विषयवस्तुसित लेखक जति नजिक, कृति उति उत्कृष्ट : प्रयास दुमी राई

 संवाद

प्रयास दुमी राई नेपालका युवा आख्यानकार हुन्। प्राञ्जल नामक उपन्यास बजारमा ल्याइसकेका छन्। कविता पनि लेख्छन्। उनको उपन्यास, साहित्य र कविताको सेरोफेरो रहेर उनीसित गरिएको कुराकानी यहाँ राखेका छौं।


विशाल नाल्बो


तपाईं त कविता पनि लेख्नु हुन्छ। भर्खरै प्राञ्जल नामक उपन्यास सार्वजनिक गर्नुभो। तपाईँ कवि बढी कि उपन्यासकार?

– कविता लेख्छु तर अरुले कवि भनिदिँदा लाज लाग्छ। लाजको कारण एउटै हुन सक्छ, कि  म कविता उत्ति धेरै लेख्दिनँ। फेरि मेरो पहिलो प्रकाशित कृति नै उपन्यास  हो।  पाठकमाझ चिनिएको पनि यसैबाट नै हो। तसर्थ म उपन्यासकार नै बढी लाग्छु। 

प्राञ्जल, प्रेमको उपन्यास हो?

– मुख्य कथाको धार त प्रेम नै हो।

उपन्यास लेख्दाका अनुभव कस्तो रह्यो?

-यो उपन्यास सिर्जना गर्दै गर्दाका भव्य किस्साहरु छन् । कति रमाईला, नमिठा। तर जे छन् यादगार छन् ।

मिठा त के छ भने, कथावस्तु नै युवाप्रेममा केन्द्रित छ । त्यसैले युवामनोविज्ञानसँग नै बढी नजिक भएको हुनाले धेरै भन्दा धेरै यही उमेरका साथीहरुसँग विभिन्न शीर्षकमा म अध्ययन गर्थें। उनीहरुको प्रेम, बिछोड र यौन जिज्ञासा सम्बन्धि थुप्रै कुराहरुमा सोधपुछ गर्थें।

तर यसो गर्ने क्रममा कत्तिजना साथिहरुसँग नजिकको सम्बन्ध स्थापित भयो कतिसँग सम्बन्ध नै टुट्यो । तर मैले अध्ययन र खोज गर्न छोडिनँ । म उनीहरुको विभिन्न मनोभावहरुको बारेमा ध्यान राख्दथें ।

बजारमा कविता भन्दा बढी आख्यान कै माग छ है?

कविता भन्दा आख्यान नै बढी माग हुन्छ कि ? भन्ने कुरामा थोर बहुत विश्वास राख्दछु । तर कविता एकदमै लोकप्रिय विधा हो । कविताको बजार र यसको महत्त्व आख्यान बिक्नुले कमजोर हुन्छ जस्तो मलाई लाग्दैन ।

बजारको डिमाण्डसँग मेरो कुनै स्वार्थ छैन । मलाई कविता भन्दा आख्यान सिर्जना गर्नमा बढी रुचि जाग्यो र आख्यान नै रोजेँ । आफुलाई जे कुरामा इच्छा जाग्छ त्यही काम गर्दानै बढी अर्थपूर्ण हुन्छ । कविता म कम मात्रामा नै लेख्छु, लेख्दै लेख्दिन भन्दा पनि हुन्छ । तर म कवितालाई सम्मान गर्छु । म कविताको असल पाठक हुँ ।

 तपाईंलाई के लाग्छ साहित्य बजारको निम्ति लेखिनु पर्छ कि वा पाठकको निम्ति?

बजार र पाठकमा मात्र केन्द्रित रहेर साहित्य लेखिनु हुँदैन । एउटा सच्चा साहित्यकारले कमर्सियल र पाठको स्वादकोलागि मात्रै साहित्य लेख्छ भने त्यो नितान्त खोक्रो साहित्य हुनेछ । त्यस्ता साहित्यको न कुनै अस्तित्व हुन्छ, न  त्यस किसिमको साहित्यले समाजमा अर्थ नै राख्छ ।

यसरी लेखिने साहित्यले हाम्रो समाजलाई विकासतर्फ नभएर विकृतीतिर धकेलिरहेको हुन्छ ।

साहित्यले भाषा,धर्म,संस्कृति, वर्ग,समाज,समुदाय राजनीति र देशमा रहेका विसङ्गति र विकृतीहरुलाई रुपान्तरण गर्न सक्दैन भने त्यो साहित्य सास र मुटु बिनाको मानव जस्तै हुनेछ ।

सास र मुटु बिनाको मानव त केवल मानव आकृतिको डमी मात्र हो ।

नेपालका स्थापित युवा सर्जकहरू मध्ये तपाईं पनि एकजना हुनुहुन्छ। नेपालबाट सर्जकीय दृष्टिले हेर्दा भारतीय नेपाली साहित्यलाई अथवा नेपाली सर्जकहरूलाई कस्तो देख्नु हुन्छ?

भारतमा रहेर पनि त्यहाँका नेपाली स्रष्टाहरूमा नेपाली साहित्यमा परिवर्तन ल्याउने जोश, जाँगर र ऊर्जा कत्तिपनि कम छैन ।

सिर्जनशील साहित्यको निमित्त भारतीय नेपाली स्रष्टाहरुको मनमा इच्छा र सपनाहरु मारिएका छैनन् । भारतीय नेपाली साहित्यकारहरुको कृतिहरु नेपालमा लोकप्रिय भएको हामीलाई अवगत पनि छ ।

साप्ताहिक तथा मासिक रुपमा त्यहाँका विभिन्न  संस्था र युवाहरुले आयोजना गर्ने साहित्यसम्बन्धी विविध कार्यक्रम, वार्ता, सम्मेलनहरूमा उत्साहजनक सहभागिता र उपस्थिति हेर्दा/बुझ्दा नेपाली साहित्यको निम्ति एक उर्वर भुमी ठानेकोछु ।

नेपालमा भएको जनआन्दोलन पछि आन्दोलन केन्द्रित आख्यान बढी लेखिए। लेखिने क्रम पनि जारी छ। साहित्यमा आन्दोलन लेख्ने ट्रेण्ड जस्तै चलिरहेको बेला (यता भारतको नेपाली साहित्य पनि त्यो प्रभाव देखिन थालेको छ)तपाईंले चाहिँ फरक धारको उपन्यास निकाल्नु भयो। तपाईलाई चाहिँ किन आन्दोलन नैं लेखौं लागेन?

– आन्दोलन लेख्न त्यति सहज पक्कै छैन । हरेक लेखक लेख्दै गरेको बिषयसँग जति नजिक हुन्छ उति उत्कृष्ट लेख्न सख्छ । लेख्ने बिषय र घटनासँग लेखक राम्रोसँग जानकार छैन भने त्यो साहित्य पक्कै फितलो भएर आउँछ । र पाठक अन्यायमा पर्न सक्छन् ।

मैले नढाटी भन्नुपर्दा मलाई जनआन्दोलन  राम्रोसँग ख्याल छैन । र यो बिषयमा मेरो ध्यान नै गएन । 

तपाईंको नजरमा विश्व मञ्चमा नेपाली साहित्यको उचाइँ कति छ? 

– विश्व मञ्चमा नेपाली साहित्यको उचाइँ नाजुक नै छ । तर नेपाली साहित्य पनि विश्व सामु विस्तारै लम्किँदैछ । राम्रा र सशक्त नेपाली साहित्यकारहरुका  कृतिहरु विभिन्न भाषामा अनुवाद हुने क्रम दिनानुदिन बढिरहेको छ ।

यसरी नेपाली साहित्य अनुवाद हुनु विश्वसामु फैलिनु हो । यसमा हामीले गर्व मान्नु पर्दछ । यसरी नै  नेपाली साहित्यलाई  विश्वभर बिस्तारै फैलाउदै लान सकिन्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया