दुबेलाई भाजपाले कार्वाही नगरे मोर्चा आन्दोलनमा उत्रनेछ, न्यायालय जानेछ : विनय तामाङ

‘राजु विष्ट, विमल गुरूङ, निरज जिम्बाहरू यदि भाजपाका पिञ्जड़ाका सुगाहरू होइनन् भने सासंद निशिकान्त दूबेविरूद्ध कार्वाही गराउन बाध्य बनाउन सक्नुपर्छ,’ तामाङले भनेका छन्, ‘किनभने सासंद निशिकान्त दूबेले भूतपूर्व सासंद मणिकुमार सुब्बा अनि गोर्खाहरूविरूद्ध लोकसभाभित्र दिएको बयानले गोर्खाहरूको मान-सम्मान अनि गौरव-अस्मितामाथि प्रश्नचिह्न खड़ा गरिदिएको छ।’


दार्जीलिङ, 13 डिसम्बर


भूतपूर्व सासंद स्व. मणि कुमार सुब्बालाई नेपालको नागरिक र समग्र गोर्खाहरूलाई नै घुसपैठी भन्ने भाजपा सासंद निशिकान्त दूबेको वक्तव्यप्रति गोजमुमो अध्यक्ष विनय तामाङले विरोध जनाएका छन्। उनले आगामी 24 घण्टाभित्रमा दुबेले वक्तव्य फिर्ता लिनुपर्ने अनि समग्र गोर्खाहरूसमक्ष सार्वजनिकरूपमा माफी माग्नुपर्ने बताएका छन्।

धेरैपल्ट सासंदजस्तो महत्वपूर्ण पदभार सम्हालेर लोकसभामा प्रवेश गर्ने गोर्खाहरूको गरिमामय व्यक्तित्व स्व. मणिकुमार सुब्बालाई लोकसभा सदनभित्रबाटै विदेशी भनेर लाञ्छना लगाउनु अनि समग्र गोर्खाहरूलाई नै घुसपैठी भनेर सासंद भाजपा सासंद निशिकान्त दूबेले समग्र गोर्खाहरूलाई नै ठूलो आघात पुराएको तामाङले जनाएका छन्।

‘उनले तुरून्तै आफ्नो वक्तव्य फिर्ता लिदै सार्वजनिकरूपमा माफी माग्नुपर्छ। अन्यथा समग्र गोर्खाहरू सड़कमा उत्रेर विरोध प्रदर्शन गर्नेछन्,’ तामाङले भनेका छन्, ‘भाजपाले उनीविरूद्ध कुनै कार्वाही नगरे हामी सम्झौताहीन आन्दोलनमा उत्रिनेछौं साथै न्यायालयको ढोकासमेत ढकढकाउनेछौं।’

यदि भाजपा गोर्खाहरूप्रति साच्चै इमान्दार छन् भने अथवा गोर्खाहरूलाई भोट ब्याङ्कमात्रै ठान्दैनन् भने गोर्खाहरूप्रति यति अह्वेलित अनि घृणित बयान दिने सासंदप्रति भाजपाले पनि तुरून्तै कार्वाही गरेको हुनुपर्ने पनि तामाङले माग गरेका छन्।

‘गोर्खाहरूको सुरक्षा दिन पर्खाल हुनेछु भन्ने भाजपा अध्यक्ष अमित शाह अनि गोर्खाको सपना मेरो सपना भन्ने प्रधानमन्त्री नरेन्द्र मोदीले यति गैर-जिम्मेवारीपूर्ण वक्तव्य दिने आफ्नो सासंदप्रति कार्वाही गरेर गोर्खाहरूको शान अनि सम्मान बचाउने काम गर्नुपर्छ,’ तामाङले भनेका छन्, ‘अन्यथा भाजपाले गोर्खाहरूलाई केवल भोट ब्याङ्कमात्रै सोच्ने गर्छन् भन्ने कुरा सत्य प्रमाणित भएर जानेछ।’

भाजपा सासंदको उक्त बयानले गोर्खाहरूको मान-सम्मानमा जुन ठेस पुराएको छ त्यसलाई ध्यानमा राख्दै भाजपाले आफ्नो सासंदलाई उक्त बयानको निम्ति कार्वाही गरेको हुनुपर्ने बताउँदै तामाङले भाजपालाई यसो गर्नको निम्ति राजु विष्ट, विमल गुरूङ, निरज जिम्बाहरूले पनि दबाऊ दिनुपर्ने बताएका छन्।

‘उनीहरू यदि भाजपाका पिञ्जड़ाका सुगाहरू होइनन् भने सासंद निशिकान्त दूबेविरूद्ध कार्वाही गराउन बाध्य बनाउन सक्नुपर्छ,’ तामाङले भनेका छन्, ‘किनभने सासंद निशिकान्त दूबेले भूतपूर्व सासंद मणिकुमार सुब्बा अनि गोर्खाहरूविरूद्ध लोकसभाभित्र दिएको बयानले गोर्खाहरूको मान-सम्मान अनि गौरव-अस्मितामाथि प्रश्नचिह्न खड़ा गरिदिएको छ।’

तामाङअनुसार भाजपाले गोर्खाहरूको राष्ट्रिय चिह्नारी अनि अस्मिताको सुरक्षा गरिदिनेछ भनेर पहाड़मा भित्र्याइएको थियो तर आज आएर भाजपाले नै गोर्खाहरूको चिह्नारी, अस्मितामाथि प्रश्नचिह्न खड़ा गरिरहेछ।  गोर्खाहरूको आत्मसम्मान अनि स्वाभिमानमाथि प्रहार गरिरहेछ। ‘अब भाजपाका अन्धोभक्तहरूले पनि नैतिक जिम्मेवारी लिँदै सासंदको उक्त बयानको आलोचना गर्दै उनलाई गोर्खाहरूसमक्ष झुक्न बाध्य गराउनुपर्छ,’  तामाङले भनेका छन्, ‘हामीले बारम्बार गोर्खाहरूप्रति रहिआएको भाजपाको नियत उदाङ्गो पार्दै आइरहेका हौं। तर कतिपय राजनैतिक व्यक्तिहरूले राजनैतिक स्वार्थको निम्ति भाजपाको जय-जयकार गरिरहे। बारम्बार पहाड़को गोर्खे सन्ततिलाई झूटो आश्वासनहरूमा भुलाएर भाजपाको पक्षमा भोट खसाल्न लगाइरहे। तर आज आएर भाजपाले आफ्नो असली अनुहार देखाइरहेको छ। गोर्खाहरूको राष्ट्रिय चिह्नारी अनि राजनैतिक सुरक्षा गरिदिनुको साटो उल्टै बारम्बार गोर्खाहरूलाई उठीबास लगाउने प्रकारको बयानहरू दिइरहेको छ।’

तामाङले शशिकान्त दूबेको उक्त बयान गोर्खाहरूको राजनैतिक सुरक्षा अनि राष्ट्रिय चिह्नारीमाथि प्रहार भएको हुनाले उक्त बयानलाई लिएर आफूहरू निक्कै गम्भीर रहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया