एनआरसीको बहानामा बङ्गाल अधिनस्त छैटौं अनुसूचीको माग गर्दै गोरामुमो

एनआरसीको हावाला दिएर पहाडमा छैटौं अनुसूची लागू गर्नुपर्ने मागमा विस्तारै गोरामुमोको स्वर मुखर बन्दैछ। यद्यपि, छैटौं अनुसूची बङ्गालभित्रको व्यवस्था हो। केही समयदेखि गोरामुमोले एनआरसीको कारण देशबाट निस्कनभन्दा छैटौंअनुसूची थापेर बङ्गालमा बसौं भन्ने आशय प्रकट गरिरहेको छ।


दार्जीलिङ, 20 दिसम्बर


हिजोमात्र गोजमुमोका विमल गुरुङले केन्द्रका मन्त्रीहरूले गोर्खाहरूलाई एनआरसीले प्रभावित नपार्ने आश्वासन दिएको जनाएका थिए। तर असममा एनआरसीले गोर्खाहरू प्रभावित बनिसकेका छन्। विमल गुरुङलाई आश्वासन दिने मन्त्रीहरूको कथनी र करनीमा फरक छ भन्ने प्रमाण असममा गोर्खाहरूलाई परेको असरबाट नै प्रमाणित भइसकेको छ।

यस्तोमा फेरि गोरामुमोले पनि गृहमन्त्री अमित शाहले देशभरि लागू हुने एनआरसीले भारतका गोर्खाहरूलाई प्रभाव नपार्ने भनेकोले गोरामुमो ढुक्क रहेको जनाएका छन्। मन्त्रीहरूको करनी जे होस्, विमल गुरुङ र गोरामुमो मन्त्रीहरूको कथनीलाई नै विश्वास गरेर बसेका छन्।

गोरामुमोका अजय एडवर्डले तर दार्जीलिङमा एनआसरी लागू नहुनेसमेत बताएका छन्। ‘विनय खेमाले युजलेस कुरा गर्दै अफवाह फैलाइरहेको छ,’ एडवर्डले भनेका छन्, ‘दार्जीलिङमा एनआरसी लागू हुन्छ कि हुँदैन स्पष्ट छैन।’

गोरामुमोको विचारमा दार्जीलिङमा एनआरसी लागू हुँदैन। विनय खेमाले अफवाह फैलाएर जनतालाई भ्रममा पार्न खोजेको मात्र हो। ‘एनआरसीले दार्जीलिङलाई असरै गर्दैन,’ एडवर्डले भनेका छन्, ‘लागू होस् नहोस् तर सबैले आफ्नो दस्तावेज राख्नुपर्छ।’

एडवर्डले असर नगर्ने पनि भनिरहेका छन्, दस्तावेज तयार गर्नुपर्ने पनि भनिरहेका छन्। ‘यदि एनआरसीले पहाडलाई असर गरे सबैभन्दा पहिले मन घिसिङ र मलाई यहाँबाट निकालोस्,’ एडवर्डले थपेका छन्। एनआरसी लागू भयो भने घिसिङ र उनलाई यहाँबाट निकालोस् भनेर उनले केन्द्र सरकारलाई चुनौती त दिएका छन्, तर चुनौतीको आधार पनि राखेका छैनन्।

एकातिर एनआरसी पहाडमा लागू नहुने पनि भन्छन्, अर्कोतिर कागजपत्र तयार राख्नुपर्ने पनि बताउँछन्। उनीअनुसार एनआरसी कहिले लागू हुन्छ, त्यो नै निश्चित छैन। यसकारण यसबारे टाउको दुखाउनु बेकार कुरा हो। किन भने असममा जुन ढाँचामा एनआरसी लागू भयो, त्यही ढाँचामा देशभरि लागू हुन्छ भन्ने छैन।

एनआरसीको ढाँचाअनुसार गोर्खालाई निकाल्छ भने सबैभन्दा पहिले आफूलाई निकालोस् भेर मन घिसिङले भनिसकेको बताउँदै एडवर्डले आफूहरूलाई एनआरसीबाट छैटौं अनुसूचीले सुरक्षित गर्ने बताएका छन्।

एनआरसीको हावाला दिएर पहाडमा छैटौं अनुसूची लागू गर्नुपर्ने मागमा विस्तारै गोरामुमोको स्वर मुखर बन्दैछ। यद्यपि, छैटौं अनुसूची बङ्गालभित्रको व्यवस्था हो। केही समयदेखि गोरामुमोले एनआरसीको कारण देशबाट निस्कनभन्दा छैटौंअनुसूची थापेर बङ्गालमा बसौं भन्ने आशय प्रकट गरिरहेको छ।

‘छैटौं अनुसूची भयो भने हामी सुरक्षित हुन्छौं,’ एडवर्डले भनेका छन्, ‘विनय तामाङ र अनित थापाले मागेको इनरलाइन पर्मिटले पहाडको पर्यटन क्षेत्र नै समाप्त हुनेछ। किन भने यो पर्मिट भनेको भिजाजस्तो हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया