ओ, साहित्य अकादमी! अ-साहित्य अकादमी

विचार

अहिलेसम्म जुरीले पुस्तक छनौट  गर्दा कतिपटक भारतीय नेपाली साहित्यको सिङ्गो हित हेऱ्यो? परामर्श समितिले आफूलाई जुरीको निर्णयबाट कतिसम्म अलग राखेर निष्पक्षता प्रदान गऱ्यो? यी प्रश्नहरू गम्भीर छन् तर सधैं आखीओझेल पनि हुँदै आएको छ। साहित्य अकादमीलाई आफ्नो पेवा ठान्ने र मनमानी गर्ने एकाध मानिसहरूद्वारा स्थापित कोल्टे व्यवस्थाले यी प्रश्नहरूलाई जहिल्यै कुल्चेर राख्दै आइरहेको छ भन्दा अतिशयोक्ति नहोला।


शैलेन्द्र समदर्शी


24 वटा भाषामध्ये 23 वटाका लागि साहित्य अकादमी नयाँ दिल्लीले यसवर्षको साहित्य अकादमी पुरस्कारको घोषणा गऱ्यो। घोषणा हुनमा छोड़िने नेपाली भाषा थियो। अर्थात् त्यसदिन नेपाली भाषाको कृतिलाई साहित्य अकादमी पुरस्कारको घोषणा गरिएन। भनियो- पछि गरिनेछ। तर, पछि कहिले त्यो पनि तोकिएन। हुन ता नेपाली भाषाका कृतिलाई दिइने साहित्य अकादमी पुरस्कार धेरजसो विवादमा पर्दै आएको छ।

दिइँदा र नदिइँदा तथा पछि दिइने घोषणा गरिँदा पनि यसमा विवाद र चर्चा हुनु एक प्रकारले स्वाभाविकै हो। यसैले पनि यसवर्ष पछि दिइने घोषणा गरिँदा पनि हल्काफुल्का विवाद सोशल मिडियामा उठ्नु जायजै हो। वास्तवमा नेपाली साहित्यका सरोकारवालाहरूले साहित्यिक गैरकानुनी कार्य र गैरउत्तरदायित्वप्रति प्रश्न उठाउन पाउनुपर्छ। यस्ता प्रश्नहरूबाट बाउँठिएर भिक्टिमाइजगर्नु पद र संस्थाको दुरुपयोग गर्नु तथा हैकम देखाउनु हो। यस्ता कुरा साहित्य अकादमी नेपाली भाषाको सन्दर्भमा अक्सर देखिने गरेको छ।

केही वर्ष सिलगढ़ीको एक साहित्यिक कार्यक्रममा एकजना साहित्यकारले यस कलमकारसँग कानेखुसी गरेका थिए, ‘हिजोआज साहित्य अकादमी पुरस्कार कृतिलाई जाँचेर होइन, सम्बन्धको दूरी नापेर दिने गरिन्छ।

त्यसवर्ष साहित्य अकादमी पुरस्कारका लागि चयनित पुस्तकलाई लिएर उठेको विवाद चरममा थियो। कृतिका गुणात्मक र साहित्यकता सँगसँगै क्षेत्रीयतालाई लिएर पक्ष-विपक्षमा विवाद चुलिरहेको थियो। पक्षमा भन्दा विपक्षमा बढ़ी तर्कहरू बलिया थिए। विरोध यसकारण पनि जायज थियो, किनभने उक्त पुस्तकलाई साहित्य अकादमी पुरस्कारका लागि चयन गर्दा अन्य  राम्रा राम्रा पुस्तकलाई पर पन्छाइएको थियो। यो विरोधले पढ़ाएको पाठबाट साहित्य अकादमी नेपाली भाषा परामर्श समिति र कृति चयनका लागि गठित जुरीले आगत दिनमा शिक्षा लिनेछन् भन्ने धेरैले सोचेका थिए, तर त्यसो हुनसकेन।

पछिल्लो वर्ष पुनः अघिकै विवादको नवीनीकरण भयो। जुरीका एक सदस्यले बहुमतले (तीनमध्ये दुईले) छनौट गरेको पुस्तकमाथि विरोध जताए। त्यसवर्ष पनि त्यस्तै भएको थियो, जस्तो 2013 मा भएको थियो। अघिल्लो विवादले पढ़ाएको पाठबाट अकादमी नेपाली भाषा परामर्श समिति र कृति चयनका लागि गठित जुरीले शिक्षा नलिएको बुझिन्छ।

पुरस्कारलाई लिएर मात्र होइन, तर अन्य कार्यक्रमहरूलाई लिएर पनि अकादमी नेपाली भाषा परामर्श समिति पटकपटक विवादमा पर्दै आइरहेको कुरालाई आँखीओझेल गर्न मिल्दैन। यसले साहित्य अकादमीको विश्वासनीयता, पुरस्कारको गरिमा र साहित्यप्रति मानिसहरूलाई वितृष्णा जगाएको छ। हुन त कुनै पनि लेखक साहित्यकार पुरस्कार पाउनकै लागि लेख्दैनन्।

यदि कसैले पुरस्कार पाउनका लागि लेख्छन् भने उसले साहित्य होइन तर लबी र गुटबाजी सिर्जना गरिरहेका हुन्छन्। यद्यपि राम्रा कृतिलाई मूल्याङ्कन गरी त्यस कृतिका सर्जकलाई कुनै पुरस्कार प्रदान गरिएको खण्डमा ती सर्जकमा थप राम्रा कृति सिर्जनाका ऊर्जा पलाउने कुरा भने पक्कै हो। यसले पुरस्कारको मान रहन्छ। साथै योग्य साहित्यकारलाई सम्मान हुन्छ, जुन साहित्यको विकासका लागि पनि अनिवार्य कुरा हो।

आखिर कहिलेदेखि यस्तो हुन्छयो प्रश्नले उत्तर खोजेको उहिल्यैदेखि हो। आजसम्म पनि खोजिरहेको छ। सायद एकाध मानिसहरूद्वारा स्थापित आफू खुशीको व्यवस्था परिवर्तन नभए अझ कतिसम्म यो प्रश्नले उत्तरै खोजिरहनेछ। किनभने साहित्य अकादमीको नेपाली भाषा परामर्श समितिको जग नै लबी र चाप्लुसीमा ठड़िएको छ। यो जग नभत्केसम्म राम्रो कुराको आशा गर्नु एक प्रकारले मूर्खताजस्तै हो। तर गहिरो जरा हालेर बसेको त्यो अड़्भङ्गे व्यवस्था कहिले भत्किने? यसको विरोध गरिरहेकाहरूले कहिलेसम्म गनगन मात्रै गरिरहने?

साहित्य अकादमी पुरस्कार केवल नेपाली भाषामा मात्र दिइने पुरस्कार हुँदै होइन। यो पुरस्कार साहित्य अकादमीद्वारा मान्यताप्राप्त  24 वटा भाषाका कृतिलाई दिइने गरिन्छ। तर अन्य भाषाका कृति छनौटमा उस्तो विवाद देखिँदैन/सुनिँदैन। प्रायःजसो विवाद र विरोध उठ्ने भनेकै नेपाली कृतिमा हो। करिब करिब प्रतिवर्ष नै यो विवाद र विरोध उठ्ने गरेको छ (केही अपवादलाई छोड़ेर।) 2002 मा प्रेम प्रधानकृत उदासीन रूखहरू (उपन्यास)-ले साहित्य अकादमी पुरस्कार पाउँदा पनि विरोध चुलिएको थियो। त्यसबेला सोशल मिडिया  नभएको कारण यो विरोध उस्तै विस्तार हुने मौका पाएन। तर त्यसबेला प्रकाशित दैनिक पत्रहरूमा उदासीन रूखहरूलाई साहित्य अकादमी पुरस्कार दिइने निर्णयमा धेरैले असन्तुष्टि व्यक्त गर्दै लेख लेखे। त्यसपछि 2011 मा डा. राजेन्द्र भण्डारी, डा. महेन्द्र पी. लामा र डा. घनश्याम नेपाल रहेको जुरीले त्यसवर्षको साहित्य अकादमी पुरस्कार नदिँदा विवाद र विरोध थप चर्कियो।

डा. भण्डारी र नेपाल बहुमतमा (वास्तवमा  तीन जुरी सदस्य एकमत नभएको खण्डमा दुई जुरी सदस्यको मतलाई मान्य मानिन्छ) भएपछि कुनै कृति योग्य नरहेको ठहर गरी त्यसवर्ष साहित्य अकादमी नदिने निर्णय गरेपछि विरोध र विवाद थप चुलिएको थियो। यस्तो निर्णयको विरोधमा ठाउँ ठाउँमा सभा आदि गरिएको थियो। समर्थन र विरोधमा त्यसबेला भारतीय नेपाली साहित्य दुई भागमा विभाजित भएको थियो।

यस्तै कतिवटा कारणले गर्दा पनि सोशल मिडियाहरूमा राजनीतिभन्दा साहित्य खतरनाक भइरहेको पोस्टहरू देख्न पढ्न पाइन्छन्। त्यस्ता पोस्ट लेख्नेहरू भनाइ साहित्यमा हुने राजनीति, लबी, गुटबाजीकेन्द्रित नै हो, किनभने यस्तै कुराहरूले आजभोलि भारतीय नेपाली साहित्यको स्तरलाई कठालोमा पक्रेर आरालोतिर लगिरहेछ, जुन कदापि राम्रो कुरा हुँदै होइन।

वास्तवमा पुरस्कारका लागि छनौट गरिने कृति गुणवत्ताको दृष्टिले अन्य कृतिहरूभन्दा अत्यधिक राम्रो हुनपर्नेछ। किनभने पुरस्कृत कृतिलाई अनुवाद गरी हाम्रो साहित्यको उपस्थिति र स्तर देखाउने एउटा माध्यम पनि बन्नुपर्छ, तर अहिलेसम्म यस्तो कार्य कतिसम्म हुनसक्यो?

अहिलेसम्म जुरीले पुस्तक छनौट  गर्दा कतिपटक भारतीय नेपाली साहित्यको सिङ्गो हित हेऱ्यो? परामर्श समितिले आफूलाई जुरीको निर्णयबाट कतिसम्म अलग राखेर निष्पक्षता प्रदान गऱ्यो? यी प्रश्नहरू गम्भीर छन् तर सधैं आखीओझेल पनि हुँदै आएको छ। साहित्य अकादमीलाई आफ्नो पेवा ठान्ने र मनमानी गर्ने एकाध मानिसहरूद्वारा स्थापित कोल्टे व्यवस्थाले यी प्रश्नहरूलाई जहिल्यै कुल्चेर राख्दै आइरहेको छ भन्दा अतिशयोक्ति नहोला।

नत्र राजनारायण प्रधान, कुमार प्रधान र कुमार घिसिङले आफ्नो जीवनकालमा साहित्य अकादमी पुरस्कार पाउनेथिए। उनीहरूलाई पुरस्कारबाट वञ्चित राखिने थिएन। त्यस्तै राजेन्द्र भण्डारी, केवलचन्द्र लामा, सञ्जय विष्ट, सञ्जय बान्तवा, नोर्जाङ स्याङदेन, प्रवीण राई जुमेली’, विचन्द्र प्रधान, रेमिका थापाहरूले पनि आजसम्म पाइसक्ने थिए।

नपाइनुका कारणहरू यी यी हुन्। छोड़िनेहरू  उनीहरू मात्र छैनन्, नरबहादुर दाहाल, कालुसिंह रणपहेंली र प्रदीप गुरुङ, कविता लामा र सुधा एम राईहरू पनि छन्। तर किन यसरी छोड़िँदैछन्, कसैले हेक्का राख्दैनन्। सबैभन्दा ठूलो आश्चर्यको कुरा उल्टै गल्ती दोहोरिँदै आइरहेका छन्। सच्याउनतर्फ कमैले ध्यान दिएका छन्। भनौं ध्यान दिएकै छैनन्।   यसको विपरीत विरोध र विवादको गला निमोठेर  आफूखुशी गर्नुलाई नै सम्बन्धितहरूले आफ्नो जीत मानिरहेका छन्। नभए ता आजसम्म गल्ती सच्चिसकेको हुनेथियो। यसो गरिएको खण्डमा पुरस्कारको गरिमा पनि बढ़्नेथियो। र पाउनेहरूको पनि मान बढ़्नेथियो यसमा दुईमतै छैन।

यहाँनेर के कुरा उल्लेख गरिहाल्न अत्यावश्यक ठान्दछु भने अन्य भाषाहरूसँगै नेपाली भाषाका कृतिका लागि एकैसाथ घोषणा गर्नसक्नुको कारण साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक डा. जीवन नाम्दुङले तक्निकी कारणबताएका छन्।

यद्यपि उनले कुन र के कस्ता तक्निकी कारण, त्यो भने खुलाएका छैनन्। डा. नाम्दुङले भनेका तक्निकी कारण जे पनि हुनसक्छ, शङ्का बाक्लो छ। ती तक्निकी कारण, जुरी सदस्यहरू कृति छनौटलाई मतैक्यता पनि हुनसक्छ। लबी र गुटबाजी हाबी भएको पनि हुनसक्छ।

या थोप्लो (ड/ड़ढ/ढ़) को विवाद पनि हुनसक्छ। शङ्कै गर्नालाई पर्याप्त ठाउँ खाली भएको छ। किनभने शङ्का गरिहाल्नु नराम्रो कुरा पनि होइन। आखिर यी शङ्का र विवादहरू भारतेली नेपाली साहित्यको राम्रैका लागि गरिएका हुन् भन्दा फरक नपर्ला। के शङ्का गर्न वर्जित छ तओ! साहित्य अकादमी, अ! साहित्य अकादमी।


लेखक जनसंवाद न्यूज पोर्टलका सम्पादक हुन्

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया