भाजपाको व्याकरणमा पहाडको कम्युनिष्ट पार्टी : भाजपाले ‘गोर्खाल्याण्ड’ भन्नु हुँदैन-क्रामाकपा

दार्जीलिङ, 2 दिसम्बर


भर्खरै भाजपा सांसद राजु विष्टको सहयोगमा दिल्ली पुगेका पहाडको कम्युनिष्ट पार्टी क्रामाकपाका नेताहरूले भाजपाले गोर्खाल्याण्ड नभन्नु नै उपयुक्त रहेको आशय प्रकट गरेका छन्। भाजपालाई स्थायी राजनैतिक सामाधानको नाम के हो भन्ने प्रश्न राखेर सांसद राजु विष्टमाथि दवाव शुरु गर्ने क्रामाकपाका नेताहरूले दिल्लीबाट फर्किने वित्तिकै भाका फेरेका छन्। क्रामाकपाले दार्जीलिङमा हिजो भन्यो, ‘भाजपाको मुखबाट जबरजस्ती गोर्खाल्याण्ड शब्द निकाल्ने दवाब नवान्नबाट आएको निर्देश हो।’

स्मरण रहोस्, पहाडबाट सांसद राजु विष्ट र अनि भाजपालाई शीतकालीन सत्रअवधि नै ‘स्थायी राजनैतिक सामाधानको नाम के हो बताउ’ भनेर क्रामाकपाले नै पोष्टरिङ गरेको हो। प्रेस वयानहरूमा पनि क्रामाकपाले वारम्बार आफूहरूले स्थायी राजनैतिक सामाधानलाई ‘गोर्खाल्याण्ड’ नै बुझेको तर आफूले बुझेको सही हो होइन भाजपाले बताउनुपर्ने क्रामाकपाको माग थियो।

क्रामाकपा नेता अरुण घतानी दिल्लीबाट फर्किने वित्तिकै अनित-विनयप्रति अचानक आक्रमक बने। नवान्नको निर्देशमा उनीहरूले भाजपाको मुखबाट ‘गोर्खाल्याण्ड’ शब्द बोल्न लगाइरहेको तर भाजपाले ‘गोर्खाल्याण्ड’ शब्द उच्चारण नै गर्न नहुने उनको आशय थियो।

भर्खरै विमल पार्टी गोजमुमोका प्रवक्ता बीपी बजगाईँले पनि ‘भाजपाले गोर्खाल्याण्ड भन्यो भने 2021 को विधानसभा चुनाउमा बङ्गालमा भाजपा हार्ने भएकैले गोर्खाल्याण्ड शब्द भाजपाले उच्चारण नगरेको’ आशय प्रकट गरेका थिए। दिल्लीबाट फर्किने वित्तिकै भाजपाको त्यही व्याकरणमा बोलिरहेको क्रामाकपा नेताहरूलाई पनि देखियो।

राजु विष्टलाई दवाब दिन किन सामुहिक कार्यक्रम भइरहेको छैन भन्ने प्रश्न उठिरहेको छ। तर क्रामाकपाले भने प्रशासनले पहाडमा कार्यक्रम गर्न नदिएको र प्रशासनको दवाबको कारण नै दार्जीलिङ र दिल्लीमा सडक कार्क्रम गर्न नसकिएको बताएको छ।।

लोकसभा चुनाउको ठिक अघि क्रामाकपाले आफूहरू चुनाउ लड्न सर्वदलीय बैठक बोलाएर साझा मञ्च नै बनाएको थियो। सांसद विष्टलाई दवाब दिन भने किन एक्लै दिल्ली गएको भन्ने प्रश्न उठिरहेको छ। स्तोमा किशोर प्रधानले स्थलगतरूपमा राजनैतिक खडेरी रहेकोले नै क्रामकपा एक्लैले आफ्नो जिम्मेवारी पूरा गरेको जनाएका छन्।

उनले राजु विष्टको कार्यकालमा नै स्थायी राजनैतिक सामाधान हुने विश्वास क्रामकपामा रहेको त भने फेरि संसदमा दवाब बनाउन दुइ दिने संसदीय धर्ना गर्ने कार्यक्रमबारे पनि खुलाए। विष्टमाथि क्रामाकपाको विश्वास हो भने किन संसदमा धर्ना? यसबारे भने क्रामकपाले स्पष्ट पार्न सकेको छैन।

केही पार्टीका नेताहरू बाहिर (विदेश?) गएकोले  स्टेयरिङ कमिटीसमेत बनाउन नसकिरहेको पनि क्रामाकपाका नेताहरूले जनाएका छन्। ‘हामी भाजपा समर्थक दलहरूबीच पनि दवाब बनाउनको निम्ति सङ्गठित भएर पहाड र दिल्लीमा कार्यक्रम गर्ने माहौल नै छैन,’ प्रधानले भनेका छन्, ‘यता प्रशासनिक दवाब पनि छ। प्रशासनले केही गर्नै दिएको छैन। प्रशासनको दवाब नहटेसम्म हामी संयुक्तरुपले केही गर्न सक्तैनौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया