गिरी जयन्तीमा 47औं साहित्य मञ्च सम्पन्न

विज्ञापन

गान्तोक, 27 दिसम्बर। अभियान साहित्य समिति, राङ्काको कार्यालयमा आज अगमसिंह गिरी जयन्तीको अवसर पारेर 47औं साहित्य मञ्च कार्यक्रम आयोजन गरिएको थियो। समितिद्वारा सामयिकरूपमा आयोजन गरिँदै आएको कार्यक्रमको आजको प्रकरणलाई अवकाशप्राप्त शिक्षक केएम पाण्डेले अध्यक्षता गरेका थिए। सभपाध्यक्ष केएम पाण्डेले कार्यक्रममा आफ्नो सम्बोधन राख्दै साहित्यले हामीलाई सुसङ्गत गराउने अनि समाजलाई विकसित र समृद्ध गराउने विचार व्यक्त गरे। सभाध्यक्ष पाण्डेले आफ्नो अनुभव साझा गर्दै आफूले भोगेको पुरानो समय र वर्तमान समयमा धेरै फरक रहेको बताए। कार्यक्रममा वाचन गरिएका कविताहरूको उल्लेख गर्दै समाजका कतियपय पुराना कुराहरू बर्सिँदै जाने र कतिपय नयाँ कुराहरूलाई हामीले स्वीकार्नसक्नुपर्ने विचार पनि व्यक्त गरे। गाउँमा अभियान साहित्य समितिले गरिरहेको पहलको सराहना गर्दै यो समिति अझ फलोस-फुलोस, अझ ठूलो बनोस् भन्ने शुभकामना पनि दिए। साहित्यले हाम्रा युवा पिढ़ी तथा भाइ-बहिनीहरूलाई सुमार्गतर्फ अग्रसर गराउने, सुसङ्गत गराउने बताउँदै समाजको उन्नति-विकासका लागि टेवा पुर्याउने उनले बताए। एउटा विकसित र समृद्द समाजको निर्माणका लागि साहित्यले हामीलाई प्रेरित गरिरहने पनि उनले बताए।
यसरी नै साहित्यकार मनुभाइ पाण्डेले कवि अगमसिंह गिरीको जीवनी तथा कृतित्वमाथि संक्षिप्त जानकारी गराएका थिए। नेपाली साहित्यमा उनलाई जातीय कविका रूपमा चिनिने बताउँदै साहित्य जगत उनीबाट धेरै प्रभावित रहेको पनि बताए। समितिका अध्यक्ष अर्जुन राईद्वारा सञ्चालित कार्यक्रममा केएम पाण्डे, मनुभाइ पाण्डे, जीविका अश्रु, नीलकमल पाण्डे, रञ्जन ढकाल, इम्मानुएल गिफ्ट र पुण्यप्रसाद शर्माले कविता वाचन गरेका थिए। यसरी नै राधा पाण्डे, कुबेर भट्टराई ‘आभाष’ र मोहन गौतमले गजल वाचन गरेका थिए। रञ्जल ढकालले गीति प्रस्तुति राखेका थिए भने अर्जुन यावाले लघुकथा पाठ गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया