदेखि रोक्न चाहन्छ भने राजनैतिक पुलिस कार्यवाही बन्द गर्नु पर्छ।  नत्र हामी जस्ता भाजपा विरोधी विचारधारा भएकाहरु  पनि भाजपाको विचारधारालाई अनुसरण गर्न बाध्य पर्नेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया