सदभावना सम्मेलनको प्रथम दिन श्री सतपालजी महाराजले भने  अध्यात्मले नै देशको चौतर्फी विकास हुनेछ

सिलगढी, ३०दिसम्बर- अध्यात्मले मानव मनको प्रदूषणलाई हटाएर  चारित्रिक, नैतिक विकास गराउन सक्षम हुने भएकोले अध्यात्मद्वारा मात्र देशको चौतर्फी विकास हुनेछ। उक्त मन्तव्य मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको तत्वावधानमा उत्तर पलास , मझुवा गाँउ सालुगडास्थित मानव धर्म आश्रमको विशाल परिसरमा सम्पन्न दुई दिवसीय सदभावना सम्मेलनको प्रथम दिनको समारोहलाई सम्बोधन गर्दै मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजले व्यक्त  गरेका हुन्। दार्जीलिङ पहाड, तराई, डुवर्स , सिक्किम, भोटाङमा मानव धर्मको प्रचार- प्रसारमा जगत जननी माताजीले दिनुभएको अथक योगदानको  श्री महाराजजीले स्मरण गर्नुहुँदै उहाँकै असीम कृपा र आशिर्वादले नै यस क्षेत्रमा मानव धर्मको प्रचार- प्रसार भएको हो। श्री माताजी दार्जीलिङ, सिक्किमको कुना कन्दरामा ज्ञानको प्रचार गर्न पुगेको  १९६९-७० तिर आफू पनि श्री माताजीसंग पहिलोपल्ट यस क्षेत्रमा आध्यात्मिक ज्ञानको प्रचार- प्रसारको मिशन लिएर आएको सम्झना गर्दै कालेबुङका स्व.  मुरलीधर अग्रवाल , महात्मा स्व. महानन्दजी लगायत आत्म ज्ञानको प्रचार गर्दा- गर्दै दिवङ्गत भएका सन्त महात्मा बाईगण र दिवङ्गत सम्पूर्ण आत्महरुको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नाको साथै जन- जनमा आत्माज्ञानको प्रचार- प्रसारमा योगदान दिने सम्पूर्ण सन्त- महात्मा बाईगण र प्रचारमा साथ दिने सबै महानुभावहरुप्रति  श्री महाराजजीले धन्यवाद व्यक्त गरे। आफ्नो सम्बोधनमा श्री महाराजजीले मन र परिवेश दुवैको  स्वच्छताप्रति जोड दिने आह्वान गर्दै  आफ्नो परिवेशलाई आफैले गर्नुपर्छ अनि मनको प्रदूषणलाई अध्यात्मको माध्यमद्वारा आफैले सफा गर्नु पर्छ भन्नुभयो। सदभावना सम्मेलनले जन- जनमा धर्म एवम् अध्यात्मको सारलाई बुझ्ने प्रेरणा दिनेछ। सदभावना सम्मेलनमा बताएका ती सारलाई हाम्रा आत्मानुभवी सन्त महात्मा- बाईगणले आत्मज्ञानको व्यावहारिक ज्ञान दिनेछ अनि ध्यान – सुमिरणद्वारा त्यस ज्ञानको आधारमा आफूभित्रको ज्योतिस्वरूप आत्मतत्वलाई अनुभव गरेर आफूले आफूलाई जानेर धर्मको सारलाई बुझ्ने आह्वान गर्नुभयो।  सम्मेलनलाई युवा

शक्तिका प्रतीक श्री विभूजी महाराजले सम्बोधन गर्दै युवाहरुलाई भौतिक समृध्दिसंगै आध्यात्मिक समृध्दिको पनि लक्ष्य राख्ने आह्वान गर्नुभयो। आजका युवाहरु नै देशका भोलिका कर्णधारहरु भएकोले युवाहरुमा समाज, देश, राष्ट्रको सेवामा समर्पित बन्ने निवेदन गर्दै यसको लागि  भारत र नेपालका विभिन्न प्रान्तहरुबाट आएका आत्मानुभवी सन्त महात्मा- बाईगणले पनि सदभावना सम्मेलनको महत्वलाई बुझाउदै प्रवचनहरु दिएका थिए।

सदभावना सम्मेलनको आज प्रथम दिन बिहानैदेखि सम्मेलन स्थलमा विभिन्न कार्यक्रमहरु सम्पन्न भए। बिहान दश बजीदेखि   सदभावना सम्मेलनको मैदानमा मानव सेवा दल, आध्यात्मिक युवा संगठन, बालसभा र श्री हंस व्याण्डको तर्फबाट विविध आकर्षणीय कार्यक्रमहरु सम्पन्न भएका थिए। जसमा मानव सेवा दलको दार्जीलिङ, सिक्किम, डुवर्स र भुटान मण्डलमाझ प्रतियोगितात्मक पी.  टी. प्यारेड , आध्यात्मिक युवा संगठन, भूतपूर्व सैनिकहरुको सदभावना टोलीको पी. टी. प्यारेड लगायत  विभिन्न क्षेत्रका आध्यात्मिक युवा संगठन र बालसभाका नानीहरुद्वारा विभिन्न झाँकीहरु र हंस ब्याण्डको प्रदर्शनी ड्रील लगायत आदिवासी लोक नृत्य र कालेबुङको  सिंही नृत्य , खुकुरी नृत्य आदिले श्री गुरु महाराजजी एवम् दिव्य परिवार र देश- विदेशका विभिन्न प्रान्तहरुबाट आएका सन्त- महात्मा बाईगण र दर्शकहरुको मन जित्न सक्षम भएका थिए। उक्त कार्यक्रमहरुको श्री महाराजजीले सराहना गर्दै भन्नुभयो कि- सबैले आ- आफ्नो भाषा, संस्कृतिको जगेरा गर्न आवश्यक छ।  नेपाली र साद्री भाषाको विकासको लागि आफूले समिति मार्फत् कार्यहरु गरीरहेको र यी भाषाहरुमा मानव धर्म पत्रिकासंगै साद्री भाषामा पनि दिल्लीबाट समितिले  चाडै  प्रथमपल्ट  भजन संग्रह प्रकाशित गरेर यस भाषाको समृध्दिमा टेवा दिने काम गरीरहेको जानकारी पनि दिनुभयो। देशको सुरक्षामा गोर्खा जातिले दिएको योगदानलाई लिएर कालेबुङ जिल्लाले प्रदर्शन गरेको झाँकी देखेर सतपालजी महाराजले देशको सुरक्षा र वीरतामा  गोर्खाहरुले दिएको योगदानको चर्चा गर्दै उनीहरुको योगदानको देशले मूल्याङ्कन गर्ने दिन आएको जनाए।  सबै प्रेमी भक्त समुदायलाई  यस क्षेत्रमा मानव धर्म प्रचार- प्रसारको स्वर्ण जयन्तीको उपलक्ष्यमा बधाई र शुभकामना पनि व्यक्त गरे।  पी.टी.प्यारेड, नृत्य, झाँकी आदिमा भाग लिने सबैलाई महाराजजीको कर कमलबाट पुरस्कार र स्मृति चिन्हहरू पनि प्रदान गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया