अप्पर स्यारीको लगमथाङमा शुरु भयो तीन दिने गाउँले उत्सव

विज्ञापन

गान्तोक, 22 डिसम्बर। सिक्किमको राजधानी गान्तोक नजिक जैविक कृषि र दुग्ध उत्पादनको राजधानीकै रूपमा चिनिएको स्यारीको कोपिबारी ग्राम पञ्चायत एकाई अन्तर्गत पर्ने लगमथाङ गाउँमा आइतबारदेखि तीन दिवसीय गाउँले उत्सव आरम्भ भएको छ। स्थानीय मनोकामना संघको स्थापनाको 25औं वर्षगाँठको रजत जयन्ती कार्यक्रमको रूपमा रहेको गाउँले उत्सव 2019 गाउँको जैविक जनजीवन र परम्परा संस्कृतिसित सम्बन्धित उत्सवको रूपमा रहेको छ। उत्सवको शुभारम्भको दिनको कार्यक्रम नाण्डोक नामोक जिल्ला पञ्चायत सुश्री मिरा राई मुख्य अतिथिको रूपमा रहेको यस कार्यक्रममा नाम्डोक सरमसा ग्राम पञ्चायतका सदस्य उमाकान्त शर्मा,नामोक आरिटार पञ्चायतका सदस्य दावा पिञ्चो लेप्चा विशेष अतिथिको रूपमा उपस्थित थिए।

मनोकामना संघद्वारा आयोजित यस तीन दिवसीय उत्सवलाई डाँफे कल्चरल एक्सचेञ्च एण्ड इन्फरमेशन सेन्टर, गान्तोक र फेडरेशन फर वुमन पिस इण्डिया, नयाँ दिल्लीले सहयोग गरेका छन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि सुश्री राईले आफ्नो गाउँको विकास र सामाजिक कार्यलाई यत्ति लामो समयसम्म आफ्नो योगदान दिन सक्षम बनेको संस्थाले अहिले आएर रजत जयन्तीमा समेत आफ्नो परम्परा, संस्कृति र गाउँले जनजीवनलाई उत्सवको रूपमा पालन गर्नु उदाहरणीय कार्य रहेको बताइन्। उनले आफ्नो सम्बोधनमा गाउँलाई उन्नतीको गोरेटोमा संघले दोहोऱ्याइरहेको कुरा यसैले पुष्टि गर्ने बताउँदै उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। यसैगरि कार्यक्रममा संघको स्थापक अध्यक्ष मन बहादुर राईले संघको स्थापना र अहिलेसम्मको उकाली ओरालीको यात्राहरूको तिता मिठा अनुभव राखेका थिए। उनले संघको स्थापना भएयता यसको पञ्जिकरणदेखि अहिलेसम्म गरिरहेको सामाजिक कार्यहरूको बेलीविस्तार प्रस्तुत गरेका थिए। उनले समाजको मूल मन्त्र जिन्दगी एक चक्र हो भन्ने आहानलाई सबैले बुझेर सुख दुःख, भाव-अभाव सबैमा जिन्दगी चलिरहनुपरे जस्तै समाजमा संघले पनि आफ्नो कर्तव्य र कार्य निरन्तर दिइरहेको जानकारी गराए।

संघका महासचिव भक्ति सुब्बाले स्वागत सम्बोधन राख्दै तीन दिवसीय कार्यक्रममा हुने विभिन्न कार्यक्रमहरूको रूपरेखाबारे अतिथि तथा उपस्थित जनसाधरणलाई अवगत गराएका थिए। यसैगरि कार्यक्रममा स्थानीय कलाकारहरूले लोक परम्परागत के लाङ (धान नाँच) सुन्दर ढंगमा प्रस्तुत गरेका थिए। यसैगरि कार्यक्रममा परम्परागत खाद्य उत्सव, साँस्कृति कार्यक्रम तथा स्थानीय व अतिथि कलाकारहरूद्वारा सांगीतिक साँझ र डीजे नाइट्स जस्ता मनोरञ्जनात्मक कार्यक्रम आयोजन गरिरहेको छ। यसैगरि स्थानीय लोक खेलकूदलाई पनि प्रश्रय दिने तथा गाउँलाई ग्रामिण पर्यटन उन्मुख बनाउने दिशामा पनि कार्य गरिने निर्णय गरिएको आयोजक समितिका सदस्य चन्द्र प्रकाश राईले बताएका छन्। यसैगरि दोस्रो र अन्तिम दिनको कार्यक्रम अझ रोचक र गाउँले जनजीवनमा चाख राख्नेहरूको निम्ति छुट्टै विशेषता युक्त कार्यक्रमहरू हुने बताए।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया