साहित्यमा प्रगतिवाद र जीवनमा मार्क्सवादलाई उतार्नु सबैभन्दा कठिन कार्य हो : एनबी घिमिरे

संवाद

एनबी घिमिरे सिक्किमका नयाँ हाँचका कवि हुन्। वैचारिक र राजनैतिक कविताको जनरा पक्रिएर वामपन्थी विचारलाई कलात्मक अभिव्यक्ति दिन उनी खप्पिस कवि हुन्। मार्क्सवाद र प्रगतिवादलाई जीवनको आदर्श बनाउन सङ्घर्ष गरिरहेका कवि पनि हुन्। उनका केही फुटकर कविता निक्कै चर्चित छन्। उनै कविसित यहाँ संवाद गरिएको छ। उनका तीन कविता पनि राखेका छौं-सम्पादक


विशाल नाल्बो


तपाईँले लेखिरहेका कविताले आजको समयलाई अथवा आजको समाजलाई कतिको सम्बोधन गरिरहेको छ जस्तो लाग्छ?

– कविता समाज र समयदेखि टाढा भाग्नु सक्दैन। मेरो व्यक्तिगत अनुभवले पनि यही भन्छ। हाम्रो सोच, विचार, चेतना र सिर्जनशीलता पनि समाजबाट नै आउने हो। यो प्रश्नमाथि म अर्को कुरा के भन्न चाहन्छु भने कुनै पनि कविले लेखिरहेको कविताले समय र समाजलाई नै बोकेरै हिँड्नुपर्छ र हिँड्छ पनि। यसैले आत्मसन्तुष्टिको निम्ति मात्रै लेख्छु, समाजको निम्ति लेख्दिन भन्नेहरूले पनि भटाभट पुस्तकहरू प्रकाशित गरिरहँदा हास्यास्पद विषय बन्छ।

यदि आत्मसन्तुष्टिको निम्ति मात्रै कविता लेख्ने हो भने त्यो कृति प्रकाशित गर्नु समाजलाई धोका दिनु सरह हो। लोकार्पण गरिसकेका कृति र सार्वजनिक गरिसकेको रचना समाजको सम्पत्ति बन्छ। हामी गरीब, सर्वहारा, शोषित, श्रमिक, नारीमुक्ति आदि जस्ता विषयवस्तुमाथि कविता लेखेर केवल आत्मसन्तुष्टिको निम्ति मात्रै लेख्छु भन्दै हिँडिरहेका छौँ। उनीहरूको खुन र पसिनाको गीत गाइरहेका छौं। यदि उनीहरूको दुःख र वेदनालाई लेख्छौं भने त्योबाट निस्किने बाटो पनि देखाइएको हुनुपर्छ। जनताको वेदना लेखेर आफू मात्रै पपुलर हुने लक्ष्य राखिन्छ भने त्यो कविको धर्म नभएर व्यक्तिगत स्वार्थ बन्छ। यसैले आफूले लेखेको कविताले अलिकति पनि काम गर्‍यो भने कविलाई त्यतिबेला मात्रै सन्तुष्टि मिलेको हुन्छ।

यसर्थ मेरो कविताले समाज र समयलाई सम्बोधन गरिरहेको छ वा छैन त्यो त पाठकले देख्ने हुन्। तर मेरो कविताले समाज र समयलाई सम्बोधन गरेको हुनुपर्छ, यसको प्रगतिको निम्ति आवाज उठाएको हुनुपर्छ र बाटो देखाएको हुनुपर्छ। मेरो धारणा यहीँ हो। यसैको निम्ति म सङ्घर्षरत छु।

मान्छेको सोचलाई परिवर्तन गर्न कविताले कतिको सहयोग गर्दो रहेछ अहिलेसम्मको तपाईँको कवि अनुभवमा?

– गर्छ। एकदमै गर्छ। हामी जन्मिएपछि हामीलाई विभिन्न पूराकथा, भगवान सम्बन्धित कथा, लोक कथा, संस्कृति सम्बन्धि कथाहरू परिवार र समाजले सुनाएको हुन्छ। पुराण आदिमा पनि विभिन्न कथाहरू सुनाइन्छ। कुनै धार्मिक कार्यक्रममा पनि विभिन्न कथाहरू नै सुनाइन्छ। ती कथाहरू र काव्यहरू सबै कुनै समय रचिएका साहित्यिक कृतिहरू हुन्।

अब हामी आफै हेर्न सक्छौं ती कृतिहरूले समाजमा कस्तो ठूलो प्रभाव पारेको छ। हाम्रो रहनसहनदेखि लिएर हाम्रो संस्कृति, व्यवहार र नैतिक ज्ञान सबै ती आख्यान र ग्रन्थहरूबाट आएका छन्। युगौंदेखि ती काव्यकृतिले बहुसंख्यक मानिसको सोचलाई चलाइरहेको छ।

यसैबाट हामी बुझ्न सक्छौं कि साहित्यको कति ठूलो भूमिका हुन्छ। हाम्रो सोच्ने तरिका नै ती कृतिहरूको आधारमा निर्मित भएका छन्। यसैले अबको समय र परिवेश अनुरुप मानिसको सोच्ने तरिका पनि वैज्ञानिक र तार्किक हुनुपर्छ। यदि युगौंदेखि चलिरहेका ती सोच्ने आधार काव्यकृतिहरूले निर्माण गरेका हुन् भने त्यो सोच्ने तरिकामा परिवर्तन ल्याउनुमा पनि साहित्यले भूमिका खेल्न सक्छ। यसैले कविता एउटा साहित्यिक विधा भएकोले यसले पनि मानिसको दृष्टिकोणमा धेरै परिवर्तन ल्याउन सक्छ। उदाहरणको रूपमा मेरो आफ्नै सोच्ने तरिकामा पनि गोर्की, चेखव, प्रेमचन्द, पाश, पारिजात, रिमाल आदि जस्ता साहित्यकारका कृतिहरूले धेरै ठूलो परिवर्तन ल्याइदिएको हो।

तपाईँको कतिपय कविता पढ्दा लाग्छ, तपाईँ मार्क्स दर्शनप्रति बढी प्रभावित हुनुहुन्छ अथवा भनौं मार्क्स सिद्धान्तलाई बढी पछ्याउनु हुन्छ। यसको अर्थ तपाईँ मार्क्सवादी कवि हुनुहुन्छ, हो?

-म मार्क्सवादलाई मान्छु र यसैको दृष्टिकोणबाट समाजको अध्ययन गर्छु। तर म आफैलाई मार्क्सवादी कवि भन्न सक्दिनँ। साहित्यमा प्रगतिवाद र जीवनमा मार्क्सवादलाई उतार्नु सबैभन्दा कठिन कार्य हो। पुस्तकालयभित्रै दिनरात बसेर मार्क्सवादको आधारमा लेख्न त सकिन्छ र यो सम्भव छ तर पनि जीवनमा उतार्न सकिएन भने त्यसको केही अर्थ रहँदैन। तर यसको अर्थ मार्क्सवादलाई जीवनमा उतार्नु असम्भव छ भनेको चाहिँ होइन। मार्क्सवादी हुनु सम्भव छ र यसको निम्ति निरन्तर सङ्घर्ष गर्नु र वैज्ञानिक बाटोमा हिँड्नु सक्नुपर्छ।  मार्क्सवादी हुनु भनेको मार्क्सवादसँग चलिआएका शब्दहरू प्रयोग गरेर लेख्नु, मार्क्सवादी दृष्टिकोणबाट सिर्जना गर्नु मात्रै होइन। मार्क्सवादी हुनुको निम्ति त यो सिद्धान्तलाई व्यवहारमा उतार्नु, यस्तो जीवनशैलीमा बाच्नु र जीवन चरित्रमा यसलाई उतार्नु हो। सिद्धान्त र व्यवहारमा सन्तुलन छैन भने त्यो देखावटी बन्छ। यान्त्रिक बन्छ।

यसैले मेरो जीवन र लेखन भर्खरै प्रगतिशीलताको बाटोमा बामे सरिरहेको छ। तर मैले प्रगतिवादी र मार्क्सवादी हुँ भनेर भन्नू नितान्त गलत हुन्छ।

तपाईं त सिक्किममा बसेर कविता लेखिरहेका कवि हुनु हुन्छ। कस्तो छ सिक्किममा नेपाली कविताको अवस्था?

– सिक्किममा अहिले नेपाली कविता लेखन एकदमै राम्रो भएर गएको छ। विशेष नयाँ पुस्तामा प्रगतिशील साहित्यप्रति बढ्दै गएको रुचि देख्दा यहाँबाट अब राम्रो साहित्यिक सिर्जनाहरू हुनसक्छन् भन्ने विश्वास गर्न सकिन्छ। पछिल्लो केही समयमा सिक्किमबाट राम्रा-राम्रा कविता कृतिहरू सिर्जना भएका छन्। मैले अनुभव गरेअनुसार भारतीय नेपाली कविता लेखनमा अहिले एउटा प्रमुख समस्या के छ भने विभिन्न विषयहरूमा कलम नचलेर विशेष एकै किसिमको विषयवस्तुमा कविहरू लेखिरहेका छन्। हाम्रो लेखन प्रवृत्तिमा विविधता कम छ। विविधता छैन भने प्रजातन्त्रको रस सुकेर जान्छ। त्यो विविधतामा भएको एकता न‌ै सबैभन्दा बलियो हुन्छ। साहित्यमा त्यो हुन जरुरी छ।

यसका साथै यहाँ चल्ने गरेका साहित्यिक आन्दोलनहरू धेरै टिक्न सकिरहेका छैनन्। यहीँ समस्या सिक्किममा पनि छ। तर धेरै खुशी हुनुपर्ने कुरा के छ भने यहाँका नयाँ पुस्ताले कवि जीवन थिङलाई अहिले सम्झिन थालेका छन्। र यहाँ नेपाली कविताको भविष्य उज्यालो देख्छु म।

वर्तमान समयमा नेपाली कविताको समस्या र चुनौतीहरू के के हुन् जस्तो लाग्छ तपाईंलाई?

– सम्पूर्ण नेपाली कविता लेखनलाई समेटेर त भन्न सक्दिनँ म तर भारतीय नेपाली कविता लेखनमाथि भने केही भन्न सक्छु। मैले बुझेको, देखेको र आफैले अभाव गरेअनुसार वर्तमान नेपाली कविता लेखनमा धेरै समस्याहरू छन्। मैले अघि भने झैं सबैभन्दा ठूलो समस्या भनेको लेखन प्रवृत्तिमा विविधता नदेखिनु हो। हामी भीडको पछाडि कुदिरहेका छौं जस्तो लाग्छ। विशेषगरि भारतीय नेपाली कविहरूको नयाँ पुस्तामा यस्तो स्थिति सिर्जना हुँदैछ। म आफै पनि यो भीड पछाडि कुद्ने प्रवृत्तिबाट आफैलाई निकाल्ने निरन्तर प्रयास गरिरहेको छु र यो सबैभन्दा साह्रो काम लाग्यो मलाई। हामीले सस्तो चर्चाको पछाडि कुद्ने बानीलाई त्याग्नु आवश्यक छ। हामीमा आलोचनात्मक दृष्टिकोण हराउँदै गइरहेको छ। यसको प्रभाव हाम्रो भोलि लेखिने साहित्यमा पर्न जान्छ।

दोस्रो कुरा हामीले अध्ययनलाई महत्त्व दिइरहेका छैनौं। केही कवि र कविता कृतिलाई छोडेर अन्य सबै एउटै भीड पछाडि लागेका छन्। हामी कुनै वाद र सिद्धान्त मान्दैनौं भन्दै आफैलाई ‘झ्यालटुङ्’ बनाएर यता न उताको हुनुमा गर्व गरिरहेका छौं। हामीले सर्वप्रथम त आफ्नो अडान देखाउन सक्नुपर्छ। अनि तेस्रो समस्या यहाँ साहित्यिक आन्दोलनहरू धेरै टिक्न सकिरहेका छैनन्। अन्य थुप्रै समस्याहरू छन्  र ती समस्याहरू माथि गम्भीर चर्चा भइरहेका छैनन्।

कविताले सत्ताको अथवा सिस्टमको विरुद्ध उभिनु कतिको जरूरी छ वा छैन? छ भने किन छ? छैन भने किन छैन?

– प्लेटोले ‘आदर्श गणराज्यबाट कविहरूलाई निकाल्नुपर्छ’ भने। किनकि कविको शक्ति उनलाई थाहा थियो। पछि गएर उनले पनि सत् कविलाई चाहिँ छुट दिनुपर्छ भने। त्यस्तो कवि जसले आदर्श र सत्तालाई मान्छ। अहिले हाम्रो राष्ट्रमा पनि यस्तै हालत छ। सत्ता र व्यवस्थालाई प्रश्न गर्ने कवि र लेखकलाई देशद्रोहीको संज्ञा दिनु थालिएको छ। सरकारले ‘आतङ्कवादी साहित्य’ जस्तो पदवालीहरू प्रयोग गर्दैछ। यसको पछाडिको मानसिकता र लक्ष्यलाई हामीले बुझ्नुपर्छ। तर सरकार केवल यो सङ्कटग्रस्त पुँजीवादी-साम्राज्यवादी व्यवस्थाको रक्षक हो।

यसैले कविहरू सिस्टमको विरुद्ध उभिन्छन्। किनकि उनीहरू एउटा समान र सभ्य मानव समाजको सपना देख्छन् जहाँ मानवीय मूल्यमान्यतालाई सर्वोच्च स्थानमा राखियोस्। जब कुनै पनि सङ्कटग्रस्त स्थिति आइपर्छ त्यतिबेला हाम्रोमा बीचको बाटो हुँदैन। हामीले कि सङ्कट निम्त्याउनेको पक्षमा उभिनुपर्छ कि सङ्कटबाट बाच्ने/समाधान खोज्ने पक्षमा उभिनुपर्छ। बीचमा बसेर रमिता हेर्नु भनेको त्यही सङ्कटलाई साथ दिनु हो। अहिले हाम्रो देश मात्रै नभएर मानव सभ्यता नै खतरामा परेको स्थिति छ। जलवायु परिवर्तन जस्तो सङ्कटले पूरा विश्व ग्रसित छ। यस्ता हजारौं साझा समस्याहरू छन्। तर भित्र पसेर हेर्दै जाँदा सबैको मुख्य कारण यही व्यवस्थालाई भेटाउँछौं। यसैले यदि कविले मानवीय मूल्यमान्यतालाई संरक्षण गर्नुपर्छ र मानव सभ्यतालाई बाधा पुर्‍याउनु हुँदैन भन्छ भने उ यो सिस्टमको विरुद्धमा कविता लिएर खडा हुन्छै हुन्छ।

तपाईं कवि नभएको भए के बन्नु हुन्थ्यो? तपाईँलाई म कवि नै हुनु पर्छ भन्ने किन लाग्यो?

-यो प्रश्न अलिक गाह्रो भयो। वास्तवमा मैले यो विषयमा केही सोचेको छैन। तर म एउटा असल मान्छे बन्ने प्रक्रियामा भने सानैदेखि थिएँ र अहिले पनि यही प्रक्रियामा छु। वास्तवमा यो हिँडाइ र सङ्घर्ष नै त जीवन हो। राम्रो बन्नुको निम्ति निरन्तर सङ्घर्ष गर्नु नै जीवन हो।

तर यो कुरामा भने मेरो पूर्ण विश्वास छ कि मेरा अति आदरणीय आमा-बाबा र परिवारले मलाई नराम्रो मान्छे बन्न चाहिँ कदापि दिने थिएनन्। यसैले कवि बन्ने इच्छा पलाएको हो। यसमा मेरो परिवारको सबैभन्दा ठूलो भूमिका छ।

भनिन्छ बितेका कुरामा ‘यदि’ लाग्दैन भनेर तरै पनि यदि कविता र साहित्यतिर म नलागेको भए सायदै म प्रश्न गर्ने चरित्र निर्माण गर्नमा भने चुक्थें होला। तर सानैदेखि कलाप्रति चाहिँ मेरो धेरै रुचि थियो। यसैले सिर्जना कार्यमा नलागे तापनि कलालाई सम्मान गर्नेसम्म चाहिँ हुन्थे होला। अन्त्यमा यो प्रश्न ‘यदि’-मा भएकोले उत्तर पनि ‘होला ‘मै दिएँ है।

कवितालाई अलिक पर छोडेर फरक प्रश्न गरौं लाग्यो। तपाईँको विचारमा मार्क्सवादी हुनु र कम्युनिष्ट हुनुमा के कुराको चाहिँ भिन्नता रहेछ?

– खासमा मलाई यी दुवै कुराको अनुभव छैन यसैले म यसको उचित उत्तर दिनु सक्छु सक्दिनँ मलाई थाहा छैन किनकि म अहिलेसम्म मार्क्सवादी पनि बन्न सकेको छैन र कम्युनिस्ट बन्नु त सायदै यो एउटा जिन्दगीले नपाउँला पनि।  तर यति भन्छु कि मार्क्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो र समाजलाई हेर्ने, मानव सभ्यताको इतिहासलाई बुझ्ने र आर्थिक, राजनैतिक र सामाजिक व्यवस्था र यसको विकासलाई अध्ययन गर्ने वैज्ञानिक पद्धति हो। जबकि कम्युनिस्ट हुनु भनेको साम्यवादी हुनु हो।

मार्क्सवाद र साम्यवादमा के भिन्नता छ भने मार्क्सवाद त्यो सिद्धान्त वा हिँड्ने तरिका हो जसले साम्यवादमा पुर्‍याउछ। खासमा हाम्रोतिर के समस्या छ भने हामी जुनसुकै कुरामा ‘वाद’ जोड्ने गर्छौं। वास्तवमा वाद वा सिद्धान्त भनेको त्यति सस्तो कुरा हुँदैन। यस्तै स्थिति कम्युनिस्ट शब्दसँग पनि छ। पार्टीमा कम्युनिस्ट भएकाहरू जो यही बुर्जुवा प्रजातन्त्रको भोग गर्न तल्लीन भएका छन् उनीहरूले गर्दा कम्युनिस्ट शब्दको गलत अर्थ लाग्दै आएको हो। यो देशमा कतिपय मानिसहरू छन् जो साँच्चिकै सर्वहारा जीवन चरित्रलाई अपनाएर काम गरिरहेका छन्। यो देश मात्रै नभएर विश्वमा नै त्यस्ता मानिसहरू छन् जो मार्क्सवादप्रति साँच्चिकै इमानदार छन्। तर यही देशमा कम्युनिस्टको नाममा सामन्ती चरित्र भएकाहरू पनि लछेप्रै छन्।

यसैले हाम्रा केही बौद्धिकहरू जो मार्क्सवाद, समाजवाद र साम्यवादलाई कुनै पार्टी र झण्डा हेरेर व्याख्या गर्दै साम्यवाद गलत हो भन्दै हिँड्छन् उनीहरू यो व्यवस्थाले चलाइरहेको न्यारेटिभको सिकार भएका छन्। यसैले मार्क्सवाद र कम्युनिस्ट शब्दको सम्बन्ध पनि बिग्रेर गएको छ। म मार्क्सवादी चाहिँ हो तर कम्युनिस्ट चाहिँ मनपर्दैन भन्नेहरूले यति बुझ्न जरुरी छ कि मार्क्सवादको मुटु वर्गसङ्घर्ष र क्रान्ति हो अनि यसको लक्ष्य साम्यवादी समाज।


एनबी घिमिरेका तीन कविता


आदर्श देश

मध्यरातपछि
एउटा देश जुरमुराउँदै उठ्यो
जनतालाई बिर्सेर..

त्यो देश केवल
माटोको थुप्रो थियो
माटो खन्ने कृषक थिएन।
त्यो देश केवल
सिमाना कोर्ने रेखा थियो
जीवन कोर्ने अक्षर थिएन।

त्यो देश एक्काइसौं शताब्दीको
प्लेटोको ‘आदर्श गणराज्य’ हो।
जहाँ आदर्शले
यथार्थको जिब्रो लुछ्ने गर्छ
कविताको छाती फोरेर मुटु निकाल्ने गर्छ
कविको मस्तिष्कमा हस्तक्षेप गरेर
चेतनालाई ‘तिहाड’ हाल्ने गर्छ

कलाकारको क्यान्भसमा आगो सल्काउने गर्छ।

जहाँ आदर्शले
खुनैखुनसँग खेलेर सेतो परेवाको भाषण हाक्छ
र नानीहरूको भोकको निम्ति
नुन र सुख्खा रोटी
अनि
दिमागको निम्ति
स्लो पोइजन निःशुल्क बाँड्छ।


कालोभारी र चेतना

जसरी बा’हरू कालोभारी कुरुवा गर्थे
उसरी नै उनीहरूका निधारले
चेतनाको उज्यालो कुरिरहन्थ्यो।
तर
‘याटुङ’को पानीसँग मिसिएर
बा’का पसिनाहरू बग्नै सकेन
स्वतन्त्रताको बाटो ताकेर।
झार्लाङ्गी तिर्नु
काजीको कोठेबारी पसेकी आमाले
रोप्न सकिनन्
उन्मुक्तिको बीउबिजन।
यसैले त धानको खेतमा
हाँस्नै सकेन प्रजातन्त्रको असली बालाहरू।

बा’हरूले जबर्जस्ती बोक्नुपरेको
कालोभारी भित्र त्रिपालमा गुट्मुटिएर
रुसो र मार्क्सहरू त बसेका छैनन् के?
छोराहरू अहिले सोच्दैछन्।

पेम्पा, पासाङ र बिरेहरूले
रोप्दै गरेको धानको खेत तलतिर
स्वतन्त्र बगिरहेको टिस्टाको सपना देख्छु म
जो अहिले कैद छ
‘ग्लोबलाइजेसन’को क्रुर पञ्जाभित्र।

जुन दिन बा’हरूले
कालोभारी पल्टाएर युद्धको विगुल फुके
त्यसै दिनदेखि कञ्चनजङ्घाले
प्रजातन्त्रको माग गरिरहेको छ
जो अहिले केवल
पाँच वर्षमा एकपटक झुल्किन्छ।


आँखा

उ युगौदेखि भनिरहेछ
“तिमीहरू के के माग्छौ माग
म दिनकै निम्ति यहाँ बसेको हुँ”

हामी माग्छौं।

कोहीबेला हक माग्छौं।
कोहीबेला अधिकार माग्छौं।
कोहीबेला सुरक्षा माग्छौं।
कोहीबेला शान्ति माग्छौं।

हामीले मागेकै कारणले
थमाइदिएको छ उसले
हाम्रो हातमा
भोटर कार्ड।

हामी भोट हाल्न जान्छौं।

कोहीबेला उसलाई हराउँछौ
र अर्कैलाई जिताउछौ।

कोहीबेला उसलाई जिताउँछौ
र अरुलाई हराउँछौ।

तर आफू भने
सधैँ दर्शक नै बनिरहन्छौं।

खासमा,
युगौंदेखि
हाम्रो आँखामा
एउटा ठूलो ताला झुन्डिएको छ
र त्यसको चाबी
सत्तासँग सुरक्षित छ।

अहिले सोच्दैछु,
हामी कस्तो दर्शक हौं
जो बन्द आँखाले
रमिता हेरिरहेका छौं आधुनिक राजनीतिको।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया