पाठकको माया त पाएकै थिएँ, सरकारको माया पनि पाएँ-लीलबहादुर छेत्री

कालेबुङ, 26 जनवरी


नयाँवर्ष 2020 लागेदेखि नै भारतीय जनता पार्टीले ‘विदेशी’-को लाञ्चना लगाउन शुरु गरेर गोर्खालाई दुःख दिइरहे पनि यही नयाँ वर्षले गोर्खाका लागि सुखको खबर पनि ल्याएको छ।

हिजोमात्र भारत सरकारले यसवर्षका लागि तीनवटा महत्वपूर्ण पुरस्कारहरूको घोषणा गरेको छ। पद्मविभूषण, पद्मभूषम र पद्मश्री पुरस्कार। खुसीको कुरा के हो भने यसपल्ट तीनजना गोर्खाले पद्मश्री पुरस्कार पाएका छन्।

उनीहरू हुन्, असमका साहित्यकार लीलबहादुर छेत्री, सिक्किमका खेलाडी तरुणदीप राई अनि उत्तरप्रदेशका खेलाडी जितु छेत्री।

भारत सरकारले यसवर्ष 7 जनालाई पद्मविभूषण,16 जनालाई पद्मभूषण अनि 118 जनालाई पद्मश्री पुरस्कार दिने भएको छ, जसमध्ये तीनजना गोर्खाले पद्मश्री पाएका हुन्।

प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यी प्रतिष्ठित नागरिक पुरस्कार उनीहरूलाई राष्ट्रपतिको बाहुलीबाट एक समारोहबीच प्रदान गरिनेछ।

लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हुन्। उनलाई शिक्षा र साहित्यको निम्ति पद्मश्री पुरस्कार प्रदान गरिएको हो। उनका बसाइँ र ब्रह्मापुत्रका छेउछाउजस्ता  उपन्यास चर्चित छन्। उनले १९८७ मा ब्रह्मापुत्रको छेउछाउ कृतिका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका हुन्।

दार्जिलिङका सांसद राजु विष्टमार्फत आफूले पुरस्कार पाएको थाहा पाएको छेत्रीले जनाएका छन्। पुरस्कार पाएको कुरा सुनेर खुशी लागेको पनि बताएका छन्।

‘म त निरन्तर काम गर्ने मान्छे हुँ, पुरस्कारको लागि भनेर साहित्य लेख्दिन। म त आफ्नै खुशीको लागि लेख्ने हुँ,’ छेत्रीले पुरस्कार पाएको कुरा सुनेपछि भने, ‘यो पुरस्कार मेरा शुभेच्छुकहरूको सफलता हो। मैले जनता-(पाठक)को माया त पाएकै थिएँ, सरकारको माया पनि पाएँ।’

जितु राई उत्तरप्रदेश निवासी सुटर खेलाड़ी हुन्। यद्यपि उनको जन्म नेपालको संखुवासभामा भएको हो। 2006 मा नेपालबाट भारतीय सेनामा भर्ती भएर आएपछि उनी भारतीय नागरिक बनेका हुन्। उनी 11 गोर्खा राइफल्समा नायव सुवेदार छन्।

सेनाबाट नै उनले एसियाई खेल, म्युनिक वर्ल्डकप, रियो ओलम्पिकमा भारतलाई स्वर्ण पदक दिलाएका हुन्।

सिक्किम निवासी तरिणदीप राई भने भारतका प्रशिद्ध तिरन्दाज खेलाड़ी हुन्।
तरुणदीपले १९ वर्षको उमेरमा म्यानमारको याङ्गोनमा आयोजना भएको एसियाली तिरन्दाजी च्याम्पियनशिप (२००३) बाट तिरन्दाजी शुरु गरेका हुन्।

चीनको गुआजाउमा भएको १६ औं एशियाली खेलमा एकल पुरुष तिरन्दाजीमा रजत पदक जित्ने पहिलो भारतीय पनि हुन्। यसबाहेक उनी २००५-मा विश्व तिरन्दाजी च्याम्पियनशिपको सेमीफाइनल चरणमा प्रवेश गर्ने पहिलो भारतीयसमेत हुन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया