‘आप्पा’-को सपना म पूरा गर्नेछु- मन घिसिङ

कालेबुङ, 28 जनवरी


गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक सुबास घिसिङको पाँचौं पुण्यतिथीको अवसरमा उनको छोरो मन घिसिङले आप्पाको सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको जनाएका छन्। सुबास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गरेका थिए। घिसिङको हिंसात्मक आन्दोलनमा सरकारी रेकर्डमा मात्र 12 सय आन्दोलनकारीलाई केन्द्र र बंगालको पुलिसले गोली ठोकेको रेकर्ड छ।

गोर्खाल्याण्डको आन्दोलनलाई घिसिङले दार्जिलिङ गोर्खा पार्वत्य परिषदमा खुम्च्याएका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई सँधैको लागि ‘ड्रप’ गर्दै दागोपापमा ‘फुल एण्ड फाइनल सेटलमेन्ट’ गरेका घिसिङले दागोपापमार्फत दार्जिलिङमा 25 वर्ष शासन गरेका थिए।

सोझै छुट्टै राज्य नहुने भन्दै घिसिङले पछिल्लो समय छैटौं अनुसूचीको मुद्दामा दलीय प्रतिवद्धता जनाएका थिए। यही माग गर्दा गर्दै उनको मृत्यु 29 जनवरी 2015 मा भएको थियो। अहिले उनकै छोरा मन घिसिङ गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष छन्।

गोर्खाको दीर्घकालीन समस्याको स्थायी राजनैतिक सामाधानको लागि अघिल्लो लोकसभा र विधानसभा चुनाउमा भारतीय जनता पार्टीसित गठबन्धनमा रहेको गोरामुमोले अहिले फेरि छैटौं अनुसूचीकै माग व्युँताएको छ।

मन घिसिङले एउटा बैठक गरेर 21 जनवरीदेखि दार्जिलिङ पहाडमा छैटौं अनुसूचीको मागलाई तीब्रता दिएका छन्। आफ्नो आप्पाको पाँचौं पुन्यतिथीको अवसरमा उनले आप्पाको सपनालाई म पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्।

अहिले सुबास घिसिङको अनुपस्थिति खट्किएको भन्दै मन घिसिङले भनेका छन्, ‘म  आप्पाले देखाउनु भएको बाटोमा गोर्खा जातिको उन्मुक्तिको निम्ति निरन्तर अघि बढिरहेको छु।’

मन घिसिङलाई लाग्छ, सुबास घिसिङले गोर्खा जातिको उन्मुक्तिको निम्ति आफ्नो सम्पूर्ण जीवन दिएका हुन्।  ‘पार्टी उनैले देखाएको बाटोमा छ,’ घिसिङले भनेका छन्, ‘धेरै सङ्घर्षपछि गोर्खा स्वाभिमान, जातीय एकतालाई दरिलो बनाउन सफल भएका छौं।’

सुबास घिसिङको नारा थियो, ‘पार्टी भन्दा जाति ठूलो, जाति भन्दा माटो ठूलो’। छोरा मन घिसिङले त्यही नारालाई पार्टीले पछ्याउँदै आइरहेको जनाएका छन्। ‘उनीबाटै पाएका ज्ञानअनुसार  उनैको सिद्धान्तमा रहेर  पहाडका दीर्घकालीन मुद्दा अघि बढाइरहेको छु,’ उनले भनेका छन्।

आप्पाको सिद्धान्तअनुरुप काम गर्ने समय भइसकेको भन्दै मन घिसिङले आफ्ना कार्यकर्तामा आपसी भाईचारा र एकता कायम राख्ने आग्रह गरेका छन्।

‘जबसम्म तपाईं हामी एक भएर अघि बढ्दैनौं तबसम्म हामी लक्ष्यमा पुग्न सक्दैनौं’, उनले भनेका छन्,  ‘जबसम्म हामी लक्ष्यमा पुग्दैनौं तबसम्म म लागिपर्नेछु।  आप्पाको सपना साकार हुनु नै साँचो श्रद्धाञ्जली हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन