हाइवे-को दोस्रो अङ्क विमोचित : समाजको लागि सकरात्मक सोच राखेर अघि बढौं-सुबासमणि सिंह

टिस्टा, 18 जनवरी


उमेश परियारको सम्पादनमा प्रकाशित हुँदै आइरहेको समसामयिक पत्रिका हाइवेको दोस्रो अङ्कको विमोचन भएको छ।  कालेबुङ मणिट्रष्टका चेयरम्यान सुवासमणि सिंहलगायत कार्यक्रम अध्यक्ष डीबी लिम्बु, अरुण घतानी, किशोर प्रधान, सन्तोष प्रधान अनि हाइवे परिवारका सदस्यहरूले टिस्टामा लोकार्पण गरेका हुन्।

शुरुमा नै हाइवे परिवारका सदस्य विशाल राई टिस्टेले कार्यक्रम सञ्चालन गर्दै कुनै पनि पत्रिकाका आयु समाजको साहित्य र भाषाप्रतिको भावनाले निर्धारण गर्ने जनाए। उनले भने, ‘हाम्रो समाज कम्प्लिमेन्ट्री पत्रिका पढेर अघि बढ्दैन। यसैले पत्रिका किनेर पढ्ने संस्कार हामीले नै शुरु गर्न अनिवार्य छ।’

दिलिप प्रसादको स्वागत सम्बोधनबाट टिस्टा सार्वजनिक भवनमा सम्पन्न विमोचन कार्यक्रममा स्थानीय साहित्यकारलगायत अतिथि साहित्यकारहरूको उपस्थिति थियो। हाइवे वरपरका क्षेत्रमा साहित्य फस्टाउन नसकेको तर अम्बर मिश्र घायलले 1990 मा क्षेत्रलाई प्रतिनिधित्व गर्दै शताब्दी नामक पत्रिका सम्पादन गरेदेखि यता यदाकदा साहित्यिक पत्रिका प्रकाशित हुने क्रम  निरन्तर नै रहेको सन्तोष प्रधानले जनाए।

टिस्टा खेलकुद समितिका सचिव प्रधानले यसअघि दोभान, स्मृतिलगायतका पत्रिका, विशाल राई टिस्टेका कृतिहरू र स्थानीय कविहरूका जलनका चार चित्कारहरूनामक कृतिसमेत प्रकाशित भइसकेको जनाए। सम्पादक उमेश परियारले स्थानीय लेखकहरूलाई  प्रोत्साहित गर्नमात्र नभएर उपान्तका विचारहरूलाई मूलधारमा ल्याउन र समाजका सबैप्रकारका अन्तरविरोधहरूबारे विमर्श गर्ने उद्देश्य राखेर हाइवे प्रकाशन शुरु गरिएको जनाए।

‘यो केवल हाइवे वरिपरिका विषय समेट्न मात्र निकालिएको पत्रिका मात्र होइन,’ परियारले भने, ‘हाइवे क्षेत्रबाट निस्किने यस पत्रिका भारतीय गोर्खे समाजका प्रतिनिधि सवालहरूलाई मूलधारमा ल्याउने माध्यम बनोस् भन्ने सदिच्छा पनि राखिएको छ।’

उनले आगामी अङ्कहरूमा हाइवे परिवारको उद्देश्यलाई अझ गम्भीरसित सम्बोधन गरिने जानकारी पनि गराए।

गोर्खा समाजको राजनैतिक, सामाजिक, सांस्कृतिक अन्तरविरोधहरूलाई केलाएर गोर्खा पाठकलाई प्रवुद्ध गर्नेगरीका विषयवस्तुहरू समेटिए हाइवे पत्रिकाले ‘हाइवे’ हुनुको अर्थ राख्ने परामर्श दिँदै कवि मनोज बोगटीले साहित्यले पाठकलाई प्रश्न गर्ने संस्कृति नै प्रदान गर्न नसकेको समेत बताए।

कार्यक्रमका मुख्य अतिथि सुवासमणि सिंहले ट्रष्टले धेरैवटा योजना सञ्चालन गरिरहेको र त्यसमध्ये एउटा कुनै पनि कार्यक्रमलाई सहयोग गर्नु पनि रहेको जनाए। उनकै ट्रष्टको आर्थिक सहयोगमा प्रकाशित हुँदै आइरहेको हाइवे-पत्रिकाको दिर्घायुको कामना पनि उनले गरें।

‘चारवर्षअघि केवल स्वास्थ्यबारे मात्र काम गर्छु भनेर उत्रिएको थिएँ। तर काम गर्दै जाँदा समाज त अरू नै घेरै रोगले नै सिकिस्त रहेको भेटें,’ सिंहले आफ्नो सम्बोधनमा भने, ‘त्यसैकारण स्वास्थ्यसितै आर्थिक, साहित्यिक, सामाजिक, सांस्कृतिक मेरुदण्ड बलियो पार्ने काम समेत शुरु गरेका छौं।’

आफू समाजको लागि सकरात्मक विचार राखेर काम गर्न चाहने जोकसैलाई पनि आफूले सहयोग गर्ने र आजका युवा पुस्ताले केही समय समाज निर्माणको लागि पनि खर्च गर्नुपर्ने जनाए।

कार्यक्रममा कवि निर्दोषिका तामाङ, मिलन लामा रोगी, नारायण काफ्ले, भारती लावर, सुनिल थुलुङलगायतले कविता वाचन गरेका थिए भने लालीगुराँस, सलिना एवं समूह अनि मनिशा रसाइलीले गीत र नृत्य प्रस्तुत गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया