गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई केन्द्रिय कोषमा रोक्का लगाउने माग

दार्जिलिङ, 16 जनवरी


दार्जिलिङका भारतीय जनता पार्टीका सांसद राजु विष्टले गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जिटिए)मा आउने केन्द्रिय आर्थिक कोषमा रोक्का लगाउन भारतका गृहमन्त्री अमित शाहसित अनुरोध गरेका छन्। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्दागर्दै दार्जिलिङका नेता विमल गुरुङले दार्जिलिङको सर्वाङ्गीन विकासको निम्ति केन्द्र अनि राज्य सरकारसित सम्झौता गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ग्रहण गरेका थिए।

विमल गुरुङले 2017 मा जिटिए त्यागेपछि पश्चिम बंगाल राज्य सरकारले गोर्खा जनमुक्ति मोर्चाका दोस्रो समूहका नेता विनय तामाङलाई जिटिएको अध्यक्ष मनोनित गऱ्यो। अघिल्लो विधानसभाको चुनाउमा उम्मेदवारी दिन तामाङले जिटिएको पद त्यागेपछि अहिले अनित थापालाई अध्यक्षकोरुपमा मनोनित गरिएको छ।

सांसद विष्टले त्यही जिटिएमा अत्याधिक भ्रष्टाचार रहेको आरोप कस्दै भारतको केन्द्र सरकारबाट प्राप्त सबैप्रकारका आर्थिक कोषमा रोक्का लगाइने वयान दिएका हुन्।

‘प्रत्येक वर्ष नै विविध विकासको निम्ति केन्द्र सरकारले जिटिएलाई करोडौं रुपियाँ दिइरहेको छ, तर त्यसलाई सहीरुपले विकासमा लगानी नै गरिएको छैन,’ विष्टले दाबी गरे, ‘म केन्द्रिय गृहमन्त्रालयलाई शीघ्र नै जिटिएको अडिट हुनुपर्ने माग गर्नेछु।’

केन्द्र सरकारले दिएको आर्थिक गुच्छको अडिट नगराएसम्म जिटिएलाई दिइने कोषमा रोक्का लगाउन गृहमन्त्रीलाई पत्राचार गर्ने भन्दै विष्टले विनय तामाङको पार्टीले जिटिएमा आर्थिक धाँधली गरेको किटान गरे।

विष्टअनुसार दार्जिलिङमा भनेजस्तो आर्थिक र सामाजिक विकास भएको छैन। अनित थापाले सरकारी कोषको दुरुपयोग गरेका छन्। ‘जनताको निम्ति आएको कोषमा मनमानी गर्न दिइने छैन,’ विष्टले भने, ‘कुनै पनि परिस्थितिमा दार्जिलिङमा भ्रष्टाचारलाई प्रोत्साहित गरिने छैन।’

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका अध्यक्ष अनित थापाले विष्टको आरोप मनगडन्त रहेको बताएका छन्। ‘विष्टले जिटिएको भ्रष्टाचार प्रमाणित गरुन्, हचुवाको भरमा आरोप लगाएर जनतामा भ्रम सिर्जना नगरुन्,’ थापाले भने, ‘राज्य र केन्द्रबाट आएको कुनै पनि कोषको दुरुपयोग गरिएको छैन। एकै रुपियाँ पनि भ्रष्टाचार भएको छ भने प्रमाणित गरुन्।’

थापाले उल्टै सांसदलाई आफ्नो क्षेत्रीय मर्यादामा बस्न आग्रह गरेका छन्। ‘विष्टले संसदीय कोषलाई दार्जिलिङको विकासमा प्रयोग गरुन्,’ थापाले भनेका छन्, ‘अडिट गरुन्, दूधको दूध पानीको पानी छुट्टिनेछ। सिएए, एनआरसी र एनपिआरबारे भइरहेको विरोधको रिस् जिटिएमा नपोखुन्। दार्जिलिङको बौद्धिकतालाई कम आँक्न छोडुन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया