‘विष्टले गोर्खा सुरक्षाको लागि गृहमन्त्रलयबाट अधिसूचना जारी गराउन्’

विज्ञापन

कालेबुङ, 28 जनवरी


जन आन्दोलन पार्टीले एनआरसी, एनपिआर र सीएएको विरोध जनाएको छ। हिजो दार्जिलिङमा सामान्यरुपले पार्टीको स्थापना दिवस मनाउँदै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले विरोध जनाएका हुन्।

डा. छेत्रीले गोर्खाहरूको सुरक्षाको लागि दार्जीलिङका सांसद राजु विष्टले गृहमन्त्रालयबाट अधिसूचना जारी गराउनुपर्ने मागसमेत गरेका छन्। अर्कोतिर गाजमुमो विनय समूहले शिविर आयोजना गरेर पर्जापट्टा र प्रमाणपत्र दिलाउनुपर्ने पनि जनाएका छन्।

आफूहरूले पनि एनआरसी, सिएए र एनपीआरबारे कालेबुङमा अधिवेशन गराउने जनाएका छन्। उनले वर्तमान भाजपा नेतृत्वावधीन केन्द्र सरकारले आफ्नो विफलतालाई ढाक्नका लागि मात्रै नागरिकता संशोधन कानून (सीएए) ल्याएको बताएका छन्।

“असममा बिनाकुनै नीति र सिद्धान्त अचानक एनआरसी लागू गर्‍यो, जहाँ वर्तमान सरकारले एक करोड़भन्दा अधिक मुसलमान समुदायलाई लक्ष्य गरेको थियो। तर १९ लाख जनता मात्रै एनआरसीबाट अलग भए, जसमा पनि धेरैजसो हिन्दू धर्मावलम्बीहरू नै छन्’’, छेत्रीले भनेका छन्, “यसैले यी हिन्दूहरूलाई देशको नागरिकता दिनका लागि नै वर्तमान केन्द्र सरकारले हतार-हतार सीएए ल्याएको हो। यदि यो सरकारले साँचो मनले देशमा यो कानून संशोधन गरेको भए जनआन्दोलनले समर्थन गर्नेथियो। तर भाजपा सरकारले आफ्नो विफलता छोप्नका लागि मात्रै यसो गरेको कारण नै देशभरि यसको विरोध भएको हो।’’

भाजपा सरकारले फासीवादी नीति अपनाइरहेको आरोप लगाउँदै उनले जनताले सरकारको नीतिको विरोधमा आवाज उठाए उनीहरूलाई राष्ट्रविरोधी र विदेशीको लाञ्छना लगाउने गरिएको जनाए। ‘यसैले सरकारले गरेका प्रत्येक कामलाई नै सराहना गर्नेहरू मात्रै देशभक्त, राष्ट्रप्रेमी हुन् भन्ने सरकारको नीति छ,’ उनले भने।

भाजपाले वर्ष २०२१-को पश्चिम बङ्गालमा हुने विधानसभा चुनाउ र २०२४-को लोकसभा चुनाउलाई केन्द्र गरेर मात्रै कट्टर हिन्दूवादी देखिने षड़यन्त्र गरिरहेको पनि आरोप लगाए।

“देशका नागरिकहरूको नागरिकताको प्रमाण सरकारद्वारा नै जारी गरिएको मतदाता परिचय पत्र, आधार कार्ड, राशिन कार्ड, प्यान कार्डहरू होइनन्? यी प्रमाण-पत्रहरू हुनेहरू स्वतः भारतका नागरिक होइनन्?’’, जाप प्रमुखले थपे, “यो अन्य केही होइन, वर्तमान भाजपा नेतृत्वावधीन केन्द्र सरकारले आफ्नो विफलता ढाक्नका लागि नै यसो गरिरहेको छ, ताकि जनताको मन-मस्तिष्क यसतिर जाओस्।’’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया