घोषविरुद्ध बोल्न थाले नेताहरू : घोषले भनेका थिए-गोर्खाल्याण्डका सहिदहरूलाई कुकुर र गोर्खालाई विदेशी

विज्ञापन

दार्जीलिङ, 16 जनवरी


पश्चिम बङ्गालको भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले  गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई असामाजिक तत्व भन्दै एनआरसी, सिएएको विरोध गर्नेहरूलाई पनि गोर्खाहरूलाईजस्तै गोली ठोक्नुपर्ने बताएपछि दार्जीलिङका नेताहरू क्रुद्ध बनेका छन्।

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले घोषले आफ्नो बयानलाई यथाशीघ्र फिर्ता लिनुपर्ने र यसो नगरे उनको विरुद्ध आन्दोलनमा उत्रिनेसमेत बताएका छन्।

“भाजपा पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले 2017-को आन्दोलनमा वीरगति प्राप्त गर्ने 11 जना गोर्खालाई असामाजिक तत्त्वको संज्ञा दिँदै सरकारी सम्पत्ति नष्ट गरेकोमा पुलिसले गोली ठोकी ठीक काम गरेको छ भन्ने जुन बयान दिएका छन्, त्यसको हामी घोर विरोध गर्छौं। यति मात्र होइन, साङ्केतिक रूपमा गोर्खाहरू बाहिरबाट आएका विदेश भन्दै कुकुरको संज्ञासमेत उनले दिएका छन्”, तामाङले भनेका छन्, “बङ्गाल पुलिसले 11 जना गोर्खालाई ठोकी ठोकेको थियो, जसले आगजनी गरेका थिए। जसले राष्ट्रिय सम्पत्ति नष्ट गर्छन्, उनीहरूलाई यसरी कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ- एउटा च्यानलमा बोल्दै दिलीप घोषले यसो भनेका छन्। भाजपा प्रदेश अध्यक्षको यस्तो वक्तव्यको हामी घोर प्रतिवाद जनाउँदछौं। र उनलाई आफ्नो वक्तव्य तुरुन्तै फिर्ता लिनुपर्ने चेताउनी पनि दिँदछौं।”

तामाङले आफ्नै आन्दोलनकारीहरूलाई गठबन्धनमा रहेको दलका नेताले यति निकृष्ट बोल्दा पनि मौन रहने विमल गुरुङमाथि कटाक्ष गर्दै भन्का छन्, “11 जना गोर्खाले त्यतिबेला वीरगति प्राप्त गरेका हुन्, जतिबेला विमल गुरुङले नेतृत्व गरिरहेको गोजमुमो भाजपाको एक घटक दल थियो। र भाजपाले गोर्खाल्याण्ड दिन्छ भन्ने भरोसामा विमल गुरुङले गोर्खाल्याण्डको नाममा हिंसक आन्दोलन शुरु गरेका थिए। भाजपाकै आशा-भरोसामा विमल गोर्खाहरूले बङ्गाल सरकारविरुद्ध गोर्खाल्याण्ड आन्दोलनमा होमिएका थिए भने 11 जना गोर्खाले भाजपाकै विश्वासमा वीरगति प्राप्त गरेका थिए। तर आज आएर भाजपा अध्यक्षले गोर्खाल्याण्ड आन्दोलनकाकारी अनि 11 जना शहीदलाई राष्ट्रिय सम्पत्ति नष्ट गर्ने असामाजिक तत्त्वको नाम दिँदै उनीहरूलाई कुकुरलाई जस्तै गोली ठोकी हत्या गरिएको भनेर जुन बयान दिएका छन्, त्यो अति नै निन्दनीय र विश्वासघाती छ।”

तामाङका अनुसार घोषको बयानबाटै भाजपाको गोर्खाहरूप्रतिको नियत झल्किन्छ। आफूहरूले त्यही नियतको विरोध गरेका हुन्। गोर्खाहरूलाई कुकुरसँग तुलना गर्ने घोषको नियत नै भाजपाको नियत रहेको उनको दाबी पनि छ।

‘असममा हाम्रा दुई लाखजति गोर्खालाई एनआरसीमार्फत् शरणार्थी बनाएर देशबाट निकाला गर्ने ताकमा छन्। एनआरसी र सीएए लगाएर दार्जीलिङ परहाड़लगायत देशका अन्य प्रान्तहरूबाट गोर्खाहरूलाई यसरी नै उच्छेद् गर्न चाहन्छ”,  विनयले थप भनेका छन्, “किनभने दिलीप घोषले जस्तै भाजपाका धेरै नेताले गोर्खाहरूलाई विदेशी सम्झिन्छन्। यसैले हामी भाजपाको विरोधमा छौं। भाजपा गोर्खाहरूका हितैषी होइनन् तर गोर्खाहरूलाई भावनात्मक र राजनीतिक रूपमा लुटेर बर्बाद गर्ने ताकमा छ। गोर्खाहरूले अझै यो कुरा नबुझे भाजपाले गोर्खाहरूलाई घरको न घाटको बनाउनेछ।”

अर्कोतिर, भाजपालाई गोर्खा र गोर्खाल्याण्डको हितैषी बताउँदै चुनाउमा सघाउने नेतृत्वहरूलाई नेतृत्वहरूले पनि आफ्नो जिम्मेवारी बुझेर दिलीप घोषको उक्त वक्तव्यमाथि टिप्पणी गर्नुपर्ने उनले बताएका छन्। उनीअनुसार यदिदि उनीहरू साँचो रूपमा गोर्खा र गोर्खाल्याण्डप्रेमी हुन् भने दिलीप घोषको उक्त अपमानपूर्ण बयानको विरोध गर्नुपर्ने छ। भाजपाका शीर्ष नेतृत्वहरूबाट दिलीप घोषलाई कारबाही गर्न लगाउनपर्नेछ।

विनयले थप भनेका छन्, “अन्यथा गोर्खाहरूका सुरक्षा र स्वाभिमान बचाउने फोस्रो रवाफ नदेखाऊन्। गोर्खाहरूलाई अब बोली होइन व्यावहारिकताको खाँचो रहेको छ।”

अर्कोतिर क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले पनि घोषको वयानप्रति निन्दा जनाएको छ। देशद्रोही बयान दिने घोषलाई तत्काल पुलिसले पक्राउ गर्नुपर्ने क्रामाकपाका प्रवक्ता गोविन्द छेत्रीले मागसमेत गरेका छन्।

‘कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ भन्ने बयान नै देशद्रोही बयान हो। यदि भाजपाले संवैधानिक मूल्य मान्यतालाई मान्छ भने तत्कालै घोषलाई पार्टीबाट निष्कासित गर्नुपर्छ। उनीविरुद्ध ठोस कारबाही गर्नुपर्छ। राज्यको पुलिसले यस्ता देशद्रोही बयान दिने व्यक्तिलाई पक्राउ गर्नुपर्छ,’ छेत्रीले भनेका छन्, ‘के दिलीप घोष देशको नियम-कानून र संविधानभन्दा माथिका राजा हुन् र देशका नागरिकलाई यसरी कुकुरलाई जस्तै गोली ठोक्नुपर्छ भन्ने बयान दिएका हुन्’’, छेत्रीले थप भनेका छन्, ‘‘यो बयान घोषको अराजकता र फासिस्ट नियतको ज्वलन्त उदाहरण हो। भाजपासँग अलिकति पनि नैतिकता छ भने उनीविरुद्ध कारबाही गर्नुपर्छ।’

पछिल्लो गोर्खाल्याण्ड आन्दोलनमा आन्दोलनकारीले आगजनी गरेको र गोर्खा विदेशी रहेको पनि दिलीप घोषले प्रमाणित गर्नुपर्ने माग गर्दै छेत्रीले प्रदेश भाजपा अध्यक्ष र सांसदजस्तो गरिमामय पदमा रहेका व्यक्तिले गोर्खा जातिमाथि यस्तो अप्रजातान्त्रिक, संविधानविरुद्ध बयान दिनु अत्यन्त घातक कुरा रहेको जनाएका छन्।

‘घोष आफै कहाँका हुन्, त्यो प्रमाणित गरून्। गोर्खा र गोर्खाल्याण्ड आन्दोलनमाथि कुनै बयान दिनअघि उनले हाम्रो इतिहास पढ़ून्। दिलीप घोषले आफू गैरजिम्मेवारीपूर्ण र गैरसंवैधानिक बयानका लागि माफी माग्नुपर्छ,’ छेत्रीले भनेका छन्, ‘गोर्खा जाति र गोर्खाल्याण्ड आन्दोलनविरुद्ध दिइने यस्ता गैरकानुनी, असंवैधानिक र अप्रजातान्त्रिक बयानको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले सधैं निन्दा र विरोध जनाउनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया