गोरामुमोले सम्झियो मदन तामाङका हत्यारा :  हत्याराहरूले सजाय पाएको गोरामुमो हेर्न चाहन्छ

विज्ञापन

दार्जीलिङ, 6 दिसम्बर


दिल्लीमा सांसद राजु विष्टलाई भेटेर फर्किएपछि गोरामुमोले भनेको थियो, ‘राजु विष्टले शीतकालीन सत्रमा जनतालाई खुशीको खबर दिनेछन्। अहिले नै भन्यौं भने जनतालाई त्यतिखेर मजा आउँदैन भनेर नभनेका हौं।’

गोरामुमोले भनेको थियो, ‘सासंद राजु विष्टले शीतकालीन सत्रबाट हामीलाई ‘सरप्राइज’ दिने बचन दिएका छन्। त्यो दार्जीलिङको लागि खुशीको कुरा छ।  अहिले नै खुलासा गरियो भने त जनतामा खुशीको मजा नै हराउने छ। जनताले पनि खुशीको मजा लिउन् भनेर खुलासा नगरेको हो।’

राजु विष्टले जनतालाई पनि खुशीको खबर दिए, गोरामुमोलाई पनि सरप्राइज दिए। विष्टले केही दिनमा भने, ‘जबसम्म संविधानको अनुच्छेद 243 एम (3) रहन्छ तबसम्म दार्जीलिङ पहाड (दार्जीलिङ-कालेबुङ जिल्ला) मा कुनै पनि पञ्चायत चुनाव हुनेछैन। यसैले मैले संविधानको अनुच्छेद 243 एम (3) लाई संसोधन बील ल्याएर संशोधन गरियोस् भन्ने अपील केन्द्रिय ग्रामीण विकास मन्त्री नरेन्द्र तोमरसित गरेको छु।’

यो त्यो अनुच्छेद थियो, जसलाई गोरामुमोले गोरामुमोको सबैभन्दा ठूलो उपलब्धी मान्छ। गोरामुमोले यो ऐनलाई ऐन होइन दार्जीलिङको किपटकोरूपमा मान्छ। सांसद राजु विष्टले त्यहीँ धावा बोलेर गोरामुमोलाई सरप्राइज दिएदेखि यता गोरामुमोको राजनैतिक गतिविधि अर्कै मोडतिर हिँडेको देखिन थालेको छ।

स्पष्ट छ, गोरामुमो छैटौं अनुसूची नै पहाडको स्थायी राजनैतिक सामाधान मानेर बसेको छ। तर छैटौं अनुसूची बङ्गाल अधिनस्त व्यवस्था हो। यसमा कानून बनाउने अधिकार रहेकोले यसलाई यदि छुट्टै राज्य र युटी हुँदैन भने वैकल्पिक व्यवस्थाकोरूपमा लागू गरिनुपर्ने गोरामुमोको अडान हो।

जुन छैटौं अनुसूचीमा एनआरसीसमेल लागू नहुने भन्दै एनआरसीबाट भयभित जनतालाई राहत दिनेसमेतको अप्रत्यक्ष मन्तव्य गर्दै आइरहेको गोरामुमोले अचानक फेरि मदन तामाङका हत्याराहरू सम्झेको छ।

मदन तामाङ हत्याकाण्डमा विमल गुरुङ, रोशन गिरीलगायतका नेताहरूको नाम मुछिएको छ। त्यो मुद्दा जिउँदै छ।  गोरामुमो नेता मन घिसिङले हिजो फेरि  मदन तामाङ हत्याकाण्डका दोषीहरूले उचित सजाय पाउनुपर्ने बताएका छन्।

दार्जीलिङमा पत्रकारहरूसँग कुरकानी गर्दै घिसिङले यस्तो मत प्रकट गरेका हुन्। “मदन तामाङ हत्याकाण्डका दोषीहरूले सजाय नपाएको कारण न्यायको माग गर्दै उनकी धर्मपत्नी भारती तामाङ चौरस्तामा अनशन बसेकी थिइन्। उनको अनशनलाई गोरामुमोले पनि समर्थन जनाएको थियो’, उनले थपे, ‘किनभने गोरामुमोले मदन तामाङका हत्याराहरूले उचित सजाय पाएको हेर्न चाहन्छ।’’

मन घिसिङका अनुसार अनशनमा भएकी भारतीय तामाङलाई ऊर्जा र हिम्मत दिनका लागि चौरस्ता पुगेका उनीमाथि विभिन्न मुद्दा लगाइएको थियो। आज यसै मुद्दाको सुनवाइका लागि उनी अदालत पुगेका थिए।

उनले थप बताएअनुसार सर्वदलीय बैठकमा लिएको निर्णयानुसार स्व. मदन तामाङकी पत्नी भारती तामाङ चौरस्तामा अनशन बसेकी थिइन्।

‘उक्त अनशनलाई हामी पनि समर्थन जनाउन गएका थियौं। ताकि उनले अझै हिम्मत पाउन् भन्ने हाम्रो सोच थियो, तर त्यस अनशनलाई समर्थन जनाएको कारण हामीविरुद्ध मुद्दा दर्ता गरिएको थियो,’ उनले  अझ भने, ‘अहिलेसम्म पनि भारती तामाङ न्यायको प्रतीक्षामा छिन्, उनले न्याय पाइसक्नुपर्ने हो। त्यस घटनामा लिप्त दोषीहरूले सजाय पाउनुपर्ने हो। तर यति वर्ष बितिसक्दा पनि न्याय पाउन नसकेको स्पष्ट छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया