फासफुस फातसुङ : बङ्गाली पाठकको भागमा के पऱ्यो?

विज्ञापन

आलोचना

फातसुङको चर्चाले शिखर छोएको बेला मलाई लागेको थियो, ‘‘म्याक्सिम गोर्की’’को ‘आमा’ले जस्तै गोर्खाल्याण्ड आन्दोलनको कोत्रे अनुहार र विसङ्गतिहरू केलाउँदै अत्याचारको गर्भबाट परिष्कृत क्रान्ति जन्माउन सक्ने हुङ्कार दिँदै सचेतनाको मूल फुटाउने शब्दहरूको भारीको नाम होला ‘फातसुङ’। तर त्यस्तो पाइन्न। फातसुङ त संवैधानिक आन्दोलनलाई देशद्रोहीको संज्ञा दिँदै आन्दोलन अवधि सरकार पक्षबाट गरिएका सबै किसिमको अत्याचार, सत्ताको कुटनैतिक चलखेलको डल्लै एपिसोड छुटाएर सरकार सुनियोजित, मुढे बलमा पहाडको राजनैतिक जिम्मेवारीलाई काँध हाल्दै आएका नेता गणको अज्ञानतापूर्वक तीव्र गतिमा पतनतिर बढिरहेको पहाडको राजनैतिक संस्कृतिको एक तर्फी नमिठो दुर्गन्धको ‘भिजवल’ मात्रै रहेछ।


जानुका दाहाल


फेसबुक नोटिफिकेसन आयो। समिक  चक्रवर्तीजीले ट्याग गरेका रहेछन्। बहुचर्चित नेपाली उपन्यास ‘फातसुङ’-को बङ्गला अनुवाद भएछ। मूल लेखक छुदेन काविमो अनि अनुवादक शमिक चक्रवर्ती दुवै सर्जकलाई बधाई दिएँ तर मनमा के के खट्क्यो। मन खल्लो भइरह्यो। किन यस्तो भयो त? यी नै खल्लोपनको आन्तरिक मर्मलाई यस लेखको अन्तिम अनुच्छेदमा अँटाएकी छु।

2019-को मई महिनाको कुरा हो। सामाजिक सञ्जालमा हलचल भयो। हलचलले साहित्यिक बजार, पत्र-पत्रिका लगायत सामान्य पाठकसमेतलाई उत्तेजित बनाएकै हो। नेपाली साहित्यमा धुम मच्चाउने तयारीमा बसेको फातसुङको साहित्यिक इन्ट्री साँच्चै बलिउड फर्म्याटको थियो। विमोचन भयो। किताब हात पारें।

पहिले नै नेपालमा विमोचन भएको कारण उपन्यासको प्रचार, चर्चा र विज्ञापन व्यापक भइसकेको थियो। भारत विमोचन हुनसाथ एकै दिनमा पढी सिद्ध्याएँ ‘फातसुङ’।

उपन्यासको विविध पाटोबारे चर्चा भइरहेकै छ। राजनारायण शैलीको पाठकलाई मुग्ध पार्ने भाषा भन्दै धेरैले उपन्यासको प्रशंसा गरिरहेका छन्। ठेट दार्जिलिङ्गे लवजमा लेखिएको फातसुङको भाषा-शैलीमा यति विघ्न मिठा छन् पाठकले नबिसाई पुरै किताब पढ्न सक्छन्। एकै बसाइमा।

उपन्यासकारको सपना

सानो सपनाको चोइटाले पनि जीवनलाई कर्तव्यतिर दोहोऱ्याउन सकिने अर्थात् सपनाको गहनतालाई र यसको बहुआयामिक चरित्रलाई उपन्यासकार काविमोले जैविक प्रस्तुति दिएका छन्। उपन्यासकारको मत अनुसार मिसले देख्न सिकाएको सपनाका कारण नै उनी आज समाज लेख्न सक्ने बनेका हुन।

‘यही सपना छ जसले मानिसलाई जीवनको अर्थ दिन्छ। जब सपना भत्किन्छ मान्छेको जीवन फुलाउने रहर भत्किन्छ’।- (गाँऊको सपनालाई राजनीतिले लात हानिरहन्छ – पेज न. 19 )। हरेक मान्छेसँग सपना हुन्छै हुन्छ। तीनै सपनाले मान्छेलाई जिउने साहस दिन्छ भन्ने उपन्यासकारको भनाइ हो।

गोर्खाल्याण्डतिर फर्किँदा

प्रस्तावित गोर्खाल्याण्ड सङ्घर्षको केन्द्र थलो दार्जिलिङ हो। इस्ट-इन्डिया कम्पनीले दार्जिलिङलाई सिक्किम राजाको कब्जाबाट हत्याएको थियो। ब्रिटिस शासकहरूले दार्जिलिङ पहाडका प्राकृतिक संसाधनहरूबाट भरपुर फाइदा उठाए। दार्जिलिङमा चिया उद्योग सुरु भयो र यो सँगै सुरु भयो शोषणको इतिहास। ब्रिटिस आगमन सँगसँगै गोर्खा समुदायमा उपनिवेशवादको नयाँ अध्याय सुरु भयो अनि यस समुदायका सचेतकहरूमा स्वायत्त शासन व्यवस्थाको अवधारणा बनिन थाल्यो।

दोस्रो विश्व युद्ध सँग-सँगै विश्वव्यापी चलेको थियो गणतान्त्रिक आन्दोलन। यसै काल क्रममा भारतले स्वाधीनताको सास फेऱ्यो। दार्जिलिङ पहाडलाई बिहार, आसम हुँदै अन्तमा पश्चिम बङ्गालमा गाभियो। देश स्वाधिन भएपछि शासकको अनुहार त फेरियो तर शोषणको अन्त भएन। आजसम्म पनि शासक मानसिकता बोक्नेलाई पहाडको जल, जङ्गल, मौसम, चिया, सिन्कोना आफ्नो लाग्छ। तर त्यही चिया र सिन्कोना बगानमा पसिना बगाइरहेका श्रमिक अनुहारहरू विदेशी लाग्छ। यहाँका रैथाने आर्थिक र राजनैतिक अधिकारबाट वर्षौँदेखि वञ्चित रहँदै आइरहेका छन्। त्यसैको उपज हो, दार्जिलिङका रैथानेहरूले छुट्टै प्रशासनिक इकाई हुँदै गोर्खाल्याण्को (छुट्टै राज्य) विकल्प तयार गरे।

तर फातसुङमा फासफुस कथा

फातसुङमा गोर्खाल्याण्ड आन्दोलनको एउटा पाटोको मात्र ‘भिजुवल’ छ। त्यो  हो गोर्खा समुदायको अवसरवादी चरित्रका राजनीति र नेतृत्व। उपन्यासमा अवसरवादी, धुर्त चरित्रका नेतृत्वले आन्दोलनलाई राजनीतिक दलदलमा फँसाएको र नोर्देन (उपन्यासका मुख्य पात्र)-हरूका अनगिन्ती सपनाहरू निमिट्यान्न पारेको कुरालाई विचित्र ढङ्गमा प्रस्तुत गरिएको छ।

भारतीय गोर्खाहरूले राष्ट्रिय- अन्तर्राष्ट्रियस्तरका आर्थिक अनि राजनैतिक चेतसहित जातीय भावनाले प्रेरित निस्स्वार्थ नेतृत्व नपाएको या चयन गर्नमा चुकेका त हुन् नै। आजसम्म जति पनि गोर्खाल्याण्ड आन्दोलनका ‘हिट एपिसोड’-हरू सञ्चालित भए त्यसमा भावनात्मक त्याग मनग्गे नै छन्। राजनैतिक चेतको खडेरी अझै छ।

सत्ताले समय-समयमा यही भावनाको बल्छी फ्याँक्दै आम जनतालाई उक्साएर सत्ताको आवश्यकता अनुसार सुनियोजित आन्दोलन गराउँदै आएको तथ्य विगतले स्पष्ट पार्छ। सन् 1986-को आन्दोलन केन्द्रको सहयोगमा। सन् 2007-को आन्दोलन राज्यकै सीपीएमको सहयोगमा। यस्ता आन्दोलनलाई प्रस्ट बुझ्न भाषा अन्दोलनको नाममा सुरु भएको 2017 को गोर्खाल्याण्ड आन्दोलनलाई केलाउन जरुरी छ। सत्ताको सुनियोजित  धनुबाट छोडिएका तीर मात्रै हुन् 2017-को आन्दोलन। धनुर्धारीहरू अझै पनि राइटर्स भवन र संसद्मा बसेर निशाना ताकिरहेकै छन्।

फातसुङमा सत्ताको यस्ता र यही कुरूप अनुहार नै पाइन्न। दार्जिलिङ पहाडमा राज्य र केन्द्र दुवै सत्ताले चलेको षड्यन्त्र र कारवाहीहरूको विस्तार व्याख्या उपन्यासमा एकै सुता पनि छैन। स्थानीय नेताका छल-कपट मात्रै गोर्खाको सपनामा फ्याँकिएको एटम बम हो त? उपन्यासकारले किन सत्ताको चरित्रलाई लुकाएर गोर्खाल्याण्डको कथा लेखिदिए?

दुई गुटको नेतृत्व स्वार्थलाई मात्र उपन्यासको सतहमा राखेर राज्य अनि केन्द्रका खलनायकहरूलाई ओझेलमा राख्दै उपन्यासकारले गोर्खाल्याण्डको अपुरो कथा लेखेका छन् भन्ने मतमा म स्पष्ट छु।

आन्दोलन र नारी हिंसा

‘जातीय विभेद’ आजको सभ्य समाजअघि उभिएको गम्भीर चुनौती हो। यो सर्वव्यापी मुद्दा हो यसलाई उखेल्ने पहल पनि सर्वव्यापी नै हुनुपर्छ। भइरहेको पनि छ। गोर्खाल्याण्ड आन्दोलनमा जातीय विभेदको खासै औचित्य देख्दैनौँ। तर पनि उपन्यासकारले सुन्दर घटनाको वर्णन गर्दै नेपाली समाजमा हुने जातीय विभेदलाई पाठक सामु राखेका छन्। यो उपन्यासको सबल पक्षको हो। तर आन्दोलनमा प्रस्टै देखिएको नारी सहभागिता र नारी उत्पीडनका घटनाहरूलाई भने उपन्यासले समात्न सकेको छैन। गोर्खाल्याण्ड आन्दोलनमा नारी शोषणका मुद्दाहरू पनि विकराल रूपमा छन्। आन्दोलन अवधि दार्जिलिङ पहाडमा महिला हिंसाका घटना चरमोत्कर्षमा पुगेको हो। सन् 1986-को आन्दोलनलाई दबाउन राज्य र केन्द्र दुवै सरकारले पहाडमा अर्ध सैनिक बल भित्र्यायो। आन्दोलनकारीलाई देशद्रोही ठहऱ्याउँदै आमजनता(किसान, मजदुर)लाई इन्काउन्टर गर्न पाउने आदेश लिएर अर्ध सैनिक बल गाउँ पस्थ्यो। इन्काउन्टरको त्रासमा आन्दोलनकारी घर छोडेर भाग्थे। भाग्न नसकेका महिला, वृद्धा र नाबालिकहरू अर्ध सैनिक बलको सिकार बन्थे। घरको खानतलासी, असहायहरूको धरपकड, वृद्ध, नाबालिकहरू समेतलाई कुटपिट र बलात्कार गर्ने घटना दैनिक रुटिनमा पर्थ्यो।

बलात्कार अनि हत्याका घटना कति भए यसको लेखाजोखा छैन। चाहे यस्ता घटनाका तथ्याङ्कहरू मेटाइएको नै किन नहोस् तर आन्दोलन काल भोगेका प्रत्यक्षदर्शीहरूका आँखामा पराकाष्ठाका सम्पूर्ण विवरण आज पनि पढ्न सकिन्छ। फातसुङको पन्नाहरूमा भने यस्ता घटनाहरू भेटिन्न।

चिया श्रमिक र आन्दोलन

आधारभूत अधिकारका निम्ति सङ्घर्षरत चिया श्रमिकहरूमाथि मालिकवर्गले गरिरहेको शोषणको कथा दार्जिलिङको चिया उद्योग जतिकै पुरानो छ। भारत स्वाधीनता अघि दार्जिलिङमा जब ब्रिटिश शासन थियो। भारतको मानक कानुन यहाँ लागु नहुने प्रावधान बनाएका थिए शासकहरूले। अङ्ग्रेजी साहेब चिया श्रमिकहरूलाई घरेलु नोकर मान्थे। म्यानेजरका कुदृष्टि महिला श्रमिकहरूमा पर्थ्यो। उनीहरूको मनोमानी नचले श्रमिकहरू कामबाट बेदखल हुनुपर्थ्यो। हट्टाबाहिर गरिन्थ्यो।

स्वाधीन भारतपछि ब्रिटिस लखेटिए तर चिया श्रमिकका निम्ति शोषणतन्त्रको अन्त भएन। श्रम शोषणको पराकाष्ठा र महिला पुरुष बिच असमान वेतनको असन्तृष्टीले श्रमिकहरूमा विद्रोहको ज्वाला बल्थ्यो। बोनस, न्यूनतम ज्याला, सुत्केरी बिदा पाउनुपर्ने जस्ता माग लिएर मार्गरेट्स होप चिया बगानका श्रमिकहरू 25 जुन 1955-का दिन जुलुसमा निस्किए। उक्त जुलुसमा पुलिसले चलाएको निर्मम्तापूर्वक गोलीबाट 6 जनाको ज्यान गयो। मौली शोभा राइनी (गर्भवती महिला) अनि रुखमा चढेर जुलुस हेर्दै गरेका 12 वर्षीय बालक कोले सुब्बा समेत पुलिसको गोलीबाट बाँच्न सकेनन्। तर फातसुङमा मानव अधिकार हनन, मजदुर शोषण र  महिला हिंसाका घटनाहरू परेका छैनन्।

उपन्यासकार छुदेन काविमोसँग पत्रकारिताको लामो अनुभव छ। उनको कथा सङ्ग्रह ‘1986’ले सन् 2018-मा युवा साहित्य अकादमी पुरस्कार पनि जितेको हो। त्यसैले उपन्यासकार काविमो कच्चा लेखक पटक्कै होइनन्। तब कसरी छुटिए त फातसुङमा यी महिला हिंसा र मानव अधिकार हननका घटनाहरू?

सङ्घर्ष र योगदान

भारतीय राष्ट्रियताभित्र गोर्खाहरूको आत्मनिर्णयको अधिकारको सङ्घर्षमा नोर्देनहरूको योगदान पानीमा बगेको छैन। यस आन्दोलनले गोर्खा जातीय सङ्घर्षलाई राष्ट्रिय रूप दिन सक्षम बन्यो। आन्दोलनको क्रममा ज्ञापन पत्र चढाउँदै बस्ने प्रतिनिधि टोली बाहेक पनि एउटा गतिलो जमात पहाडमा छ। जसको राजनीतिक असन्तृष्टीलाई सधैँ सत्ताको शोषणले दबाएर राख्न असम्भव छ भन्ने शिक्षा सत्ताले लिएको छ। लेखकले नोर्देनहरूको योगदान व्यर्थ भएको संज्ञा दिँदै हताश र निराशाको जुन चित्र कोरेका छन्, त्यो पटक्कै न्यायसङ्गत छैन।

फातसुङको चर्चाले शिखर छोएको बेला मलाई लागेको थियो, ‘‘म्याक्सिम गोर्की’’को ‘आमा’ले जस्तै गोर्खाल्याण्ड आन्दोलनको कोत्रे अनुहार र विसङ्गतिहरू केलाउँदै अत्याचारको गर्भबाट परिष्कृत क्रान्ति जन्माउन सक्ने हुङ्कार दिँदै सचेतनाको मूल फुटाउने शब्दहरूको भारीको नाम होला ‘फातसुङ’। तर त्यस्तो पाइन्न। फातसुङ त संवैधानिक आन्दोलनलाई देशद्रोहीको संज्ञा दिँदै आन्दोलन अवधि सरकार पक्षबाट गरिएका सबै किसिमको अत्याचार, सत्ताको कुटनैतिक चलखेलको डल्लै एपिसोड छुटाएर सरकार सुनियोजित, मुढे बलमा पहाडको राजनैतिक जिम्मेवारीलाई काँध हाल्दै आएका नेता गणको अज्ञानतापूर्वक तीव्र गतिमा पतनतिर बढिरहेको पहाडको राजनैतिक संस्कृतिको एक तर्फी नमिठो दुर्गन्धको ‘भिजवल’ मात्रै रहेछ।

उपन्यासको भाषा-शैलीको मजा आफ्नो ठाउँमा छ। उपन्यासले बोकेको विषयको गहनता अर्को ठाउँमा नै छ। गोर्खाल्याण्ड आन्दोलनको समावेशी  पाठकीय तौलाइमा फातसुङको दुइटै कुरा उत्कृष्ट र पूर्ण लाग्यो, एउटा सरल र मिठो भाषाशैली अनि उपन्यासकारको सपना।

यद्यपि, प्रस्तावित गोरखाल्याण्ड क्षेत्रमा हुँदै आएका मानव अधिकार हनन, महिला हिंसाका घटना, श्रमिक शोषणको धारावाहिक घटनाक्रम जस्ता गुदी कुरा बिना, यहाँको राजनैतिक उथलपुथल र सङ्घर्षको एक पक्षीय अधुरो कथा नै बङ्गला भाषी पाठकहरूको भाग पऱ्यो भन्ने कुराले आजीवन खल्लोपन लागिरहने हो कि!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया