कवि हुनु भनेको आफैसित संवाद गर्नु हो- मनोज विश्वकर्म

विज्ञापन

संवाद र कविता

मनोज विश्वकर्म नेपालका नयाँ हाँचका सक्रिय कवि हुन्। आफैसित संवाद गर्दै समाजका अन्तरविरोधहरू खोतल्ने अभियानमा लागेका मनोज पुस्ताको अनुहारको भीड कविता सङ्ग्रह निक्कै चर्चामा आएको छ। यी नै कविसित केही संवाद गरिएको छ। यहाँ संवाद र उनका कविता राखेका छौं- सम्पादक


विशाल नाल्बो


तपाईँ कवि नभएको भए के बन्नु हुन्थ्यो होला?

-सर्वप्रथम त मलाई उभ्याउनु भएकोमा धन्यवाद भन्न चाहान्छु । एक वाक्यमा भन्दा म कवि नभएको भएँ पाठक हुन्थेँ । खासमा म अरूले लेखेको पढ्दापढ्दै तथाकथित कवि हुन पुगेँ । कवि हुनु भनेको आफैलाई एक्सप्लोर गर्नु हो रहेछ, आफैसँग संवाद गर्नु हो रहेछ । यी काम गर्न मलाई केही पुस्तक र आफू बाँचेको समयको पठनले सघाईरहेको छ । त्यसको अभिव्यक्ति चैं कवितामा हुनेरहेछ ।

कवि हुनलाई राजनैतिक चेत कतिको जरूरत पर्ने रहेछ ?

-एकदम जरूरी छ । यो सम्बन्धमा म अक्टोभियो पाजको एउटा भनाई सम्झिन्छु -“My love is in bad taste because politics is in bad taste” चोखो निश्चल भनिने प्रेम नै राजनीतिको चपेटामा पर्छ ।  हाम्रो त साहित्य नै ८०% राजनीतिसँग प्रत्यक्ष ठोकिन्छ। हामी चैं खाली जून,  घाम,  हावा, फूल, ओठ मात्र लेख्छौँ भने त सत्यानाश हुन्छ नि । राजनीति लेखौँ भनेर कवितामा नारा/समाचार लेख्नु नि सत्यानाश काम हो । बरू त्यो भन्दा समाचार नै शेयर गरेर बस्दा ठिक हुन्छ । राजनैनिक चेत सहित लेख्नु कठिन छ तर गर्नु चैं पर्छ ।

एउटा सँच्चा कवि हुनलाई के के कुराले बढी मदत् गर्ने रहेछ?

-कवि हुनलाई अलि अलि ‘साईको’ त हुनै पर्छ नत्र त्यो कवि होइन, हुन पनि सक्दैन । ‘साईको’ आफ्नै अन्तर्यसँग, समाज-व्यवस्थासँग । यही ‘साईकोपन’ले कोही कसैलाई कवि बनाउछ होला । कविताको लागि थोरै तिनो कच्चा पदार्थ चैं पुस्तक र प्रकृति पढेर पनि मिल्छ होला ।

नेपालको सन्दर्भमा युवा सर्जकहरुको कुरा गर्ने हो भने तपाईँको नाउँ पनि अग्रपङ्क्तिमा नै आउने गरेको छ । तर त्यहाँको अघिल्लो पुस्ताहरूले आरोप लगाए अनुसार तपाईंको पुस्ताले सिर्जनाको माध्यमद्वारा सत्तालाई प्रश्न गर्न डराइ रहेको छ रे नि हो ?

-कविता लेख्ने जति हामी सबै अग्रपङ्क्तिमै हो । त्यसैले ‘अग्रपङ्क्ति’ बढि जिम्मेवार ‘अर्को पङक्ति’ कम जिम्मेवार भन्ने हुँदैन । सत्तालाई प्रश्न गरिरहनु पर्छ नत्र समयको सडक अवरुद्ध हुन्छ । पछिल्लो पुस्ता जहिल्यै मुखर हुन्छ जस्तो मलाई लाग्छ । यो पुस्ता पनि मुखर छ । सबै मार्क्सवादी हुनुपर्छ, प्रगतिशिल हुनुपर्छ भन्नुको चैं कुनै तुक छैन….

सत्र कवि मिलेर संयुक्तरूपमा ‘अनुहारको भीड’ नामक कविता सङ्ग्रह बजारमा ल्याउनु भयो, संयुक्तरूपमै कविता सङ्ग्रह निकाल्नुको प्रमुख कारण ?

– ‘पछिल्लो पुस्तालाई पढ्न’ पढ्नै पर्ने सङ्ग्रह हो भन्ने प्रतिकृया आइरहेको छ । यसले चैं आवश्यकता पनि थियो भन्ने देखाउँछ । यो सङ्ग्रह सायद आवश्यकता र त्यो भन्दा बढि चै संयोग होला ।

आजकल कविहरूले पनि आख्यान लेख्ने ट्रेण्ड बढेर गइरहेको छ तपाईँलाई पनि आख्यान लेखनतिरै जाउँ भन्ने लागेको छैन ?

-कविहरूले आख्यान लेख्दा कला पक्ष प्रखरसँग आइरहेको छ । यो सुन्दर कुरा हो नि । मेरो दिमागमा पनि आख्यानको प्लटहरू आइरहेका छन् । आएका प्लटलाई स्वागत पनि गरेको छु । केही समय लाग्छ तर मेरो एकल-कृतिको रूपमा कविताभन्दा अघि सायद आख्यान नै आउँछ होला ।

तपाईँ भित्रको सर्जकीय विचारले नेपालमा लेखिरहेको नेपाली साहित्य र भारतमा लेखिरहेको नेपाली साहित्य बीच के कुराको  भिन्नता पाएको छ?

-भाषागत समरूपता छ । थोरै सांस्कृतिक पाटो पनि । नेपाली साहित्यले तेस्रो आयाम , पारिजात , राष्ट्रभाषा निर्माण जस्ता पाटोले भारतसँगको ऐतिहासिक सम्बन्धलाई स्पष्ट पार्छ । यसको अलवा यी दुई मौलिक भूगोलको साहित्यिक ऐनामा मौलिक बिम्बहरू जीवन्त देखिन्छ ।

 


मनोज विश्वकर्मका तीन कविता


कुनै एक बेला

म अन्तरिक्षमा तैरिएको हुन्थेँ-

सृष्टिको सृजना झैँ !

वेपर्वाह थिएँ-

भविष्य र दुनियाँसँग !

मेरो पृथ्वीमा

दिउँसो भरि-भरि वसन्त

र साँझ बा समक्ष शरद आउँथ्यो

कुनै एक बेला !

 

कुनै एक बेला

हिमालको उचाईंले

आँखाको गहिराइले

भत्काउँथ्यो मुटुको प्लट

लेखाउँथ्यो प्रेम कविता

कन्पटबाट बग्ने केशको बाछिटाले !

 

कुनै एक बेला

सोचको साँघुरो आकाशमा

बसाई सरिजान्थ्यो सुदूरतिर सूर्य

भूमिगत भइजान्थ्यो जूनपनि

र म निराश निराश होइजान्थें-

मेरो जन्मदेखि

उदास उदास होइजान्थें-

मेरो अस्तित्वदेखि

कुनै एक बेला…..

 

कुनै एक बेला

मौन मनको छाल बौलाउँछ सुन्दरसँग

जन्मिन्छ सानोतिनो सुनामी

मथिङ्गल तितरबितर बनाउने गरी

झडप हुन्छ दर्शनहरुको-

जोन लेननको गीतमा

झुमिदिन्छ एडोल्फ हिटलर

हल्लाइदिन्छ

महात्मा गान्धी

मलालालाई दागिएको गोलीले

ईश्वरलाई मृत पारेर

चिच्याउँछ

फ्रेडरिक नित्से

“कम्युनिष्ट मेनीफेस्टो”

आर्किमेडिजले झ्वाट्ट भेटे झैं “युरेका”

स्वाट्ट छिर्छ

यी दर्शन दिमागको छिद्रबाट

तर निस्कन्छ वाहियात निष्कर्ष बनेर

कुनै एक बेला !

 

कुनै एक बेला

मरुभूमिको फुस्रो सतहमा रगडिन्छ पैताला

र उत्पति हुन्छन्-

हजारौं दुख्खको पिरामिड !

 

कुनै एक बेला

म लेखिरहन्छु कविता

वाचन गर्छु- गिन्सवर्ग झैं

तर मस्त सुतिदिन्छ दुनियाँ

कुनै एक बेला


भगवान

एउटा मौनता तिमीसँग छ !

एउटा मौनता मसँग छ !

 

तिम्रो आकाशमा टाँगिएको ताराले

हेर्दैन तिमीलाई

तिम्रो जून

सधैं सधैं तर्किएर हिँड्छ तिमीसँग

लुकेरै उदाउँछ

तिम्रो घाम तिम्रो भूगोलबाट !

 

तिमी

जसको लागि धर्तीको सबैभन्दा सुन्दर फूल सिउरिरहेकी छौँ केशमा

तिमी

जसको लागि हेरिरहेकी छौ बेदाग अनुहार

श्रृङ्गारको अनुपम गहिराइबाट

उसले हेर्दैन तिमीलाई !

 

तिमी

जुन भगवानलाई पूजा गरिरहेकी छौँ मन-मन्दिरमा

उ भड्किरहन्छ सहरका कुरुप सहरहरुमा !

 

मेरो आकाशमा टाँगिएको ताराले पनि

हेर्दिनन् मलाई

मेरो जून पनि सधैं सधैं तर्किएर हिँड्छे मसँग

मेरो घाम पनि लुकेरै उदाउँछ मसँग

मेरो भगवान

स्वयम् पुजिरहेछिन अर्कै भगवानलाई !

 

एउटा मौनता मेरो भगवानसँग छ !

एउटा मौनता मसँग छ !


केही कुरा आधा नै सुन्दर हुन्छ

केही कुरा आधा नै सुन्दर हुन्छ

 

जस्तो

तिम्रो शिरबाट खसेको झरना

पिठ्युको छेउछाउ नपुग्दै रोकिनु

जस्तो

तिम्रो ओठबाट खसेको प्रेमिल स्वर

जीवनको किनार नछुदै रोकिनु

 

जस्तो कि

तिम्रो र मेरो सम्बन्ध

केही कुरा आधा नै सुन्दर हुन्छ

 

जस्तो कि

आकाशमा आधा मुस्कुराएको जून

जस्तो कि

आधा घाम आधा पानी मिसिएर टाँगिएको इन्द्रेणी

जस्तो कि

आधा अनुहार देखाएको कुनै हिमाल

 

केही कुरा आधा नै सुन्दर हुन्छ

 

जस्तो

कुनै यात्रामा भेटिएको सुन्दर मानिसको नाम छुट्नु

जस्तो

कुनै प्रिय गीत हजार पटक सुनेँ पनि आधै रहनु

जस्तो

कुनै पढ्दै गरेको कविता आधामै सक्किनु

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया