
बुक रिभ्यु
विशाल सर्घाईँ
योगिता राईको ‘समयबोध’ यसै वर्षको सितम्बर महिनामा प्रकाशित कविता सङ्ग्रह हो। यस कविता सङ्ग्रहभित्र जम्मा ३५ – वटा कविताहरू रहेका छन्। समयबोधका प्रत्येक कविताहरूमा समयको बोध भएको हामी पाउँछौँ।
मूलतः: कवि योगिता राई गाँउ-ठाँउको पीड़ा, मर्म आदि जस्ता विषयहरूमाथि बेजोड़ ढङ्गमा कविता लेख्ने गर्छिन्। समयबोधभित्रका सावित्री, कस, डोकोहरू, मेरो गाँउ, जात, हामी आदि कविताहरू उस्तै स्वादका छन्।
उनको कविताहरूले दु:खको गीतहरू मात्र संरचना नगरेर उत्सवका क्षणहरू पनि सम्झना गरेको हामी पाउँछौँ। उनको ‘हाँस्नुको अर्थ’ – मा उत्सवका क्षणहररू हामीले देख्न पाउँछौं।
कवि योगिता राईका कविताहरूले सुख-दु:ख, हाँसो-रोदन, गाँउ-ठाँउ, कमान-बस्ती बाहेक राजनीति पनि जान्दछन् अर्थात् राजनीति गर्न पनि सिपालु छन्। उनको ‘तिमी भाषण छाटँ सरकार’ कवितामा कविताले राजनीति गरिरहेको हामी पाउँछौँ। सरकारसँग दह्रो राजनीति गरेर कविता लेख्ने प्रतिज्ञासम्म गर्न सकेको यस कविताले कवि राईको काव्यिक योग्यता बलियो र अभूतपूर्व छ भनि मान्न सकिन्छ।
सरकारलाई दह्रो चेतावनी दिँदै सरकारले दिएको कुटिल भाषण, सरकारले गरेको अगणतान्त्रिक शासन एवं आफुले पाउन नसकेको अवसरहरूमाथि कविता लेखेर नै युद्ध गर्ने प्रण समेत गरेकी छिन्। उक्त कविता ‘तिमी भाषण छाँट सरकार’ – को सानो अंश यसप्रकार छ –
सरकार…!
ओ! मेरो देशको सरकार!
तिमी भाषण छाँट, कोरा भाषण
म कविता लेख्छु।
कविता तिम्रो कुटिल भाषणको
देशको राजनीति र आसनको
घरघरको अपूरो राशनको
अनि लेख्छु ममाथि भएको
अगणतान्त्रिक शासनको
तिमी भाषण छाँट सरकार…..भाषण।
उका कविताहरूले प्रेम पनि गर्ने गर्छन्। प्रेम के हो र यसको महत्व के हो त्यो समयबोधभित्र रहेको ‘तिमीलाई थाह छ के सानु?’ कविताले राम्ररी बोलेको छ। यस कवितामा कविले ‘तिमीलाई थाह छ, ए सानु? तिमीलाई सम्झनु भनेको-‘ भनि आफ्नो सम्झनाहरु छर्लङ्गै दर्शाएकी छिन्। आफ्नो भाव स्पष्ट पारेकी छिन्। ‘तिमीलाई थाह छ के सानु?’ कविताको कवितांश यसप्रकार छ –
तिमीलाई थाह छ, ए सानु?
तिमीलाई सम्झनु भनेको-
म गद्गद रमाउनु हो।
काम थाँती जमाउनु हो।
मुटु भकभक उम्लिनु हो,
खुशी मनभरि पोखिनु हो।
दूध भुलुक्क उम्लेर,
चुलाभरि पोखिनु हो।
भात डढ़ेर भुर्कुट कालै हुनु हो,
पानीपाखा आहालै हुनु हो।
मिलिकमिलिक फोन कोट्ट्याउनु हो
मेलै मारी ग्यालेरी पल्टाउनु हो।
फोटो हेरेर धपक्कै बल्नु हो।
कोही आए छपक्कै बस्नु हो।
छुटै शैली र भाषाको मिठास रहेको यस कविता सङ्ग्रहभित्र रहेका अन्य कविताहरूभन्दा धेरै मन परेको हो मलाई। कविताले घर-गृहको विषय-वस्तु एक-एक गरी खुट्ट्याएर आँखा अघिल्तिर दर्शाएको छ।