भारतको बेंगलुरू में पूर्वोत्तर तथा दक्षिणाञ्चल कवि गोष्ठीमा नेपाली साहित्यबाट प्रभावकारी प्रस्तुति

विज्ञापन

बाग्राकोट, ३० दिसम्बर: साहित्य अकादमी, नयाँ दिल्लीद्वारा दक्षिण भारतको हरित शहर बेंगलुरूमा गत २८ र २९ दिसम्बरमा आयोजित पूर्वोत्तर तथा दक्षिणाञ्चल कवि गोष्ठीमा नेपाली साहित्यबाट प्रभावकारी प्रस्तुति राखिएको जानकारी पाइएको छ। बेंगलुरूको जैन युनिभर्सिटीमा आयोजित राष्ट्रिय संगोष्ठीमा समालोचक रूपेश शर्मा र कवि कमला तामाङले नेपाली साहित्यलाई प्रतिनिधित्व गरेका थिए। शनिवार संगोष्ठी उद्घाटन सत्रपछि दुवैको प्रस्तुति रहेको थियो।
‘न्यू ट्रेन्ड्स इन क्रिएटिभी एण्ड इनभ्यारियोमेन्ट अफ् इण्डियन नेपाली पोयट्री’ माथि समालोचक रूपेश शर्माले आफ्नो वार्ता पेश गरे। समकालीन नेपाली कवितामा देखिएका विभिन्न धारा, प्रवृत्ति र कविहरूलाई समेट्दै तोकिएको समयावधिभित्र शर्माले प्रभावकारी वार्ता राखे। त्यसपछि लगत्तै सम्पन्न अन्तरक्रिया तथा प्रश्न-उत्तर सत्रमा पनि समालोचक शर्माले प्रभावकारी जवाब दिए। दर्शक दीर्घामा रहेका विद्वान साहित्यकारहरूले शर्माका विश्लेषणमा आएका आन्तरिक-उपनिवेशवाद र नारीवादमाथि उनलाई प्रश्न तेर्साएका थिए। जवाबमा उनले भारतमा गोर्खा समुदायको राष्ट्रिय पहिचान, अस्मिता र मुक्तिको प्रश्न कविताको प्रभावकारी समकालीन धारा रहेको उल्लेख गर्दै ‘आन्तरिक-उपनिवेशवाद’-का सन्दर्भहरू समकालीन भारतीय नेपाली कवितामा कसरी आएका छन् भन्ने स्पष्ट पारेका थिए। पूर्वोत्तर भारतका नारीहरु स्वयंले घरेलु दासत्व र उपनिवेशवादी दमन भोगिरहेका छन् नि भन्ने प्रश्नको जवाबमा शर्माले भने,”हामी अन्य समुदायका विषयमा जानकारीबिना ठोकुवा गर्न सक्दैनौं। तर, गोर्खा समुदायमा छोरी हुनुकै कारण अहिलेसम्म कसैको भ्रुणहत्या भएको छैन। ‘बेटी बचाऊ, बेटी पढ़ाऊ’ जस्ता राष्ट्रिय नाराहरू पनि गोर्खा समाजमा असान्दर्भिक छन्, किनभने हाम्रो समाजमा यो संकुचन छैन।” दर्शकदीर्घामा रहेका विभिन्न भारतीय साहित्यका विद्वानहरूले शर्माको वक्तव्यको सराहना गरेका थिए। यस सत्रमा असमिया र बोडो साहित्यका युवा समालोचकहरूले पनि आ-आफ्नो साहित्यमा वर्तमानमा देखा परेका समकालीन लेखन प्रवृत्तिको चर्चा गरेका थिए। यस सत्रलाई मणिपुरका समालोचक कुंजो सिंहले अध्यक्षता गरेका थिए। पहिलो दिनको अपरान्ह सत्रमा पूर्वोत्तर र दक्षिण भारतका आठजना कविहरुले बहुभाषिक कवि गोष्ठीमा भाग लिए। यस सत्रलाई विद्वान साहित्यकार मकरन्द परमजिपले अध्यक्षता गरे। असमिया, कन्नड, बोडो, मलायलम, मणिपुरी, तमिल, तेलुगु भाषाका कविसहित नेपाली भाषाबाट कवि कमला तामाङले तीन-तीनवटा कविता वाचन गरे। तामाङले ‘पर्खँदै शान्तिको मसिहा’ नेपाली र अंग्रेजी (वेटिङ फर द मेसिहा अफ् पिस’)-मा प्रस्तुत गरिन्। यसैगरी, ‘आमा र आँसु’ (नेपाली) अनि ‘जिन्दगी’ (हिन्दी) कविता पनि तामाङले वाचन गरिन्। हिन्दी कविता ‘जिन्दगी’-ले सत्रका अध्यक्ष र दर्शकहरूबाट सराहना बटुलेको थियो। २९ दिसम्बरको दिन पहिलो सत्रमा ‘न्यु ट्रेन्ड्स इन क्रिएटिभिटी एण्ड इनभ्यारियोमेन्ट अफ् साउथ इण्डियन पोएट्री’-माथि संगोष्ठी राखिएको थियो भने दोस्रो सत्रमा बहुभाषिक कवि गोष्ठी सम्पन्न भयो।
साहित्य अकादमीबाट पहिलोचोटि छनौटमा परी वार्ता प्रस्तुत गर्न पुगेका शर्माले साहित्य अकादमी नेपाली परामर्श समितिका संयोजक जीवन नामदुंगप्रति आभार प्रकट गरेका छन्। “नेपाली परामर्श मण्डलीले मलाई भरोसायोग्य ठानेर यो अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दछु। बेंगलुरूको कार्यक्रमले ममा एउटा नयाँ अनुभूति थपेको छ”,शर्माले भने। यसैगरी, कवि कमला तामाङले पनि संयोजक नामदुंगप्रति कृतज्ञता प्रकट गरेकी छन्। तामाङ मिरिक फर्किसकेकी छन् भने शर्मा निजी कामले केही दिन बेंगलुरूमै रहने जानकारी पाइएको छ।00

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया