विश्व हल्लाउने 16 वर्षीय आन्दोलनकारी ग्रेटा थन्वर्ग

ग्रेटा थनवर्ग अरु केटाकेटीजस्ती थिइनन्। चार वर्षअघि थनवर्गलाई एस्पर्जर्स सिन्ड्रोम भएको पत्ता लाग्यो। उनकी बहिनीलाई पनि यस्तै समस्या छ। ‘म हरेक कुरा बढी सोच्छु। कुनै पनि विषयमा नसोची बस्नै सक्दिनँ। बिर्सिन सक्दिनँ,’ उनले भनेकी छन्। यो बानीले उनलाई डिप्रेसनमा पनि पुर्‍यायो। तर, यसलाई उनले आफ्नो कमजोरीका रुपमा होइन, प्रेरक शक्तिका उपयोग गरिन्। यो रोगका कारण आफूमा भएको एकोहोरोपनलाई उनले वातावरणीय चिन्तामा बदलिदिएकी छन्। कतिपय अवस्थामा यसले समस्या पनि निम्त्याएको छ। उनले ढिपी गरेरै आफ्नी आमालाई हवाई यात्रा नगर्ने वाचा गराइन्। उनकी आमा मलिना अर्नम्यान स्वीडेनकी सबैभन्दा चर्चित ओपेरा गायिकामध्ये एक हुन्। उनका बुबा स्वान्ते थनवर्ग, जो अभिनेता हुन्, शाकाहारी बने। ‘मेरा सबै तर्क सकिए,’ उनका बुबा भन्छन्, ‘हामीलाई मनाउन उनले जोड लगाइरहिन्। अन्ततः परवर्तन गराएरै छोडिन्।’ अटिजमका कारण घण्टौँ एउटै विषयमा ध्यान केन्द्रित गर्ने क्षमता उनीसँग छ। आफूले चाहेको विषयमा उनी वर्षौँ लागिपर्न सक्छिन्। त्यसैले उनले मासु खान छोडिन्। नभई नहुनेबाहेक अन्य चीजबीज किन्न छोडिदिइन्। २०१५ देखि उनले हवाईजहाजमा यात्रा गर्न पनि छोडिदिइन्। अहिले उनको परिवार सौर्य उर्जा मात्र प्रयोग गर्छ। साइकल चढ्छ। डाभोसदेखि न्युयोर्कसम्म पुगेर जलवायु परिवर्तनका विषयमा केही गर्न नसकेको भन्दै विश्वका सम्भ्रान्तहरुलाई धिक्कारिसकेपछि कतिपयले थनवर्गको आलोचना पनि गर्न थालेका छन्। आर्थिक वृद्धि गर्ने, समृद्धि ल्याउने नेताहरुको वाचालाई उनी बकवास भन्छिन्। मुलुकहरुले कार्बन उत्सर्जन थोरैले मात्र घटाउन गरेको वाचा पर्याप्त नभएको उनको भनाइ छ। वातावरणप्रतिको उनको चिन्ता अतिवादी भएको तर्क पनि सुनिन्छ। तर, संसारको हरेक कुनामा चरम उपभोक्तावादी संस्कृति हावी भएको बेला अर्को पुस्ताका लागि पृथ्वी नै रहला कि नरहला भन्ने चिन्ता गर्नु मात्रै पनि महानता हो। त्यसमाथि, आफ्नो स्पष्टता, निडरता र सकारात्मक सोचका कारण उनी यो घोर निराशाको समयमा आशाको दीप बनेकी छन्।


जलवायु आन्दोलनको विश्वव्यापीकरण 

२० अगस्ट, २०१८ मा ग्रेटाले स्कुल हडताल सुरु गरिन्। उनी हरेक दिन स्कुल जाने समयमा स्टकहोमस्थित संसद् भवनबाहिरको सिँढीमा गएर बस्थिन्। तीन सातासम्म उनी यसरी नै बसिरहिन्। कसैले उनको हातमा एउटा पोस्टर थमाइदियो, जहाँ लेखिएको थियो, ‘ठूला मान्छेहरू मेरो भविष्य बर्बाद गरिरहेका छन्, त्यसैले मैले यो सब गर्नु परिरहेको छ।’ केही सांसद्ले बाहिर निस्केर उनलाई समर्थन गरे। तर, सबैको भनाइ एउटै थियो, उनी स्कुल जानुपर्छ। उनले टेरिनन्।

उनको धर्नाबारे स्विडेनमा चर्चा हुन थाल्यो। एउटा सोसल मिडिया कम्पनीका फोटोग्राफरले उनको तस्बिर र भिडियो कम्पनीको इन्स्टाग्राम र युट्युब च्यानलमा प्रकाशित गरिदिएपछि थुप्रै मानिसले उनीबारे थाहा पाए।

अघिल्लो वर्ष सेप्टेम्बर ९ मा स्विडेनमा चुनाव भयो। त्यसपछि उनी स्कुल फर्किन्, तर सातामा चार दिन मात्रै। उनी हरेक शुक्रबार संसद् भवनबाहिर गएर बस्न थालिन्। यसलाई ‘फ्राइडेज फर फ्युचर’ नाम दिइयो। उनको माग छ, जलवायु परिवर्तनलाई रोक्न आवश्यक कदम झट्टै लिइहाल्नुपर्‍यो।

स्विडेनका मानिस नियम–कानुन पालनामा अब्बल मानिन्छन्। तर, एक किशोरीको अवज्ञा आन्दोलनले विश्वको ध्यान आफूतिर खिच्न सफल भयो। उनको यो आन्दोलनपछि विश्वभरका स्कुलमा हडताल हुन थाले। डिसेम्बर २०१८ सम्ममा विश्वका २ सय ७० सहरका २० हजारभन्दा बढी विद्यार्थीले स्कुल हडतालमा भाग लिए।

सन् २०१९ को सुरुवातसँगै ग्रेटाको आन्दोलनले झन् ठूलो चर्चा पायो। युरोपभर प्रदर्शन हुन थाले। उनले विभिन्न मञ्चमा उभिएर सम्बोधन पनि गरिन्।

उनको आन्दोलनले एक वर्ष पूरा गरिसकेको छ र यी किशोरीलाई दृढ संकल्प, सकारात्मक सोच र प्रेरणाको प्रतिमूर्ति मान्न थालिएको छ। उनको ब्यानर दर्जनौँ भाषामा अनुवाद भएको छ। १५ मार्चमा हालसम्मकै सबैभन्दा ठूलो वातवरणीय प्रदर्शन भयो।

एक वर्षअघिसम्म यो सोच्नै नसकिने कुरा थियो। ग्रेटा अत्यन्त अन्तर्मुखी स्वभावकी थिइन्। उनी बिहान ६ बजे उठेर स्कुल जाने तयारी गर्न थाल्थिन्। दिउँसो ३ बजे घर फर्किन्थिन्। ‘मेरो जीवनमा केही पनि भइरहेको थिएन,’ उनले भनेकी छिन्, ‘म सधैँ सबैभन्दा पछाडि बस्ने केटी थिएँ। केही बोल्दिनथेँ। मलाई लाग्थ्यो, म केही पनि बदल्न सक्दिनँ।’ तर, अहिले यिनै अन्तर्मुखी किशोरी  जलवायु परिवर्तनसम्बन्धी सबैभन्दा ठूलो क्रान्तिको नेतृत्व गरिरहेकी छन्। मानिसको भविष्य बचाउने आन्दोलन हाँकिरहेकी छन्।

अटिजममाथि विजय

उनी अरू केटाकेटीजस्ती थिइनन्। उनकी आमा मलिना अर्नम्यान स्विडेनकी सबैभन्दा चर्चित ओपेरा गायिकामध्ये एक हुन्। बुबा स्वान्ते थनबर्ग अभिनेता हुन्। ग्रेटा र उनकी बहिनी बिटा दुवैलाई अटिजम, एडीएचडीजस्ता समस्या छन्।

चार वर्षअघि ग्रेटालाई एस्पर्जर्स सिन्ड्रोम भएको पत्ता लाग्यो। ‘म हरेक कुरा बढी सोच्छु,’ उनी भन्छिन्, ‘मानिसहरू कति कुरा सजिलै जान दिन्छन्। म यसो गर्न सक्दिनँ। कुनै कुराले मलाई दुःखी, चिन्तित तुल्यायो भने त म त्यसलाई बिर्सिनै सक्दिनँ। सानो छँदा स्कुलमा शिक्षकहरूले प्लास्टिकका कारण समुद्र दूषित भएको फिल्म देखाउनुभएको थियो। फिल्म चलुञ्जेल म रोइरहेँ। मेरा साथीहरूले फिल्म हेरुञ्जेल यसमा चासो दिए। सकिएपछि अरू चिजबारे सोच्न थाले। मैले त्यसो गर्न सकिनँ। ती दृश्य मेरो दिमागमा टाँसिइरहे।’

‘म यो संसारलाई अलिक फरक र अर्कै दृष्टिकोणबाट हेर्छु,’ उनी भन्छिन्, ‘मेरो खास चासो छ। अटिजम भएकाहरूमा विशेष चासो हुनु स्वाभाविक हो।’

यो बानीले उनलाई डिप्रेसनमा पनि पुर्‍यायो। तर, यसलाई उनले आफ्नो कमजोरीका रूपमा होइन, प्रेरक शक्तिका रूपमा उपयोग गरिन्। उनको यो प्रयोगको पहिलो शिकार उनकै परिवार बन्यो। प्रोत्साहन दिलाउने अद्भुत क्षमता आफूमा रहेको उनलाई थाहा भयो। त्यसैले नै उनले आमालाई हवाईयात्रा नगर्ने वाचा गराइन्। उनका बुबा शाकाहारी बने। ‘मेरा सबै तर्क सकिए,’ उनका बुबा भन्छन्, ‘हामीलाई मनाउन उनले जोड लगाइरहिन्। उनले हामीलाई परिवर्तन गरिदिइन्। अहिले अरू थुप्रै मान्छेलाई बदलिरहेकी छन्।’

जलवायु परिवर्तनप्रति ग्रेटाको खास रुचि उनी नौ वर्षकी हुँदा विकसित भएको थियो। त्यसबेला उनी तीन कक्षामा पढ्थिन्। ‘मानिसहरू हामीलाई बेलैमा बत्ती निभाउन, पानी बचाउन र खाना खेर नफाल्न सिकाउँथे, जति बेला पनि यस्तै कुरा गरिरहेका हुन्थे,’ उनी भन्छिन्, ‘तिनलाई मैले जलवायु परिवर्तन के हो भनेर सोधेँ। तिनले उत्तर दिए। तर, अनौठो के थियो भने साँच्चै मान्छेले जलवायु परिवर्तन गर्न सक्छ भने सबैले यहीबारे कुरा गर्नुपथ्र्यो। तर, कोही पनि यसबारे बोलिरहेका थिएनन्।’

कुनै पनि विषयमा ध्यान केन्द्रित गर्ने विलक्षण खुबी छ, ग्रेटासँग। अटिजम (स्वलीनता) का कारण यस्तो भएको उनको भनाइ छ। ‘म एउटै काम घण्टौँसम्म गरिरहन सक्छु,’ उनी भन्छिन्। अझ भनौँ, उनी वर्षौंसम्म एउटै काम गरिरहन सक्निे रहिछन्। छ वर्षसम्म उनले यो विषयमा अध्ययन गरिरहिन्। उनले मासु खान छोडिन्। नभई नहुनेबाहेक अन्य चिजबिज किन्न छोडिदिइन्। सन् २०१५ देखि उनले हवाईजहाजमा यात्रा गर्न पनि छोडिदिइन्। एक वर्षपछि उनकी आमाले पनि उनकै पदचाप पछ्याइन्। जसका कारण अन्तर्राष्ट्रिय प्रस्तुतिमा जान छोडिदिइन्। उनको परिवारले सोलार ब्याट्री राखेर ऊर्जा उपभोग गर्न थाल्यो। शहरबाहिर जमिनको एउटा हिस्सा लिएर त्यहाँ आफ्ना लागि तरकारी फलाउन थाल्यो। कसैलाई भेट्न स्टकहोमको केन्द्रमा जानुपर्दा उनीहरू साइकल चढ्छन्। परिवारसँग एउटा विद्युतीय कार पनि छ। तर, आवश्यक नपरी उनीहरू यो कार चढ्दैनन्।

वातावरणीय अभियन्ताका रूपमा स्थापित भएपछि उनलाई र्‍यालीहरूमा बोल्न निम्त्याइयो। अटिजमको समस्याका कारण छोरी बोल्न सक्दिनन् कि भन्ने चिन्ता परिवारलाई थियो। आमाबुबाले उनलाई भाषण नगर्न आग्रह गरे। तर, उनले मानिनन्। उनले कुनै गल्ती नगरी अंग्रेजीमा भाषण दिइन्। ‘यो देखेर म रोएँ,’ उनका गर्वित बुबाले भने।

उनले आफ्नो अडानलाई हतियारका रूपमा पनि प्रयोग गरिन्। स्विट्जरल्यान्डको डाभोसमा उनले अर्बपति र राजनीतिक नेताहरूलाई सोझै भनिन्, ‘म चाहन्छु, यो समस्यालाई लिएर तपाईंहरू आशावादी होइन, सन्त्रस्त हुनुहोस्। हरेक दिन म जति डराउँछु, तपाईंहरूलाई पनि त्यति नै डर लागोस्। त्यसपछि तपाईंहरूले कुनै न कुनै कदम चाल्नुपर्छ।’ उनले अमेरिका, बेलायत र अस्ट्रेलियाका नेताहरूको कडा  आलोचना पनि गरेकी छिन्।

उनको अभियानले वातावरणीय मुद्दामा संसारको ध्यानाकर्षण त गराएको छ नै, न्युरोलोजिकल समस्या भएका व्यक्तिहरूले राजनीतिमा पुर्‍याउन सक्ने योगदानलाई पनि यसले पुष्टि गरेको छ।

कुनै समय निराशाको घना बादलले छोपेकी यी केटी अहिले आशाको दीप बनेकी छन्। उनले सुरु गरेको यो क्रान्तिले वातावरणीय मुद्दालाई स्थापित गर्न दशकौँयता उनीजत्तिको प्रभावशाली व्यक्ति कोही नआएको वैज्ञानिकहरू नै बताउँछन्। संयुक्त राष्ट्रसंघमा उनको प्रशंसा भयो। उनले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग भेटिन् र युरोपेली आयोगका अध्यक्ष ज्याँ क्लाउड जंकरसँग एउटै मञ्चमा बोलिन्। जर्मन चान्सलर एन्जेला मर्केलले उनको कदमलाई अनुमोदन गरेकी छन्।

एक जना १६ वर्षे किशोरीको काँधमा यो सबै निकै बोझिलो होला भन्ने हामी सोच्छौँ। स्कुल जान, अन्तर्वार्ता, भाषणको तयारी गर्न उनले अहिले दैनिक १५ घण्टासम्म खट्नुपर्छ। नियमित गृहकार्य पनि गर्नुपर्छ। उनी आफ्नो कक्षाको उत्कृष्ट पाँच विद्यार्थीमध्ये एक हुन्। तर, यसबाट कुनै दबाब महसुस नगरेको उनको दाबी छ। उनलाई सामाजिक व्यवधानले केही पनि असर गर्दैन। उनी आफ्नो विषयमा पूर्णतः मग्न हुन्छिन्। ‘ममा रहेको कुनै पनि कुरा बदल्न म चाहन्नँ,’ उनी भन्छिन्।

यथास्थितिका लागि खतरा?

जलवायुसम्बन्धी हामीसँग विश्वकै प्रगतिशील कानुन छ भनी स्विडेन गर्व गर्छ। पछिल्ला वर्षमा स्विडेनलाई ‘पहिलो जीवाश्ममुक्त कल्याणकारी राज्य’ बनाउने लक्ष्य राखेर कानुन निर्माण गरिएको छ। तर, जलवायु नीति कस्तो बनाउने भन्नेमा गत वर्षको चुनावमा खासै चर्चा भएन। यो मुलुकको दक्षिणपन्थी पार्टी पनि यसमा सहमत छ।

यो सहमतिलाई बकवास भन्छिन्, ग्रेटा। धनी मुलुकले आफ्नो कार्बन उत्सर्जन प्रतिवर्ष १५ प्रतिशतका दरले घटाउने सहमति भए पनि स्विडेनमा गत वर्ष ३.६ प्रतिशत मात्र कटौती भयो। ‘स्विडेन रोल मोडल होइन’ शीर्षकमा उनले एउटा लेख लेख्दै यस्ता योजनाले सन् २०५० भन्दा पछि हेर्न नसकेकोमा आलोचना गरिन्। ‘त्यसबेलासम्म त मैले आफ्नो आधा जीवन पनि बाँचेको हुन्नँ,’ उनले लेखेकी छिन्, ‘त्यसपछि के हुन्छ?’

उनको यो निडर अभिव्यक्तिलाई कतिपयले खतराका रूपमा लिएका छन्। जीवाश्म इन्धनका पक्षमा लबिङ गर्नेहरू, केही नेता, पत्रकार र अर्बपतिले उनको आलोचना गरेका छन्। खास गरी, वातावरणीय मुद्दामा यथास्थिति चाहनेहरू तथा जलवायु परिवर्तनलाई हावादारी गफ ठान्ने समूहको निसानामा उनी परेकी छन्। सामाजिक सञ्जालमा पनि उनीमाथि आक्रमण हुने गरेको छ। ‘द न्युयोर्क टाइम्स’ले समेत ग्रेटाको अभियानले लोकतान्त्रिक मान्यतालाई भत्काउने तर्क गरिएको आलेख छाप्यो। तर, यसबाट उनलाई कुनै फरक परेको छैन। उनको लोकप्रियता दिनानुदिन चुलिइरहेको छ।

विभिन्न अनलाइन पत्रिकाहरूबाट साभार

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया