244 (2) लागू भएको भए….

विज्ञापन

विचार

पहाड़ अनि तराईका सम्पूर्ण गोर्खाहरूका निम्ति आप्पाले सुरक्षा कवजको रूपमा खतियान 244 (2) ल्याइदिनु भएकै हो। यै खतियान लागु भएको भए न त सिएबी न त एनआरसी नै पहाड़ चढन सक्ने थियो।


निरज जिम्बा


Blunder is Blunder and it was a Himalayan Blunder

पहाड़मा एनआरसीले उत्पन्न गरेको भय पछिको मुख्य कारण 2007को आन्दोलन हो। सिएबी र  एनआरसी प्रावधानहरू छैटौं अनुसूचित इलाकाहरूमा लागु हुने छैन भनेर गृहमन्त्रीले दुवै लोकसभा र राज्यसभामा स्पष्ट पारिसकेका छन्।

गोर्खाल्यान्डको माटो भन्दा बङ्गालकै बाटो उचित ठान्नेहरूले छैटौं अनुसूचीको विरोध गरेर संसदमा रोक्नु लाएको प्रतिफलको अवस्था हो आजको अवस्था।

बङ्गाली मालिकहरूसँग गोप्य बैठक गरेर सल्किहाल्ने लाहाको घर बनाउने दुर्योधन र डाक्टरेट विदुरहरूकै कालो करतुतको उपज हो वर्तमान राजनैतिक सङ्क्रमण। अझै  पनि बङ्गालकै ईशारामा धारा 243 एम (3) हटाएर गोर्खाका जमिनका खतियान संविधानबाट हटाउन आतुरिएर बङ्गालकै शासनलाई स्वीकार गर्दै त्रिस्तरीय पञ्चयात चुनाऊ गराऊँ भन्दैछन्।

उता सोझा र लाटा लद्दाखीहरूलाई हेरौं, केन्द्र शासित राज्य प्राप्त गरेर पनि उनीहरूका जनसांख्यिकीय (Demography) परिवर्तन हुने भयले आफूले टेकेका धर्तीका सुरक्षाका निम्ति एक स्वरले (Unanimously) छैटौं अनुसूचीको दर्जाको निम्ति धुमधामले आन्दोलित छन्।

हाम्रोहरू चैं बाघले आँप खान्छ जस्तो उल्टा कुरा गरेर राजनैतिक अपरिपक्वताको परिचय दिएर बङ्गालको दासत्व अपनाएर केवल आफ्नो पेट भर्ने राजनीति गरी रहेछन्। लद्दाखका सोनाम वाङचुक उर्फ फुन्सुक वाङडु जो भारतका एक प्रशिद्ध वैज्ञानिक साथै पर्यावरणविद् हुनुहुन्छ अनि जसका जीवनीमाथि एउटा प्रेरणादायी हिन्दी चलचित्र थ्री इडियट बनिएको छ।

यस्ता महान विभूतिले पनि आफ्ना जाति र माटोको सुरक्षाका निम्ति छैटौं अनुसूचि झट्टै लागु गर भन्दैछन्। तर कस्तो विडम्बना? हाम्राहरू चै आप्पाले पकाएर सुनको थालमा पस्केका छैटौं अनुसूचीलाई पनि लात मारेर इलिस माछाको काँडामा परेर जातिलाई भेन्टिलेटरमा पुराएका छन्।

आप्पा दार्शनिक थिए अनि थिए अब्बल दर्जाका दुरदर्शी। गोर्खाहरूलाई आइपर्ने कालो दिनको उनलाई पहिलेबाटै आभास थियो। यसैले कहिले झाँक्री नचाउँथे त कहिले भिमसेन ढुङ्गाको कुरा गर्थे। कहिले अठाह्रवटा हात भएकी दुर्गामाताका कुरा गर्थे त कहिले लिभिङ बुद्ध मान्नु भन्थे। लिभिङका केवल शाब्दिक अर्थ लगाएर उनलाई पागलसम्म भने तर उनका तात्पर्य अर्कै थियो।

बुद्धदेव भट्टाचार्य बङ्गालका तत्कालिन मुख्यमन्त्री थिए अनि उनकै तत्परतामा बङ्गाल विधान सभाबाट छैटौं अनुसूचीको प्रस्तावना पारित गर्नु पर्ने थियो। यसै बखत उनले जिउँदो बुद्धका दर्शन प्रतिपादित गरेका थिए। उनी सफल पनि बने।

तिनताक बङ्गालको सम्पूर्ण राजनैतिक दलहरूले उक्त प्रस्तावलाई सर्वसहमतिले पारित गरेका थिए। यदि छैटौं अनुसूची सम्बन्धित बिल संसदमा प्रस्तुत गरे बङ्गालका कुनै पनि राजनैतिक दलहरूले विरोध गर्ने ठाउँ थिएन। यसै बेला बङ्गालका खप्पिस राजनैतिज्ञ प्रणव मुखर्जीज्यू अनि भारतीय वायु सेनाका एक बङ्गाली अधिकारीले बङ्गाल टुक्रिने छाँट-काँट देखेर बङ्गाल सरकारलाई अवगत गराउँदा बङ्गालले पहाड़मा कालो भेंडाहरू खोज्न थाले।

यी काला भेंडाहरूका समावेश भएपश्चात आफ्नै जङ्गलको हरियो घाँसहरूलाई खाएर पहाड़लाई उजाड मरूभूमिमा परिणत गरे। यी भेंडाहरूका बथानबाट छुट्टिएर एक हूल निख्खुर काला भेंडाहरू माछाको पोखरीमा हाम फालेर माछाको कत्ला गन्हाउने भइसकेका छन्।

पहाड़ अनि तराईका सम्पूर्ण गोर्खाहरूका निम्ति आप्पाले सुरक्षा कवजको रूपमा खतियान 244 (2) ल्याइदिनु भएकै हो। यै खतियान लागु भएको भए न त सिएबी न त एनआरसी नै पहाड़ चढन सक्ने थियो। 23 अगस्त 1988 सालमा जारी भएको गोर्खे नागरिकता माथिको ग्याजेट नोटिफिकेसन र धारा 243 एम (3) एनआरसी र सिएबीलाई जवाब दिने धारिला हतियारहरू हुन्। काला भेंडाहरूदेखि जनता होशियार ।


फेसबुकबाट साभार : लेखक भाजपाका (दार्जीलिङ) विधायक हुन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया