दिलिप घोषको बचाउमा उत्रिए विष्ट : विरोधमा उत्रिए विनय

विज्ञापन

कालेबुङ, 16 जनवरी


पश्चिम बङ्गालको भारतीय जनता पार्टीका अध्यक्ष दिलीप घोषले एक जनसभामा बोल्दै गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई असामाजिक तत्व, विदेशी र ‘कुकुर’ भनेपछि दार्जिलिङका नेताहरू उनीप्रति क्रुद्ध बनेका छन्।

घोषले नागरिक राष्ट्रीय पञ्जीकरण, नागरिक संशोधन ऐनको विरोध गर्नेहरूलाई गोर्खाल्याण्डको लागि आन्दोलन गरिरहेका गोर्खालाईझैं ममता बनर्जीले गोली ठोक्नुपर्ने बताएका थिए।

‘बाहिरबाट आएका गोर्खाहरूले गोर्खाल्याण्डको नाममा सरकारी सम्पति नष्ट गर्दा ममता बनर्जीले जसरी गोली ठोके, एनआरसी र सिएएको विरोध गर्नेहरूलाई पनि कुकुरलाई सरह किन गोली ठोकेन?, घोषले भनेका थिए। यस वयानबारे एनडीटिबीले रियलिटी चेकसमेत गरेको थियो।

एनडिटिभीसित पनि घोषले सोही कुरा दोहोऱ्याएका थिए। तर दार्जीलिङका सांसद राजु विष्ट भने घोषको बचाउमा उत्रिएका छन्। घोषले दार्जीलिङकै सन्दर्भमा बोलेको पुरानो भिडिया सार्वजनिक गर्दै विष्टले घोषको ‘वयान’-माथि ‘अनावश्यक विवाद खड़ा गरिएको’ बताएका छन्।

घोषले ‘2017 को आन्दोलनमा सरकारी सम्पत्ति क्षति पुर्‍याएको बहानामा ममता ब्यानर्जीको सरकारले 11 गोर्खालाई गोली ठोकेको’ भन्न खोजेको कुरालाई बटारेर ‘विवाद’-खडा गरिएको भन्दै विष्टले घोषले गोर्खाबारे निकृष्ट वयान नदिएको बताएका छन्।

‘घोषले पछिल्लो वर्षको 24 दिसम्बरका दिन सिलगढ़ीमा सीएएको समर्थनमा आयोजित र्‍यालीलाई सम्बोधन गर्ने क्रममा पनि व्यानर्जीमाथि कटाक्ष गर्दै यसै भनेका छन्,’ विष्टले भनेका छन्, ‘तर, त्यो बङ्गाली भाषामा भएकोले धेरैले उनको वास्तविक भावनाबाट अन्जान रहेकोलेआज आक्रोशित भएका हुनसक्छन्।’

आफू व्यक्तिगत हित र राजनीतिक फाइदाका लागि जातिलाई जोखिममा राख्ने व्यक्ति नभएको भन्दै विष्टले यदि कसैले पनि हाम्रा गोर्खालाई केही भने  त्यसविरुद्ध आफूले निर्धक्क बोल्दै आइरहेको भन्दै भर्खरै पनि आफूले मणिकुमार सुब्बाबारे बोलिएको कुरामाथि विरोध जनाएको बताएका छन्।

‘घोषको भिडियो खराब मनशायले सम्पादन गरिएको छ। साथै प्रसङ्गबाहिरको कुरा लिइएको छ,’ सांसद राजु विष्टले भनेका छन्,  ‘म तपाईंहरू प्रतिनिधित्व गर्छु। कृपया ममाथि विश्वास गर्नुहोस्। म तपाईंहरूलाई कहिले निराश पार्दिन।’

सांसद विष्ट बचाउमा उत्रिए पनि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी र विनय खेमा गोर्खा जनमुक्ति मोर्चाले घोषलाई पार्टीले दण्डित गर्नुपर्ने माग राखेको छ। घोषको वयान विरुद्ध नै विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ कालेबुङ जिल्लाका विभिन्न स्थानमा दिलीप घोषको पुतला दहन गरेको छ।

विनयपन्थी गोजमुमो दार्जीलिङ महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले दिलीप घोष दार्जीलिङ पहाड़ आए, उनको अनुहारमा कालो मोसो धसिदिने चेतावनीसमेत दिएका छन्।

“घरी घरी यी भाजपा नेताहरूले गोर्खा समुदायलाई चोट पुऱ्याउने काम किन गरिरहेका छन्? विगतमा दार्जीलिङका पूर्व सांसद एसएस अहलुवालियाले गोर्खालाई विदेशीको संज्ञा दिएर अपमान गरेका थिए’’, थुलुङले भनेका छन्, “अहिले फेरि दिलीप घोषले गोर्खाविरोधी बयानबाजी गरेर गोर्खा समुदायको मनमा चोट पुऱ्याउने कार्य गरेका छन्। यसका लागि उनले माफी माग्नुपर्छ।’’

थुलुङले वर्ष 2017-को आन्दोलनमा शहीद बनेका गोर्खाहरूलाई घोषले कुकुरजस्तो भन्ने बयान दिँदा पनि दार्जीलिङका सांसद राजु विष्ट, गोरामुमो अध्यक्ष मन घिसिङ, अजय एड्वर्ड मौन रहेकोमा आश्चर्य प्रकट गरेका छन्।

यता घोषको वयानलाई गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले ‘गोर्खाप्रतिको भाजपाको नियत’ बताएका छन्। उनले शीघ्र नै घोषले वयान फिर्ता नलिए आफ्नो पार्टी उनीविरुद्ध आन्दोलनमा उत्रिनेसमेत बताएका छन्।

‘घोषले 2017-को आन्दोलनमा वीरगति प्राप्त गर्ने 11 जना गोर्खा असामाजिक तत्त्वको संज्ञा दिँदै सरकारी सम्पत्ति नष्ट गरेकोमा पुलिसले गोली ठोकेर ठीक काम गरेको छ भनेका छन्,’ तामाङले कान्तिपुरलाई भने, ‘साङ्केतिक रूपमा गोर्खालाई बाहिर (नेपाल)-बाट आएका विदेशी र कुकुरको संज्ञासमेत दिएका छन्। जो नितान्तै निन्दनीय छ।’

2017 मा भएको आन्दोलनमा बङ्गाल पुलिसले 11 जना गोर्खालाई गोली ठोकेको थियो। दार्जिलिङमा आगजनीसमेत भएको थियो। बंगालका मुख्यमन्त्री ममता बनर्जीले बंगला भाषा अनिवार्यरुपमा पढ्नुपर्ने भनेपछि चर्किएको प्रतिवादले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको रूप धारण गरेको थियो। यसै आन्दोलनका नाइके विमल गुरुङलाई लाई राष्ट्रद्रोह-को मुद्दासमेत लगाइएको थियो। यही मुद्दा लागेपछि विमल गुरुङ भूमिगत बनेका हुन्।

विमल गुरुङको पार्टी (गोजमुमो-1) भाजपासित गठबन्धनमा छ। तामाङले आफ्नै आन्दोलनकारीहरूलाई गठबन्धनमा रहेको दलका नेताले यति निकृष्ट आरोप लगाउँदासमेत मौन रहने विमल गुरुङमाथि पनि कटाक्ष गरेका छन्।

‘विमल गुरुङको गोजमुमो भाजपाको एक घटक दल हो। भाजपाले नै गोर्खाल्याण्ड दिने हो भन्ने विश्वासमा विमल गुरुङले गोर्खाल्याण्डको नाममा हिंस्रक आन्दोलन शुरु गरेका थिए। 11 जना गोर्खाले भाजपाकै विश्वासमा वीरगति प्राप्त गरेका हुन्,’ तामाङले भनेका छन्, ‘तर आज भाजपा अध्यक्षले गोर्खाल्याण्ड आन्दोलनकाकारी र 11 जना शहीदलाई असामाजिक तत्त्व, विदेशी र कुकुरभन्दा समेत मौन रहनु निक्कै खेदजनक कुरा हो।’

तामाङअनुसार असममा भाजपाले नै एकलाखभन्दा धेर गोर्खालाई अनागरिक बनाएका छन्। अहिले जब चुनावी घोषणापत्रमा रहेको ‘स्थायी राजनैतिक सामाधान’ गर्ने बेला भयो तब गोर्खालाई विदेशीको लाञ्छना लगाउने कुटनीति शुरु गरिएको हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया