कवितामा आधा आकास

गान्तोक, 26 जनवरी


चिया कविताले सिक्किम-दार्जीलिङका 18 जना नारी कविहरूलाई एउटै मञ्चमा भेला गरेको थियो। सिक्किमकी कवि कल्पना प्रधान प्रियदर्शीकाको कृति भविष्यको प्रतिबिम्ब –को लोकार्पणको छेक पारेर ‘कवितामा आधी आकाश 2020’ कार्यक्रम भएको थियो, जहाँ सहभागी कविहरूले लगभग दुईघण्टा दर्शकहरूलाई बाधेर राखे।

गान्तोकमा आठ वर्षदेखि सञ्चालित चिया कविताले आयोजन गरेको यस कवि सम्मेलन माटो कवि जीवन थिङ मार्गस्थित रचना बुक्समा भएको हो।

भारतीय नेपाली साहित्यको कथा, कविता र अनुवादमा सशक्तरूपमा कलम चलाउँदै आएकी साहित्यकार सुधा एम राई पर्यवेक्षककारुपमा उपस्थित थिइन्।

आफ्नो पर्यवेक्षकीय सम्बोधनमा राईले 1950 भन्दा पछाड़ि शुरू भएको अफ्रिकन साहित्यले कसरी विश्व साहित्यमा आफ्नो पहिचान बनायो अनि नोवल पुरस्कारको स्थानसम्म पुऱ्यायो त्यसबाट शिक्षा लिनुपर्ने बताइन्।

उनले अफ्रिकाली साहित्यमा भेगिएका नारीहरूको पीडा र नेपाली भाषी नारीहरूको पीडा फरक नरहेको अनि त्यसलाई नेपाली भाषी महिलाहरूको संघर्षसित दाजेर हेर्न सकिने विचार राखिन्।

नेपाली साहित्यमा नारी लेखकहरू गुणवत्तामा नभएर संख्यामा बड़िरहेको उल्लेख गर्दै उनले लेखनमा अग्रतासितै गुणवत्ता ल्याउन अन्य विकसित भाषाका साहित्यबाट पनि ज्ञान आर्जन गर्नु आवश्यक हुने जनाइन्।

यस क्रममा उनले धेरै भारतीय लेखकहरूसंगै पश्चिमी लेखकहरूका नाम पनि उल्लेख गरिन्। पर्यवेक्षक राईले साहित्यमा  नारीवादको प्रसंगलाई उठाउँदै यस विषयमाथि पनि नारी लेखकहरूले गम्भीरतासित काम गर्नुपर्ने कुरामा जोर दिइन्।

कार्यक्रममा दार्जीलिङबाट आरती ठकुरी, सरस्वती शर्मा, कालेबुङबाट निर्दोषिका तामाङ, स्मीता सोताङ राई, पश्चिम सिक्किमबाट फुर्बा खाण्डु शेर्पा, तारमित लेप्चा, दक्षिण सिक्किमबाट कविता सुब्बा, अनि पूर्व सिक्किमबाट दीपा राई, मणिका शर्मा, राधा पाण्डे, उषा शर्मा, सुमती छेत्री, रेनुका बस्नेत, कल्पना प्रधान प्रियदर्शीका, मिना सुब्बा अनि भक्ति बस्नेतले कविता वाचन गरिन्।

कवि रूपा तामाङले सञ्चालन गरेको कार्यक्रममा सहभागी कविहरूलाई प्रशस्ति पत्रद्वारा सम्मानित गरियो। अर्कोतिर कार्यक्रममा कवि कल्पना प्रधान प्रियदर्शीकाको कविताकृति भविष्यको प्रतिविम्ब लोकार्पण गरियो।

कार्यक्रमकी पर्यवेक्षक, सुधा एम राई, पत्रकार अनिता निरौला, वास्तुकार तथा कलाकार किरण रसाइली, साहित्यकार प्रवीण राई जुमेली अनि साहित्यकार प्रद्युम्न श्रेष्ठको बाहुलीबाट लोकार्पण गरिएको थियो।

विमोचित कविताकृतिमाथि प्रकाश पार्दै कविता सुब्बाले पहिलो कथाकृति प्रकाशित गरेर 17 वर्ष मौन बस्ने कवि प्रियदर्शीकाले यो दोस्रो कविताकृतिमाथि निकै मिहेनत गरेकी बताइन्।

उनले जीवनको धेरै भोगाइलाई कवितामा उतारेकी उल्लेख गरिन्।     कार्यक्रममा सहभागी कविहरूलाई चिया कविताको तर्फबाट कवितामा आधी आकाश 2020 को स्मृतिस्वरुप सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा कालेबुङका कवि मनोज बोगटीलगायत सिक्किमका वरिष्ठ अनि युवा साहित्यकारहरूको पनि विशेष उपस्थिति रहेको थियो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन