जल्यो क्याबको खेस्रा : ‘राजु विष्टले संसदमा हामीले उठाइरहेको मागलाई नै उठान गरे’

विज्ञापन

क्याब र एनआरसी एका-अर्काको पूरक हो। यसर्थ गोर्खा क्याब र एनआरसीबाट मुक्त हुन पर्छ।  ‘एनआरसीको चर्चा उठ्‌नसाथ हामीले गोर्खाहरूलाई ‘अरिजिनल इनह्याभिटेन्ट’ बनाएर ‘प्रोटेक्टेड लिस्ट’-मा अन्तर्भुक्त गर्नुपर्छ भन्ने माग गर्दै आइरहेका छौं। विधायक नीरज जिम्बाले एनआरसीले इस्कुस-फर्सीलाई पनि छुँदैन भने। सांसद राजु विष्टले पनि गोर्खाहरूलाई एनआरसीले छुँदैन भने। तर संसदमा हामीले उठाइरहेको मागलाई नै उठान गरे,’ विनय तामाङले भने, ‘यसको अर्थ जनताले बुझ्नुपर्छ। कसले सही भन्दैछ अनि कसले गलत मार्गदर्शन गर्दैछ। हामी क्याब र एनआरसीलाई लिएर गम्भीर छौं।’


कालेबुङ, 13 दिसम्बर


क्याब र एनआरसीबाट गोर्खाहरूलाई बाहिर राख्नुपर्ने भन्दै मिरिकमा गोजमुमोले बीलको खेस्रा जलाएको छ। गोजमुमो अध्यक्ष विनय तामाङ आफै उपस्थित बनेको प्रदर्शनलाई सम्बोधन गर्दै क्याबको धारा 5, 7 र 14 ले गोर्खाहरूलाई प्रभावित पार्ने बताए। ‘हामीले दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र अलिपुरद्वारा जिल्लालाई यसबाट अलग राख्नुपर्ने माग गरिरहेका छौं। जसरी उत्तर पूर्वाञ्चलका धेरैवटा जिल्ला र काउन्सिल तथा सिक्किम राज्यलाई यसबाट अलग राखिएको छ,’ तामाङले भने, ‘त्यसरी नै दार्जीलिङ, कालेबुङ, जलपाइगढ़ी र अलिपुरद्वार जिल्लालाई पनि क्याबको दायरादेखि अलग राखिनुपर्छ।’

तामाङले भनेअनुसार जुन शरणार्थीहरूलाई भारतको नागरिकता दिने निर्णय गरेको छ वास्तवमा उनीहरूलाई नागरिकताको प्रमाण-पत्र दिएर मात्र हुँदैन बस्ने ठाउँ पनि दिनुपर्छ। तर ती शरणार्थीहरूलाई दार्जीलिङ, कालेबुङ, तराई, डुवर्समा प्रसय दिनु हुँदैन।

‘मुख्यमन्त्री ममता ब्यनर्जी के गर्छिन्‌, थाहा छैन तर हामी हाम्रो क्षेत्रमा राख्न दिनेछैनौं,’ गोजमुमो अध्यक्षले भने, ‘यस किसिमको बीलले भारतीय गोर्खाहरूलाई आज असर नपर्ला, भोलि नपर्ला तर पर्सी त अवश्य असर पर्छ। यसैले हामी बेलैमा सचेत हुन आवश्यक छ। हामी हाम्रो भूमिसितै भारतमा गाभिएका हौं। हाम्रो क्षेत्र ‘ट्रिटी अब्लिगेटिभ एरिया’ हो। ‘सेन्सिटिभ एण्ड कम्प्लिकेटेड’ एरिया हो। भोलिको दिनमा कुरा बिग्रिएर जानसक्छ। यसर्थ हामीले समस्या उत्पन्न हुन अगावै केन्द्र सरकारलाई समाधानको माग गरिरहेका छौं।’

उनीअनुसार क्याब र एनआरसी एका-अर्काको पूरक हो। यसर्थ गोर्खा क्याब र एनआरसीबाट मुक्त हुन पर्छ।  ‘एनआरसीको चर्चा उठ्‌नसाथ हामीले गोर्खाहरूलाई ‘अरिजिनल इनह्याभिटेन्ट’ बनाएर ‘प्रोटेक्टेड लिस्ट’-मा अन्तर्भुक्त गर्नुपर्छ भन्ने माग गर्दै आइरहेका छौं। विधायक नीरज जिम्बाले एनआरसीले इस्कुस-फर्सीलाई पनि छुँदैन भने। सांसद राजु विष्टले पनि गोर्खाहरूलाई एनआरसीले छुँदैन भने। तर संसदमा हामीले उठाइरहेको मागलाई नै उठान गरे,’ विनय तामाङले भने, ‘यसको अर्थ जनताले बुझ्नुपर्छ। कसले सही भन्दैछ अनि कसले गलत मार्गदर्शन गर्दैछ। हामी क्याब र एनआरसीलाई लिएर गम्भीर छौं।’

उनले 19 दिसम्बरको दिन दार्जीलिङ, कालेबुङ जिल्लापाललाई ज्ञापन-पत्र चढ़ाउने अनि जिल्लापालको माध्यमबाट प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि पत्राचार गर्ने अवगत गराउँदै 23 दिसम्बरदेखि 27 दिसम्बरसम्म केन्द्र सरकार अधिनस्थ विभागहरूमा धर्ना प्रदर्शन र घेराउ गरिने बताएका छन्।

‘हाम्रो आन्दोलन गणतान्त्रिक हुन्छ, बम बारूदको खेलले कुनै पनि सफलता हात लाग्दैन। केन्द्र सरकारलाई चाप दिन पार्टी केन्द्रिय कमिटीको छलफल सभा गरेर आन्दोलनलाई राष्ट्रिय रूप दिन रणनीति तयार गरिने छ,’ उनले भने।

तामाङले भाजपाले धर्मको नाममा देशलाई अलग-थलग बनाउने प्रयास गरिरहेको बताए। ‘जति-जति विदेशमा हिन्दुहरू प्रताड़ित हुन्छन्‌ उति-उति नै शरणार्थी भएर भारत पस्छन्‌। यस्ता शरणार्थीहरूलाई धर्मको नाममा नागरिकता दिरह्‌यो भने भारतमा हिन्दु शरणार्थीहरू आएकै आए हुन्छन्‌। यसबाट मूलभारतीय नागरिकलाई ठूलो असर पर्नेछ,’ तामाङले भने,  ‘संसदको तल्लो र माथिल्लो दुवै सदनमा क्याब पारित भएको छ। अब चाँड़ै कानूनको रूपमा पनि लागू हुनेछ। तर देशका शीर्षस्थ वकिलहरूले सर्वोच्च न्यायालयमा मुद्दा दर्ता गराएका छन्‌। अब हेर्नुछ, सर्वोच्च न्यायालयले आफ्नो सुनवाईमा के भन्छ, तर हामी त गोर्खा जातिको सुरक्षामाथि केन्द्रित छौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया