बोसको नारा पछ्याउँदै रक्तदान

विज्ञापन

कालिझोडा, 24 जनवरी


‘मलाई खुन देउ म तिमीलाई आजादी दिन्छु,’ नेताजी सुबास चन्द्र बोसको यही कुरालाई आत्मासाथ गर्दै उनको 123 औं जन्म जयन्तीको अवसरमा सामाजिक संस्था मणि ट्रस्टले कालेबुङ जिल्ला अस्पतालका ब्लड व्याङ्क, टिस्टा खेलकुद समिति अनि मित्र समुह टिस्टाको सहयोगमा एक दिवसीय रक्तदान  एवं स्वस्थ्य सचेतना शिविर  सम्पन्न गरेको छ।

टिस्टा हाटबजारस्थित सार्वजनिक भवनमा सम्पन्न रक्तदान शिविर ट्रस्टको हेल्थ एण्ड मेडिकल अवरनेस कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो। शिविरमा रम्बी स्वस्थ्य केन्द्रका बिएमओएच डा. सिके छेत्री मुख्य अतिथि थिए। जिल्ला अस्पतालका सुपरिन्टेन्डेन्ट अन्कन सिमलान्दी,टिस्टा स्वस्थ्य केन्द्रका डा. पलास सिकदर, टिस्टा ओसी लाक्पा भोटिया, मणि ट्रस्ट चियरमेन सुबास मणि सिंह मुख्र्यरुपले उपस्थित थिए।

जिल्ला अस्पतालका मेडिकल अफिसर डा चन्द्रीमा रोय,सिस्टर निलम छेत्री, टिस्टा खेलकुद समिति सभापति ललित छेत्री, सचिव सन्तोष प्रधान ,  सल्लाहकार किशोर छेत्री, शरण छेत्री, मित्र समूह सचिव नन्द कुमार छेत्री , मणि ट्रस्ट सचिव उत्पल कुमार रोय , दिल्लीका समाजसेवी रेविका राईलगायत अन्यकोसमेत उपस्थिति थियो।

कार्यक्रममा ट्र्स्टका चियरमेन सुबास मणि सिंहले आफ्नो सम्बोधनमा गोर्खाहरूले विश्वको निम्ति दिएको योगदान उजागर गर्दै रक्तदानको महत्वबारे बुझाए। ‘गोर्खाजातिले विश्व निर्माणमा आफ्नो ज्यानको बलिदान दिएको इतिहास हामीमा छ,’ उनले भने, ‘तर अहिले हाम्रै समाजमा हेर्‍यौ भने कालेबुङ अनि दार्जिलिङका अस्पतालहरूमा रगतको कमिले गर्दा ससाना नानीहरूदेखि धेरै मानिसहरूले ज्यान गुमाउँनु परिरहेको छ।’

अस्पतालहरूमा रगतको कमि देखिएकैले  ट्रस्टले मानिसहरूलाई रक्तदानबारे जागरूक्ता गराउन र कुनै पनि मानिस खुनको अभावले आफ्नो ज्यान नगुमाउन् भन्ने सोचेर अघि आएको सिंहले बताए। एक जना मानिसले दान गरेको रगतबाट तीनजना बिरामीलाई ज्यान प्रदान गर्न सकिने पनि उनले जनाए।

कार्यक्रममा नेताजीको जीवनीबारे शिक्षक विशाल राइले प्रकाश पारेका थिए। डा. सिके छेत्री, समिति सचिव सन्तोष प्रधानलगायतले रक्तदानको महत्त्वबारे बुझाए। शिविरमा क्षेत्रका  55 जना मानिसहरूले आफ्नो रगत दान गरे। जसमध्ये 13 जना महिलाहरू रहेका छन् । दाताहरूलाई ट्रस्टको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको छ। साथै खेलकुद समिति ,मित्र समूह अनि अन्य अतिथिहरूलाई ट्रस्टले स्मृति चिन्ह पनि प्रदान गरेको छ।

प्रणिता सुब्बाद्वारा सञ्चालित कार्यक्रममा दीपशिखा गुरूङले स्वागत सम्बोधन राखेका थिए भने महेश्वरी छेत्रीले धन्यवाद ज्ञापन चढाएकी थिइन् ।शिविरमा मानिसहरूको रक्त चाप, सुगर आदि बिमारीहरू पनि जाँच गरिएको थियो। कार्यक्रममा ट्रस्टी बिना लोहागुण, ब्लड व्याङ्कका कर्मचारीवर्ग, समाजका सदस्यलगायत ट्रस्ट्का हेल्थ विभागका सदस्य उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया