‘केही दलहरूको मुखमा मात्र गोर्खाल्याण्ड छ तर मनमा अर्कै छ’

विज्ञापन

दार्जीलिङ, 4 दिसम्बर


गोरामुमोले छैटौं अनुसूचीको वकालत गरिरहेको छ। भाजपाले स्थायी राजनैतिक सामाधानको कुरा गरिरहेको छ। यस्तोमा क्रामाकपाको वयान छ,  मुखमा गोर्खाल्याण्ड तर मनमा अरू कुरा बोक्नेलाई धर्नामा निम्तो गरिने छैन।

क्रामाकपा  प्रवक्ता गोविन्द छेत्रीले पत्रकारहरूसँगको कुराकानीमा अलग राज्य गोर्खाल्याण्ड गठनको विषयमा सरकारलाई दबाउ बनाउन दिल्लीको जन्तर-मन्तरमा दुइ दिवसीय धरनाप्रदर्शनीको आयोजना गरेको र धरनाप्रदर्शनीमा क्रामाकपाले गोजमुमो विमल गूट, गोरामुमो, सुमेटी मुक्ति मोर्चा, गोर्खालीग आदि गोर्खाल्याण्ड समर्थक राजनैतिक दलहरूलाई आमन्त्रित गरिएको बताए।

उनले भाजपा, काङ्ग्रेस, माकपा, गोजमुमो-2, तृणमूल काङ्ग्रेसलाई धर्नामा नबोलाएको खुलाएका छन्।

‘यस्ता राजनैतिक दलहरू पनि छन्,  जसको मुखमा मात्र गोर्खाल्याण्ड छ तर मनमा अर्कै छ, त्यस्ता राजनैतिक दलहरूलाई क्रामाकपाले धरनाप्रदर्शनी कार्यक्रममा आमन्त्रित गरेको छैन,’ छेत्रीले भने। गोर्खाल्याण्डकै लागि क्रामाकपा जन्मिएको र गोर्खाल्याण्डकै लागि नीति र सिद्धान्त नमिल्ने भाजपासँग गठबन्धन गरेको पनि उनले जनाए।

दार्जीलिङ अनि गोर्खाहरूको समस्या समाधान गर्न दार्जीलिङ गोर्खा पार्वत्य परिषद्‌देखि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको गठन गरिसक्दा पनि दार्जीलिङ तथा गोर्खाहरूको समस्या समाधान नभएको भन्दै  अब सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको गठन गर्नुपर्छ भन्ने आफूहरूको माग रहेको बताए।

मुखमा गोर्खाल्याण्ड तर मनमा अर्कै हुनेलाई नबोलाएको भएपनि मुख र मन दुवैमा गोर्खाल्याण्ड नभएको देखिने भाजपाप्रतिको धारणाबारे बुझ्दा उनले भने, ‘भारतीय जनता पार्टीको संकल्पपत्रमा उल्लिखित स्थायी राजनैतिक समाधान अरू केही नभएर छुट्टै राज्य गोर्खाल्याण्ड नै हो भन्ने हामीलाई विश्वास छ।’

8 र 9 दिसम्बर दिल्लीको जन्तर-मन्तरमा हुने दुइ दिवसीय धरना-प्रदर्शनीका लागि क्रामाकपा टोली 5 दिसम्बरको दिन दिल्ली प्रस्थान हुने भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया