‘क्रामाकपाले एनआरसीलाई समर्थन र सिएएलाई विरोध गर्छ’

‘देशका मूलभूत समस्याहरूबाट भाग्न भाजपा सरकारले एनआरसी र सिएए ल्याएको हुनसक्छ,’ उनले भने, ‘यो मुद्दाले गोर्खाहरूको मुद्दालगायत देशका मूलभुत समस्याहरू ओझलमा पार्नेछ।‘

दार्जीलिङ, 19 दिसम्बर


भाजपा समर्थित पहाडको कम्युनिष्ट पार्टी क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले एनआरसी र सिएएको हवाला दिएर भाजपाको वर्तमान एजेण्डाहरूमाथि दलीय विमति सार्वजनिक गरेको छ। क्रामाकपा, जो भारतीय जनता पार्टीलाई चुनाउहरूमा समर्थन गर्दै आइरहेको छ, भाजपाले जब एनआरसी र सिएएलाई प्रमुख मुद्दा बनाएर अहिले देशमा राजनीति गरिरहेको छ, यो देखेपछि भाजपाको नियतमाथि शङ्का गरेको हो।

बङ्गालको चुनावी राजनीतिमाथि विश्लेषण गर्दै भाजपाले बङ्गालमा जित हासिल गर्नु हो भने भाजपाले ‘गोर्खाल्याण्ड’ शब्द उच्चारणसमेत गर्न नहुने अडान राखेर क्रामाकपालाई भाजपाको हिमायती प्रमाणित गर्ने क्रामाकपाले घुमाउरो भाषामा भाजपा इमान्दार नरहेको खुलाएको छ।

समाचार माध्यमलाई क्रामाकपाका प्रवक्ता गोविन्द छेत्रीले एनआरसी र सिएएले भाजपाले प्रतिबद्धता जनाएको स्थायी राजनैतिक सामाधानको मुद्दालाई प्रभाव पार्ने जनाएका छन्। उनीअनुसार देशभरि नै सिएए र एनआरसीको विरोधको लहर चलेकोले स्थायी राजनैतिक सामाधानको मुद्दा नै डाइभर्ट भइरहेको छ। यस्तो अवस्थामा भाजपाले सामाधानको लागि कुनै प्रक्रिया नगर्ने स्पष्ट बनेको छ।

‘एनआरसी र सिएए देशको परिस्थिति र बिग्रँदो अवस्थाबाट ध्यान हटाउन ल्याइएको मुद्दा हुनसक्छ,’ छेत्रीले भनेका छन्, ‘एनआरसीबाट बाहिर भएकाहरूलाई सिएएले नागरिकता दिनेछ। यो न्यायासङ्गत कुरा होइन। यद्यपि क्रामाकपाले एनआरसीलाई समर्थन जनाउँछ र सिएएलाई विरोध गर्छ।’

भाजपा सरकारले सिएए ल्याउनअघि राज्य सरकार र राजनैतिक दलहरूसित सल्लाह नगरेर गल्ती गरेको भन्दै देशको अर्थनीति, वेरोजगारको समस्याको सामाधान नगरेर अनावश्यक मुद्दामाथि काम गरिरहेको छेत्रीको बुझाई छ।

‘देशका मूलभूत समस्याहरूबाट भाग्न भाजपा सरकारले एनआरसी र सिएए ल्याएको हुनसक्छ,’ उनले भने, ‘यो मुद्दाले गोर्खाहरूको मुद्दालगायत देशका मूलभुत समस्याहरू ओझलमा पार्नेछ।‘

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया