‘स्थायी राजनैतिक सामाधान यदि युटी हो भने त्यसमा छैटौं अनुसूचीको कवच हुनुपर्छ’

विज्ञापन

घिसिङले स्थायी राजनैतिक सामाधानलाई सबैले गोर्खाल्याण्ड नै बुझेको बताउँदै भने, ‘तर गोर्खाल्याण्ड भनेर मात्र हुँदैन। त्यसलाई स्पेशल स्टेटसले बाँधेको हुनुपर्छ। युटीको पनि कुरा हुँदैछ। तर युटीको पनि कवच हुनुपर्छ। युटीको कवच छैटौं अनुसूची हो। यही कारण भाजपाले भनेको स्थायी राजनैतिक सामाधान के हो? त्यो स्पष्ट हुनुपर्छ।’


दार्जीलिङ, 7 दिसम्बर


भर्खरै क्रामाकपाले खुलेर भन्यो, ‘स्थायी राजनैतिक सामाधान के हो भनेर सोध्नेहरू नवान्नको निर्देशमा बोल्नेहरू हुन्। भाजपाको मुखबाट गोर्खाल्याण्ड शब्द बोल्न लगाएर उनीहरू बङ्गालमा भाजपालाई चुनाउमा हराउने मुद्दा बनाइरहेका छन्।’ क्रामाकपाले त भाजपाले गोर्खाल्याण्ड शब्द भन्नु नहुने र 2021 मा बङ्गालमा भाजपाकै सरकार आउनुपर्ने कुटनैतिक अन्तर्य रहेको आशय नै प्रकट गरिसकेको छ।

क्रामाकपाले मुखमा गोर्खाल्याण्ड र मनमा अर्कै हुनेहरूलाई धर्नामासमेत नबोलाएको बतायो। तर गोरामुमोले भने न छैटौं अनुसूचीको मोह त्यागेको छ, न भाजपालाई के हो स्थायी राजनैतिक सामाधान? भनेर सोध्न छोडेको छ। छैटौं अनुसूची सम्झौता दिवस पालन गर्दै मन घिसिङले स्पष्ट पारेका छन्, ‘केन्द्र सरकारले भनेको स्थायी राजनैतिक सामाधान के हो?  केन्द्र सरकारले खुलेर भनिदिनु पऱ्यो। हामीले बुझेको र सोचेको त छुट्टै राज्य हो। तर भाजपाले बुझेको र सोचेको चाँही के हो त? हामीलाई झुलाएर राख्नु ठिक होइन।’

मन घिसिङले भाजपाको नियतमा सन्देह गरेका छन्। स्थायी राजनैतिक सामाधानबारे आफूहरूले बुझेको र केन्द्रले भन्न खोजेको कुरा मेल खाएन भने पहाडले फेरि धोका पाउन सक्ने सन्देह घिसिङले गरेका हुन्। उनले भनेका छन्, ‘केन्द्रले साँच्ची नै हामीलाई कति माया गर्छ, त्यो त मुख खोलेर भन्नु पऱ्यो।’

विमल खेमा गोजमुमो, भाजपा खेमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीलगायत केही दलहरूले अहिले स्थायी राजनैतिक सामाधानको नाम सोध्नेहरूलाई ‘नवान्नको निर्देशमा प्रश्न गर्ने’ भनेर आरोप लगाइरहेका छन्। विमल गुरुङ र आरबी राई अनुसार जसले पनि स्थायी राजनैतिक सामाधानको नाम सोद्धैछन्, उनीहरू 2021 को चुनाउमा भाजपालाई बङ्गालबाट हराउने मुद्दा खोजिरहेकाहरू हुन्। विमल र आरबीअनुसार भाजपाले ‘गोर्खाल्याण्ड’ शब्द उच्चारण गऱ्यो भने बङ्गाली भोटर्सले ‘बङ्गभङ्ग’ गर्ने दल भनेर भाजपालाई भोट दिँदैन। ममता व्यानर्जीले भाजपाले उच्चारण गरेको गोर्खाल्याण्ड शब्दलाई बङ्गभङ्ग गर्ने दलकोरूपमा प्रचार गरेर भाजपालाई सरकारमा आउनमा रोक लगाउने मन्त्रकोरूपमा प्रयोग गर्ने छन्।

गोर्खाल्याण्ड शब्दले बङ्गालको चुनावी राजनीतिमा गतिलो अर्थ राख्ने भन्दै विमल गुरुङ, आरबी राईलगायत भाजपा खेमा दलहरूले भाजपाले ‘गोर्खाल्याण्ड’ शब्द उच्चारण गरेर ममता व्यानर्जीलाई चुनाउ जिताउने मुद्दा दिनु नहुने आशय प्रकट गरिरहेका छन्।

यता मन घिसिङले भने 2021 मा बङ्गालमा ‘भाजपाले सरकार बनाएमात्र हाम्रो स्थायी राजनैतिक सामाधान हुन्छ भनेर हुँदैन’ भनेका छन्। ‘बङ्गालमा भाजपाको सरकार आए पनि नआए पनि हाम्रो स्थायी राजनैतिक सामाधान हुनुपर्छ,’ घिसिङले भनेका छन्, ‘भाजपालाई 10 वर्ष दिइसकेका छौं। अब फेरि 5 वर्ष दिँदैछौं। यही 5 वर्ष भाजपाको अग्निपरीक्षा हो। यसपाली पनि केही हुन नसके केन्द्र सरकारबाट जनताको विश्वास उठ्नेछ।’

अर्कोतिर घिसिङले स्थायी राजनैतिक सामाधानलाई सबैले गोर्खाल्याण्ड नै बुझेको बताउँदै भने, ‘तर गोर्खाल्याण्ड भनेर मात्र हुँदैन। त्यसलाई स्पेशल स्टेटसले बाँधेको हुनुपर्छ। युटीको पनि कुरा हुँदैछ। तर युटीको पनि कवच हुनुपर्छ। युटीको कवच छैटौं अनुसूची हो। यही कारण भाजपाले भनेको स्थायी राजनैतिक सामाधान के हो? त्यो स्पष्ट हुनुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया