कवि भीम ठटालको कविताकृति ‘जिद्दी बालक’ सार्वजनिक

गान्तोक, 22 दिसम्बर । सिक्किमका निक्कै खप्पिस कवि भीम ठटालको कविताकृति ‘जिद्दी बालक’ को दोस्रो सस्करण आइतबार सार्वजनिक गरियो। राजधानी गान्तोकको स्थानीय एक होटलमा आयोजित कार्यक्रममा सिक्किम, कालेबुङ, दार्जीलिङ र डुवर्सका साहित्यकारहरूको निकै बाक्लो भीड़ थियो। कवि ठटालको कविताकृति जिद्दी बालक 2006 मै सार्वजनिक भइसकेको हो। आज त्यसको दोस्रो संस्करण सार्वजनिक गरिएको हो। समालोचक पेम्पा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अर्को मुख्य आकर्षण विभिन्न ठाउँबाट आएका कविहरूको कविता वाचन र कविता विमर्श रहेको थियो। कविता विमर्शमा सहभागी सिलगढ़ीका पुष्कर पराजुली, कालेबुङका सुधीर छेत्री अनि सिक्किमका प्रवीण राई जुमेली र विजय कुमार सुब्बाले वर्तमान नेपाली कविताको अवस्था र कविता लेखनमा देखा परेका नयाँ प्रयोगमाथि वार्ता राखे।

समुचित रूपमा चार वार्ताकारहरूले कवितालाई कतै बाध्न नसक्ने र यसलाई स्वतन्त्रता दिनुपर्ने निस्कर्ष निकाले। यसका साथै नेपाली कवितामाथि प्रयोग भइरहेको अराजगतामाथि पनि प्रकाश पारे। कार्यक्रममा बोल्दै अध्यक्ष पेम्पा तामाङले साहित्यमाथिको बहसले विकासको दिशानिर्देश गर्ने बताए। कवि ठटालले आफ्नो कविताकृतिको दोस्रो संस्करणबारे प्रकाश पार्दै 2006 मा प्रकाशित कृतिलाई परिष्कृत गरेर पाठकबीच ल्याइएको बताए। यसको मूल्याङ्कन गर्ने ठाउँ अब पाठकलाई हस्तान्तरण गरेको उल्लेख गरे।

उक्त कविताकृतिको सार्वजनिक पेम्पा तामाङ, वरिष्ठ कविहरू, मनप्रसाद सुब्बा, रेमिका थापा, डा. पुष्प शर्मा, पूर्ण योञ्जन, विजय कुमार सुब्बा, एसआर सुब्बा अनि मधुसुदन लामाको बाहुलीबाट भएको थियो। कार्यक्रमको पहिलो चरणमा सिक्किम, दार्जीलिङ, डुवर्स र सिलगढ़ीबाट आएका कविहरूले कविता वाचन गरेका थिए। यसअन्तर्गत मनप्रसाद सुब्बा, थीरूप्रसाद नेपाल, कालूसिँह रनपहेंली, तेजमान बराइली, सुधा एम राई, अबीर खालिङ, रेमिका थापा, दीपी राई, प्रवीण खालिङ, आकृति ठटाल, आविष्कार ठटाल र नीमा न्यासुरले कविता वाचन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया