बोरोङ तातोपानीमा भोटाङ, नेपाल, सिक्किम-दार्जीलिङका मानिसहरूको घुइँचो, आधारभूत सुविधाको कमी

विज्ञापन

गान्तोक, 2 जनवरी। झलक्कै हेर्दा नेपालको लोपोन्मुख आदिवासीहरू राउटे जातिको झुण्ड भर्खरै आएर डेरा हालेजस्तो देखिने निलो पाल टाँगेर  रङ्गी नदीको किनारमा हालिएको अस्थायी बस्तीमा अहिले नेपाल, भोटाङ, दार्जीलिङ, सिक्किमकै गाउँठाउँका मानिसहरूको भिड़ लागेको छ। वास्तवमा यो अस्थायी बस्ती नेपालको मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने आदिवासी राउटेहरूको बस्ती नभएर बोरोङ तातो पानीमा नुहाउन आउनेहरूको निम्ति लगाइको डेराको बस्ती हो।  दक्षिण सिक्किमको राभाङला महकुमा मुख्यालयदेखि 21 किलोमिटरको दुरूमा रहेको बोरोङ तातोपानी अर्थाथ छा-छुमा तीनवटा मुलुकका मानिसहरू आगामी फरवरी महिनासम्म राम्रै जम्काभेट हुने गरेको छ।

सिक्किमको चर्चित नदीहरूमध्ये दोस्रो रङ्गीत नदी किनारमा रहेको तीनवटा तातो पानी मध्ये अहिले चर्चामा रहेको बोरोङ तातोपानीमा आगामी फरवरी महिनाको अन्तसम्म नेपाल, भोटाङ  र सिक्किम-दार्जीलिङका मानिसहरूको मेला लाग्ने गर्दछ। 21 सय मिटरको उच्चाईमा रहेको चिसेनी राभाङलादेखि रङ्गीत किनारसम्म जाने 21 किलोमिटर मोटर बाटो निर्माण भएको भए पनि लगभग 2 किलोमिटर बाटो पैदल हिँडेर तातोपानीमा नुहाउन र शरिरको रोग निको हुने आशा बोकेरे दैनिक सयौं मानिसहरू यहाँ भेला भइरहेका छन्।

लोवर बोरोङ तातोपानी प्रबन्धन समितिका अध्यक्ष तथा पूर्व पञ्चायत सदस्य पीबी गुरुङले तातो पानीमा बस्न आउनेहरूको सुविधाको निम्ति समितिले  स्वच्छतालाई ध्यानमा राखेर शौचालय र नुहाउने अनि कपडा फेर्ने घरहरूको व्यवस्था गरेको बताए। उनले सुने अनुसार र पुर्खाले बताएअनुसार राजाको पालादेखि नै यो ठाउँमा तातोपानीमा सेक्ने र उपचार गराउने परम्परा रहीआएको हो। मुख्यरूपमा गन्धकयुक्त तातो पानी बहने यो ठाउँमा कुवाको व्यवस्था गरेर समितिले पाहुनालाई सुविधा जुराउने कार्य गरेका छन्। यद्यपी सड़क कार्पेटिङ नभएको कारण वाहनहरू चलाचलमा हुने असुविधा भने सबैभन्दा समस्या रहेको उनी बताउँछन्। पछिल्लो सरकारमा समेत यसबारे माग राखेको तर नभएको अनि नयाँ सरकारप्रति धेरै आस्था र विश्वास रहेको उनले बताए। तातो पानीमा विशेष गरेर विभिन्न रोगको थेरापीको शक्ति रहेको अनि त्यसको उपचार यहाँ पानीमा डुबेर बस्दा हुने गरेको हुनाले नेपाल, भोटाङ, दार्जीलिङ सिक्किमका मानिसहरूको ओइरो लाग्ने गरेका उनको भनाइ छ। विशेष रूपमा जाडोको महिनामा लगभग चार महिना चल्ने यो तातो पानी क्षेत्रिय पर्यटनको हिसाबले पनि महत्वपूर्ण मानिएको छ। पश्चिम सिक्किम र दक्षिण सिक्किमको वारिपारि पर्ने यो बोरोङ तातो पानीमा पछिल्लो 17 दिन देखि बस्दै आएको युवा याप्से थाकर्पाले आफू मोटर साइकल दुर्घटनामा परेर कुप्रिएर मानिसहरूको सहारामा यहाँ आएपछि अहिले कुनै सहारा बिनै उभिएर हिँड्न सक्ने भएको अद्भुत अनुभव सुनाउँछन्। यसैगरि ईटाभट्टा मोरङ नेपालबाट आएकी एक महिलाले दुइ दिनमै आफूले शरीरमा रहेको दुखाई कम भएको अनि फरक अऩुभव गरिरहेको बताएका छन्।

सिक्किमको चर्चित तातो पानीमा रेशी तातोपानी, पोलोक तातोपानी ,बोरोङ तातोपानी दक्षिण र पश्चिम सिक्किममा रहेको छ भने उत्तर सिक्किमको जङ्गु, युमेसाम्दोङ र युमथाङ तातोपानी रहेको छ।जसको तापमान 50 डिग्री सेन्ट्रीग्रेडसम्म हुने गरेको बताइन्छ।  यी तातोपानीहरूमा अध्यात्मिक र औषधीय विशेषताको कारण मानिसहरूको आगमन हुने गरेको भए पनि यसलाई क्षेत्रिय पर्यटन विकासमा महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ। जसलाई उचित सुविधाहरूको व्यवस्था हुन सकेको खण्डमा अन्तरराष्ट्रिय गुणस्तरीय पर्यटनको मार्गको रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया