गान्तोकमा ग्लोबल फिल्म फेस्टिबल : सुबास घइद्वारा स्क्रिप्ट लेखनमाथि कार्याशाला

सिक्किम, 20 जनवरी


सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिवसीय सार्वभौम चलचित्र महोत्सव (ग्लोबल फिल्म फेस्टिबल) हुने भएको छ। सिक्किम चलचित्र कोअपरेटिभ सोसाइटीले चलचित्र फेडरेसन अफ् इण्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो।

मनन केन्द्रमा 28 फरवरीदेखि 1 मार्चसम्म हुने महोत्सवमा राष्ट्रीय, अन्तराष्ट्रीय गरी 40 वटा चलचित्र प्रदर्शन हुनेछ। जसमा नेपाललगायत भारतको निकटवर्ती राष्ट्रका चलचित्रहरू संलग्न हुनेछ। महोत्सवमा आफ्ना चलचित्र प्रदर्शनी गर्न चाहनेहरूले फेडरेसनको वेबसाइटमार्फत 25 जनवरीसम्ममा चलचित्र पठाउन सक्नेछन्।

‘महोत्सवमा बलिवुडका चर्चित कलाकार र चलचित्र निर्माताहरूहरूको विशेष सहभागिता हुनेछ,’ महोत्सवका संयोजक चुनिलाल घिमिरेले कान्तिपुरसित भने, ‘अहिलेसम्म सुवास घई, आशा पारेख, रनबीर कपुर, राहुल रावेललगायतका  कलाकार, निर्देशकहरू आउने कुरा चुडान्त भइसक्यो।’

सिक्किममा धेरै कलाकार, चलचित्र निर्माता, निर्देशक रहेपनि यहाँका चलचित्रहरूले भनेजस्तो व्यवस्थापन प्राप्त गर्न सकिरहेको छैन। अन्तराष्ट्रीयस्तरमा नै सिक्किम चलचित्र बनाउनेहरूको निम्ति उत्तम ‘लोकेसन’ बन्न सक्छ। यसैले सिक्किम सरकारको प्रायोजनामा सिक्किमलाई अन्तराष्ट्रीयस्तरमा चलचित्रसित जोड्न र यहाँका कलाकार र चलचित्रको प्रवर्धन गर्न महोत्सव गरिएको घिमिरेले जनाएका छन्।

‘प्रख्यात निर्देशक सुवास घइले स्थानीय चलचित्र निर्माताहरूको निम्ति स्क्रिप्ट लेखन-माथि कार्यशाला चलाउनेछन्। रुची भएकाले यसमा सहभागिता दिन सक्नेछन्,’ घिमिरेले भने, ‘यसैबीच प्रशिद्ध कलाकार आशा पारेखलाई आयोजकको पक्षबाट लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।’

महोत्सवमा निम्त्याइने चलचित्र, अतिथि, कलाकारबारे चलचित्र फेडरेसन अफ् इण्डियाले जिम्मेवारी लिएको छ। फेडरेसनका अध्यक्ष एफ हसन अनि सचिव सप्रेन सेनसित सोसाइटीका प्रतिनिधिहरूले कोलकतामा बैठक गरेर कार्यक्रममा अन्तराष्ट्रीयस्तरका मोडल, फेसन डिजाइनरसमेत झिकाउने अनि सकेजति बलिवुड र अन्य क्षेत्रका सेलिब्रिटीहरूलाई निम्त्याउने मतो भएको घिमिरेले जनाएका छन्। महोत्सवमा स्थानीय चलचित्र, वित्तचित्र प्रदर्शनीको पनि व्यवस्था गरिएको छ।

‘सिक्किम र वरिपरिका कलाकार र चलचित्र निर्माताहरूको लागि यो महोत्सव ठूलो अवसर बनोस् भन्ने हाम्रो चाहना हो,’ घिमिरेले भने, ‘सिक्किमका चलचित्रहरूको बजार व्यवस्थापन र ठूला चलचित्रहरूमा स्थानीय कलाकारहरूको लागि अवसर निर्माण हुनेछ भन्ने विश्वास पनि छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया